पन्ध्र दिनपछि विद्युत सेवा सुचारु

हिल्दुम विद्युत बितरण केन्द्रले अबरुद्ध भएको १५ दिनपछि विद्युत आपुर्ति सुचारु गरेको छ । केन्द्रको पावरहाउसको मुख्य क्यानल र नहरमा पेनस्टिक पाईप जडान कार्य सम्पन्न भएपछि केन्द्रले विद्युत आपुर्ति सुचारु गरेको हो ।
वितरण केन्द्रका प्रमुख नारायणप्रसाद कर्णले बिगत दुई हप्तादेखि अबरुद्ध हुँदैआएको विद्युत आपुर्ति सेवा सुचारु भएको बताए । उनले दुई हप्तासम्म पावरहाउसको मुख्य क्यानल मर्मत र नहरमा पेनस्टिक पाइप जडान गर्ने कार्य पूरा भएपछि विद्युत उत्पादन सुरु भएसँगै आपूर्ति पनि सुचारु गरिएको बताए ।
उनले त्रिसट्ठी मिटर नहरमा पेनस्टिक पाइप बिछ्याउने कार्य र नहरमा पहिरोको जोखिम भएको स्थानमा ग्याबिन लगाइने कार्य पूरा भएको बताए । उनले मर्मत कार्य पूरा भएकाले अब नियमित रुपमा विद्युत सुचारु हुने बताए ।
कात्तिक ९ गते बेलुकाबाट केन्द्रले मर्मत कार्य अघि बढाउन विद्युत आपूर्ति बन्द गरेको थियो । यसबीचमा सिमकोट र खार्पुनाथ गाउँपालिकाका स्थानीय, सदरमुकाम सिमकोटका कार्यालय र बजारवासी अन्धकारमा बस्न बाध्य भएका थिए । तिहार सुरु भएसंगै विद्युत आपूर्ति सुचारु हुँदा उपभोक्तालाई सहज भएको छ ।






