एक लाख राशिको वडा कपको उपाधि चन्दननाथ तीन(बि)ले जित्यो


जुम्लाको चन्दननाथ नगरपालिका–४ ले आयोजना गरेको एक लाख राशिको फुटबल प्रतियोगिताको उपाधि चन्दननाथ नगरपालिका–३ को (बि) टिमले जितेको छ ।
कार्तिक ११ गतेबाट सुरु भएको प्रतियोगिताको अन्तिम खेलमा आयोजक चन्दननाथ–४ बिलाई पराजित गर्दै चन्दननाथ –३ (बि) उपाधि जितेको हो ।
विजेता टिमले एक लाख एक हजार एक सय ११ रुपैयाँ नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक चन्दननाथ नगरपालिका–४ का वडा अध्यक्ष नवराज देवकोटाले बताए ।
चन्दननाथ –४ बिलाई ० का विरुद्ध २ गोलले पराजित गर्दै चन्दननाथ –३ (बि) विजेता बनेको थियोे।यस्तै उपविजेता भएको आयोजक चन्दननाथ– ४ (बि)ले ५१ हजार एक सय ११ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पाएको छ ।
जुम्लामा पहिलो पटक स्थानीय तहले आयोजना गरेको वडा कप प्रतियोगितामा ८ वटा स्थानीय तह र ६० वडा मध्ये ३० वटा टिम सहभागी भएका थिए।खेल नेपाली सेनाको खेलमैदान टुडिखेलेमा भएको थियो ।
पातारासी,गुठिचौर,चन्दननाथ नगरपालिका,तातोपानी,तिला र कनकासुन्दरी गाउँपालिका भित्रका वडाले भाग लिएका थिए ।
सिंजा र हिमा गाउँपालिकाबाट कुनै पनि वडाको टिमले प्रतियोगितामा सहभागी थिएनन् । प्रतियोगिताको समापनमा सम्बोध गर्दै जुम्लाका संघीय सांसद कान्तिका सेजुवालले चाडपर्वका अवसरमा संचालन भएका खेलले आत्मियता र सम्बन्ध बढाउने भएकाले यस्ता खेलको विषेश महत्व रहने बताइन् ।
एउटा वडाले जिल्लाकै सबैभन्दा ठुलो राशिको प्रतियोगिता संचालन गर्नु चानचुने बिषय नभएको उनको भनाइ छ ।
यता जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्याले खेल उत्साह र मनोरञ्जन पुर्ण रुपमा सम्पन्न भएको दाबी गरे । खेलप्रतिको चासोलाई मध्यनजर गर्दै जुम्लामा बन्दै गरेको रंगशाला निर्माणमा सबैले ध्यान दिनुपर्नेमा जोड गरे ।






