जन्मदिनमा पत्रकार कंडेलद्वारा अक्षयकोष स्थापना


सुर्खेत ।
पत्रकार चिन्तामणी कंडेलले आफ्नो जन्मदिनको अवसरमा अक्षयकोषको स्थापना गरेका छन् ।
नेपाल प्रेस युनियन, सुर्खेतबाट वितरण हुनेगरी क्रियाशिल पत्रकार पुरस्कार गर्ने उदेश्यले कंडेलले एक लाख ११ हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।
पत्रकार कंडेलले शनिवार नेपाल प्रेस युनियन, सुर्खेतले आयोजना गरेको तिज सद्भाव कार्यक्रममा अक्षयकोष वापत बैंकको चेक प्रेस युनियन, सुर्खेतका अध्यक्ष मधुवन विसीलाई हस्तान्तरण गरेका छन् ।
चेक हस्तान्तरणपछि बोल्दै उनले उक्त अक्षयकोषबाट प्रत्येक वर्ष एकजना क्रियाशिल पत्रकारलाई पुरस्कृत गर्ने समेत बताए । उनले भने, ‘पत्रकारिता क्षेत्रमा क्रियाशिल व्यक्तिहरुका पिडा र समस्या मलाई थाहा छ, अझै कर्णालीमा पत्रकारिता गर्न झनै समस्या छ, त्यसैले मैले यो अक्षय कोषबाट थोरै भएपनि क्रियाशिल पत्रकारलाई पुरस्कृत गर्न चाहान्छु, सम्मानित गर्न चाहान्छु ।’
यस्तै, नेपाल प्रेस युनियन सुर्खेतका अध्यक्ष विसीले पत्रकारिता क्षेत्रमा लागेका व्यक्तीहरुलाई यो अक्षय कोषबाट दिइने पुरस्कारले प्रोत्साहन मिल्ने भन्दै पत्रकार कंडेलको उच्च प्रशंसा गरे ।
सुर्खेतमा पत्रकारले नै पत्रकारका लागि स्थापना गरेको यो पहिलो ठुलो धनराशीको अक्षयकोष हो ।






