जुम्लाका स्याउ किसान स्याउ टिप्ने चटारोमा


जुम्ला ।
जुम्लाका स्याउ किसान स्याउ टिप्ने चटारोमा रहेका छन् ।
उनीहरुलार्ई स्याउ कसरी सुरक्षित टिप्ने भन्ने विषयमा चिन्ता बढिरहेको छ । जुम्लाका स्याउ किसान परिपक्व स्याउ बजारमा लैजानको लागि भदौ ११ गतेबाट स्याउ टिप्न लागेका हुन् । अहिले जुम्लाका बगैँचामा स्याउ लटरम्म फलेर राताम्मे भएको छ । जुम्लाको रैथाने बिरुवा रेड डेलिसियस, रोयल डेलिसियस, जोनाथन लगायतका अन्य जातका बिरुवामा यस पटक स्याउ फलेका छन् ।
तातोपानी गाउँपालिका–३ लिताकोट निवासी किसान तिलकवहादुर रावलको तीन सय बिरुवाको स्याउ बगैँचामो स्याउ टिप्ने तयारी भइरहेको छ । उनको बगैँचामा यस बर्ष केही कम स्याउ फले पनि गुणस्तरीय स्याउ फलेको उनले जानकारी दिए । उनले यस वर्ष तातोपानी गाउँपालिभरी नै आफ्नो स्याउ सबैभन्दा स्तरीय र राम्रो फलेको बताए ।
बगैँचाका आधा बोटमा मात्र स्याउ फले पनि ३० देखि ४० क्विन्टल स्याउ उत्पादन हुने उनले बताए । प्रतिकेजी ६० रुपैयाको दरले हिसाब गर्दा पनि यस वर्ष स्याउबाट उनकोे आम्दानी झण्डै दुई लाख ३० हजार रुपैयाँभन्दा बढी हुने अनुमान गरेका छन् ।
तोपानीको गल्डेङमा रहेको उनको बगैँचामा आठ वर्ष अगाडि स्याउ लगाए पनि असिनाले राम्रो भएकोले खुसी लागेको बताए । उनको आफ्नै बगैँचाको स्याउ टिप्ने तयारी भए पनि अहिले आठ वटा मालबाहक ट्रकमा अरु किसानको स्याउ नेपालगञ्ज, सुर्खेत लिएर व्यापार गरिरहेको बताएका छन् ।
यस्तै तातोपानी–२ डाँगीबाडाका किसान नरेन्द्र केसीको बगैँचामा डाँगीबाडामा एक सय र भुलीमा ५५ गरी एक सय ५५ स्याउका बिरुवा विरुवा रोपिएका थिए । डाँगीबाडामाको बगैँचामा १२ केजीको दरले तीन सय २५ कार्टुन स्याउ उत्पादन भएको किसान केसीले जानकारी दिए । अब बाँकी ५५ वटा बिरुवामा ५० देखि ५५ कार्टुन स्याउ उत्पादन हुने अनुमान गरिएको उनले बताए । प्रतिकेजी ६० रुपैयाँका दरले दुई लाख ५० हजार रुपैयाँभन्दा बढी स्याउ उत्पादन हुने गरेको किसानको भनाई छ ।
भदौको पहिलो सातादेखि रफ्तारमा स्याउ टिप्ने जुम्ली किसानको दैनिकी रहेको छ । जुम्लाका ६० देखि ६५ प्रतिशत बगैँचामा स्याउ टिपि सकिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी शेरबहादुर भण्डारीका अनुसार अहिलेसम्म ६० देखि ६५ प्रतिशत बगैँचाका स्याउ टिपिसकिएका छन् । यस वर्ष भने स्याउ उत्पादन घटेको छ । उनका अनुसार मौसमको उतारचढावले स्याउमा समेत प्रभाव पारेको छ । मौसमको गडबडीका कारण तुसारोले फूल खाइदिएको र कतै असिनाले स्याउ झारेकाले उत्पादन घटेको छ । सूचना अधिकारी भण्डारीले यस वर्ष १५ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान रहेको बताए । उनका अनुसार गएको आर्थिक वर्षमा १८ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार यस पटक किसानले गएको वर्षभन्दा राम्रो मूल्य पाएका छन् । सूचना अधिकारी भण्डारीले बगैँचामा ६० देखि ७० रुपैयाँमा बिक्री गरेको बताए । किसान रतनबहादुर भण्डारीले आफूले बगैँचामै ७० रुपैयाँमा स्याउ बिक्री गरेको बताएका छन् ।
यसैगरी स्याउ टिप्ने चटारो सहित व्यापारीहरुले जुम्लाबाट सुर्खेत नेपालगञ्ज, बुटवल, दाङ, धनगढीसहित मुख्य शहरमा यस पटक पनि जुम्लाको स्याउ पुगेको व्यापारी बताउँछन् ।






