कर्णालीमा कांग्रेसका जनप्रतिनिधिलाई प्रशिक्षण दिइने

सुर्खेत ।
नेपाली कांग्रेस कर्णाली प्रदेशले कांग्रेसबाट चुनाव जितेका जनप्रतिनिधिहरुलाई आइतबारबाट प्रशिक्षण दिन लागेको छ ।
शनिबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै प्रशिक्षणबारे जानकारी दिएको हो ।
बिहीबार बसेको प्रदेश समितिको बैठकले कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको थियो । सोहीअनुरूप गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखलाई प्रशिक्षण दिने कार्यक्रम रहेको नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले बताए ।
उनका अनुसार वीपी जयन्तीको अवसरमा भदौ २४ र २५ गते २ दिने प्रशिक्षण कार्यक्रम हुनेछ । कार्यक्रममा नेपाली कांग्रेसको इतिहास, चुनावताको समयमा गरिएका प्रतिवद्धता जनताका आशा, मुलुक संघीयतामा गइसकेपछि कानून सम्बद्ध काम गरे नगरेको विषयमा समेत अन्तरक्रिया गरिने बताएको छ ।
स्थानीय तहमा जितेका प्रतिनिधि पार्टीको घोषणापत्रअनुरुप जनपक्षीय काम गर्ने, कानुनी कुराको बारेमा प्रष्ट गर्न, आर्थिक सुशासन, पारदर्शितालगायत विषयमा समेत प्रशिक्षण दिइनेछ ।
साथै विकास निर्माण कार्यलाई जनपक्षीय रुपमा काम गर्ने विषयमा पनि छलफल गरिने सभापति शाहीले बताए । प्रशिक्षण कार्यक्रममा कर्णालीका करिब ६४ जना जनप्रतिनिधिको सहभागिता रहने बताइएको छ ।






