राजधानीकै सडकको डीपीआरमै थिएन अपाङ्गतामैत्री पूर्वाधार


वीरेन्द्रनगर बजार क्षेत्रको सडक अपाङ्गतामैत्री छैन । मुख्य बजार क्षेत्रमै सहायक बाटो तथा पसलहरुमा जानकै लागि अवरोध सृजना हुने गरेको छ ।
यो सडक गत असारमा खड्का निर्माण सेवा, नेपालगंजले निर्माण गरेको हो । अन्तिम समयमा निर्माण भएको यो सडक हतारहतारमा नै निर्माण भयो । डीपीआरमै अपाङ्गमैत्री सडकको डिजाईन नभएपछि अन्तत ठेकेदारले पनि सम्झौता अनुसार नै काम गरे ।
वीरेन्द्रनगरका सडकमा क्षमताभन्दा सवारीसाधनको संख्या बढी छ । सडकमा साँघुरा मोड र ठाडो, उकालो, ओरालो हुनु, प्राविधिक मापदण्ड र उचित इन्जिनियरिङ बिना सडक निर्माण हुनुले पनि यहाँका सडक अपाङ्गमैत्री बन्न सकेका छैनन् । प्रदेश राजधानीकै सडकको अवस्था हेर्दा अन्य जिल्लाका सडक अपाङ्गमैत्री कल्पना गर्न सकिदैन ।
राजमार्ग तथा अन्य सडकहरूमा पर्याप्त रूपमा ट्राफिक संकेत, लाइट र रोड फर्निसिङ पनि छैन । यस्तै सडकमा धेरै खाल्डाखुल्डी पर्छन् । तर सडक समयमै मर्मत हुदैनन् । सुरक्षित सडकपेटी पर्याप्त मात्रामा छैनन् । भने पुल र निकासको पनि राम्रो व्यवस्था छैन ।
‘मेरो स्कुटर त धकेल्नुपर्छ भने अन्य ह्वीलचिअर प्रयोग गर्ने साथीहरुको हालत के होला ? यी सडकमा ह्वीलचिअर सिधै पल्टिन्छन्,’ फरक क्षमता भएका व्यक्ति धर्मराज रावलले भने, ‘म दैनिकजसो बजार निस्किन्छु । तर वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रकै दायाँ–बायाँ सडकमा मेरो तीन पांग्रे स्कुटर सजिलै चड्दैन ।’
वीरेन्दनगरको मंगलगढी देखि गणेशचोकसम्मको मुख्य सडकमा दायाँ–बायाँ सडक छिर्दा धर्मराज जस्तै जो कोही सवारी चालकलाई सकस छ । मुख्य सडक भन्दा अग्लो तहमा रहेका दायाँ–बायाँका सबै सडकमा अपाङ्गता भएका व्यक्तिलाई हिडेरै जान समेत मुस्किल छ ।
अप्ठ्यारो खालको सडक संरचना र सडकका खाल्डाखुल्डीले अपाङ्गता नभएका व्यक्तिलाई समेत यात्रामा सकस छ ।
‘हामी अपाङ्गता भएका व्यक्तिका लागि सडकमा लड्ने, खाल्डोमा खस्ने, चोटपटक लाग्ने कुरा त सामान्य भइसक्यो’ रावलले भने, ‘सायद खाल्डोमा नपरेको वा सडकमा हिँड्दा लडेर चोटपटक नलागेको अपाङ्गता व्यक्ति कोही छैन होला ।’
सडक व्यवस्थित बनाउन पटक पटक ध्यानाकर्षण गराएपनि सम्बन्धित निकायले सुनुवाई नगरेको रावलको आरोप छ ।

पहुँचयुक्त भौतिक पूर्वाधार विकासमा अनविज्ञ बन्ने सरकार, समाज र अमैत्रीपूर्ण संरचनाले आफूलाई अपहेलित महशुस हुने गरेको वीरेन्द्रनगरकी तुल्सी बुढाक्षेत्रीको भनाइ छ । सडकमा सहज यात्रासमेत गर्न नसकेको उनले गुनासो गरिन् ।
‘हामीजस्ता अल्पदृष्टि भएका व्यक्तिलाई खासै सम्बोधन गरिँदैन । सडक छेउको व्यक्तिले पनि सहयोग गर्दैनन्’, रामलक्ष्मी जैशीले भनिन्, ‘हामीसँग सेतो छडी हुँदैन, परको दृश्य, साइनबोर्ड, ट्राफिक लाइट, जेब्राक्रसिङ देखिँदैन । सहयोग माग्दा उल्टै कराएर तर्किएर हिँड्छन् । त्यसैमा झन् सडक संरचना पनि बाधक बनेका छन् ।’
अपाङ्गतामैत्री सडक नहुँदा नागरिकहरु सडक यात्रामा असुरक्षित महशुस गर्न बाध्य भएका छन् । सडकमा सुरक्षित यात्रा गर्न अन्य व्यक्तिको सहयोग लिनैपर्ने नियति सडकको अव्यवस्थापनले निम्ताएको राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका अध्यक्ष बिष्णु शर्माले बताए ।
आवश्यक बजेट छुट्टाएरै पुनःनिर्माण हुने
‘डीपीआरमै अपाङ्गमैत्रीको डिजाइन रहेनछ । हामी यसलाई फेरी संशोधन गर्दै आवश्यक बजेट छुट्याएर अपाङ्गमैत्री बनाउने तयारीमा छौं’, पूर्वाधार विकास निर्देशनालयका निमित्त निर्देशक रामशरण आचार्यले जानकारी दिए, ‘सम्झौता अनुसार ठेकेदारलाई पनि तत्काल काम गर्नुपर्ने भएकाले र समयपनि छोटो भएकाले अपाङ्गमैत्री बनेन अब आएको गुनासोलाई सम्बोधन गर्छौं ।’
उनले अब बन्ने सबै सडक अपाङ्गमैत्री डिजाइनमा बन्ने पनि आश्वासन दिए । अपाङ्गमैत्री शहर निर्माण प्रदेश सरकारका भाषणमा मात्र सीमित छ । जसले गर्दा न आजसम्म सडक सुरक्षाका लागि पहल हुन सकेको छ । नत सोहीअनुरुपका सडक नै बनेका छन् ।
पूर्वाधार विकास निर्देशनालय, सर्खेतका अनुसार यो सडक निर्माणका लागि १२ करोड ६४ लाख खर्च भएको छ ।





