वीरेन्द्रनगरमा देखिन थाल्यो डेंंगी संक्रमण

सुर्खेत, २३ साउन ।
सुर्खेतमा चालु आर्थिक वर्ष २०८०/०८१ को साउन १ गतेदेखि हालसम्म ११ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । झन्डै १९ दिनको अवधिमा उक्त संख्यामा डेंङ्गी संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयले सुर्खेतले जनाएको छ ।

गत आर्थिक वर्ष २०७९/०८० मा १४ सय बढीमा डेंङ्गी संक्रमण पुष्टि भएको थियो । जिल्लामा सबैभन्दा बढी वीरेन्द्रनगर डेंङ्गी संक्रमणको उच्च जोखिममा रहेको छ । संक्रमणको सुरुवाती चरणलाई हेर्ने हो भने अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा संक्रमण अझै बढ्ने देखिन्छ ।

सुर्खेतमा विशेषगरी शहरीकरण भएका वस्ती तथा वीरेन्द्रनगर उपत्यका भित्र पर्ने वडाहरूमा डेंङ्गीको उच्च जोखिम रहेको छ । हाल संक्रमण पुष्टि भएकामध्ये अधिकांश उपत्यकाकै बासिन्दा हुन् । नगरपालिकाको वडा नं. १३, १४, १५ र १६ मा हाल डेंङ्गीका बिरामी देखिएका छैनन् । ‘संक्रमित बिरामीको संख्या हेर्दा नगरपालिकाको वडा नं. १ देखि १२ मा धेरै देखिएको छ,’ जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ मलेरिया निरिक्षक उदय विसीले भने ।

डेंङ्गी एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । यो लामखुट्टेले प्रायः दिउँसोको समयमा टोक्ने भएकाले सजक हुनुपर्ने निरिक्षक विसी बताउँछन् । लामखुट्टे घाम उदाएको दुई घण्टा पछाडि र घाम अस्ताउनुभन्दा दुई घण्टा अघि बढी सक्रिय हुने हुँदा यस समयमा झनै सचेत हुनुपर्ने उनको भनाइ छ ।

लगातार परिरहेको पानीका कारण र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको विसीले बताए । सुर्खेतका सहरहरु वीरेन्द्रननगर, छिन्चु, जहरे, मेहेलकुना र बोटेचौर बजाार लगायतका क्षेत्रमा विभिन्न जनचेतनामुलक कार्यक्रममार्फत सरसफाई अभियान थालनी गर्न लागेको कार्यालयले जनाएको छ ।

डेंङ्गीबाट जोगिने उपाय
सामान्यतया डेंङ्गी भाइरसको सङ्क्रमण भएका करीब ८० प्रतिशत मानिसहरूमा रोगका कुनै लक्षणहरू देखिँदैनन् वा देखिए पनि हल्का ज्वरो जस्ता सामान्य खालका लक्षणहरू मात्र देखिन्छन् । संक्रमित मध्ये करीब पाँच प्रतिशत मानिसहरूमा गम्भीर प्रकारको डेङ्गी लाग्ने गर्दछ भने ती मध्ये पनि निकै कम मानिसहरू यस रोगका कारण मृत्युको मुखमा पुग्ने गर्दछन ।

डेंङ्गी संक्रमणबाट जोगिनका लागि सर्वप्रथम पूरै शरीर ढाकिने कपडा लगाउनु पर्ने जन स्वास्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ मलेरिया निरिक्षक उदय विसी बताउँछन् । राती सुत्दा झुल लगाएर सुत्ने, घर वरपर सफा राख्ने, खाल्डाखुल्डी तथा फालिएका भाँडाकुँडामा पानी जम्न नदिने, पानी ट्याङ्की, ड्रम, गाग्री, बाल्टिन आदि संधै छोपेर राख्नुपर्ने विसीको भनाई छ ।

के हो डेंगी ?
डेंङ्गी ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने र शितोष्ण तथा समशीतोष्ण भूभागमा फैलिने रोग हो । यो रोग डेंङ्गी भाइरसका कारणले लाग्ने गर्दछ । सामान्यतया डेंङ्गी भाइरसको सङ्क्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्छन् ।

यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने, खानामा अरुचि हुने, पेट गडबडी आदि हुन् । यो रोग निको हुन दुईदेखि एक हप्तासम्म लाग्न सक्छ । केही बिरामीहरूमा यो रोग विकसित (डेंङ्गी हेमोरेजिक फिबर) भएर रक्तश्र्राव हुन्छ र ज्यान नै जोखिममा पर्न सक्छ ।

यो अवस्थामा रक्तश्र्राव हुने मात्र नभइ रगतमा प्लेटेलेट्सको मात्रा कम हुने तथा रगतको प्लाज्मा खेर जाने हुन सक्छ । त्यस्तै डेंङ्गीको अर्को विकसित रूप डेंङ्गी सक सिन्ड्रोम पनि हो । यो अवस्थामा बिरामीको रक्तचाप घटेर खतरनाक अवस्थामा पुग्छ ।

सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धिविकास हुन्छ र डेंङ्गीको भाइरस फैलाउने लामखुट्टेका लागि भने २२ देखि ३४ डिग्रीसम्मको तापक्रम निकै अनुकूल मानिन्छ । यो जातको लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ ।

वीरेन्द्रनगरमा देखिन थाल्यो डेंंगी संक्रमण

YUGAAWHAN NATIONAL DAILY (2080-04-23)

वीरेन्द्रनगरमा देखिन थाल्यो डेंंगी संक्रमण

YUGAAWHAN NATIONAL DAILY (2080-04-24)

Leave a comment

Your email address will not be published. Required fields are marked *