कालीकोटमा बलत्कार आरोपितलाई पक्रन गएको प्रहरीमाथी स्थानीयको अवरोध

सुर्खेत । कालीकोटमा प्रहरीमाथी ढुङ्गामुढा प्रहार भएको छ । जिल्लाको पलाँता गाउँपालिका ६ सैनामा जबरजस्ती करणी मुद्दामा आरोपीलाई पक्रन गएको प्रहरी टोलीमाथी स्थानीयले ढुङ्गामुढा गरेका हुन् ।

सोमबार विहान जबरजस्ती करणीको आरोप लागेका सोही ठाउँका ३१ वर्षीय संक बुढालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पलाँतातर्फ लैजानेक्रममा स्थानीयले अवरोध गरेपछि भएको झडपमा इलाका प्रहरी कार्यालय पलाँताका सहायक प्रहरी नीरिक्षक लक्ष्मी ढुङ्गेल रावल र एक स्थानीय घाइते भएका छन्, भने आरोपी बुढा फरार रहेको कणर्ाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए ।
‘पलाँता गाउँपालिका ६ सैन भन्ने ठाउँमा आरोपितलाई पक्राउ गरेर ल्याउनेक्रममा स्थानीयले अवरोध गर्न खोजेपछि सामान्य झडप भएको थियो ।’ प्रवक्ता श्रेष्ठले भने, ‘झडपबाट हाम्रा एक जना असई साप र एक जना स्थानीय सामान्य घाइते भएका छन् । आरोपित फरार छ ।’
बलात्कार आरोपी बुढा हत्कडीसहित फरार भएका छन् । उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र नजिकका प्रहरी चौकीबाट थप टोली त्यसतर्फ खटाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार बुढाले २०७९ असोज ३१ गते गाउँकै एक महिलामाथि जबरजस्ती करणी गरेका थिए । पीडित परिवारले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालय कालीकोटमा किटानी जाहेरी दिएको थियो ।






