२०८३ आश्विन १७ गते
×

Now Playing

स्कुलको लापरबाहीले छात्राको मृत्यु भएपछि प्रदर्शन, ३ राउण्ड हवाइफायर

सिरहा,२४ पाैष ।

 सिरहामा विद्यालयको लापरबाहीका कारण शनिबार एक छात्राको मृत्यु भएपछि विद्यार्थी र स्थानीय अभिभावकहरूले प्रदर्शन गरेका छन् । आक्रोशित विद्यार्थीहरुले आइतबार बिहान १० बजेबाट पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैया खण्डमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले प्रदर्शन गर्दै मिर्चैयास्थित इलाका प्रहरी कार्यालयसमेत घेराउ गरेका थिए ।

सिरहाको मिर्चैयास्थित सगरमाथा हाइयर सेकेन्डरी स्कुलमा अध्ययनरत सिरहा नगरपालिका–११ पदमपुरकी १६ वर्षीया सिर्जना कुमारी महराको औषधि खाने क्रममा पानीको बोतलमा रहेको स्प्रिट पिउँदा मृत्यु भएको हो ।

स्प्रिट पिएर शुक्रबार बिरामी परेकी महराको सिरहाको कर्जन्हास्थित फूल कुमारी मेमोरियल अस्पतालमा उपचारको क्रममा शनिबार राति १२ बजेतिर मृत्यु भएको थियो । विद्यालयको चरम लापरबाहीले सिर्जनाको मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध गरेपछि खुलाउन प्रहरीले तीन राउण्ड हवाइफायर गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी हरी बहादुर वलीले जानकारी दिए ।

उनका अनुसार राजमार्ग अवरोध खुलाउने क्रममा ढुंगामुढाबाट पाँच प्रहरी घाइते भएका छन् । महिनावारीका कारण पेट दुखेपछि सिर्जनालाई शुक्रबार विद्यालयकै एक शिक्षिकाले दिएको औषधि खाने क्रममा पानीको सट्टा स्प्रिट पिउँदा बिरामी भएको अभिभावक र विद्यार्थीको आरोप छ । विद्यालयले ह्वाइट बोर्ड सफा गर्न स्प्रिटको प्रयोग गर्थ्यो । विद्यालयका संस्थापक प्रिन्सिपल प्रदिप तिवारीले आफैंले विद्यार्थीको उपचार नगराएर केही भएको छैन भन्दै घर ल्याइदिएको सिर्जनाका वुवा धर्मेन्द्र महराले गुनासो गरेका छन् ।

‘प्रिन्सिपल तिवारीले सिर्जनाले थोरै स्प्रिट खाएकाले नशा लागेको छ, केही बेर सुताएपछि ठीक भइहाल्छ भनेर घरमा छाडेर गए,’ धर्मेन्द्रले भने, ‘सरले थोरै स्प्रिट खाएको भनेपछि हामीले विश्वास ग¥यौं, तर पछि अस्पताल लैजाने बेलासम्म अवस्था खराब भइसकेको थियो ।’ शिक्षकको विश्वास गरेर अस्पताल लैजान हतार नगर्दा छोरी गुमाउनु परेको भन्दै धर्मेन्द्रले विद्यालयको लापरबाहीले छोरीको ज्यान गएको आरोप लगाएका छन् । साथै उनले विद्यालयलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेर दिएका छन् ।

कर्जन्हास्थित फूल कुमारी मेमोरियल अस्पतालका डा. श्याम कुमार साहले सिर्जनाको फोक्सो पूरै सेतो भइसकेको र अक्सिजनको कमीका कारण मृत्यु भएको जानकारी दिए । एक्सरेमा फोक्सो कालो देखिनुपर्नेमा सबै सेतो देखिएको र फोक्सो सेतो हुनको कारण फोरेन्सिक जाँचबाट मात्र खुल्ने उनले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी हरि बहादुर वलीले सिर्जनाको हातमा पानीको सट्टा कसरी स्प्रिट पुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । विद्यालयले घटना स्वीकार गरेको र औषधि दिने शिक्षिका अम्बिका लम्साल र प्रिन्सिपल प्रदिप तिवारीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

कान्तिपुर 

स्कुलको लापरबाहीले छात्राको मृत्यु भएपछि प्रदर्शन, ३ राउण्ड हवाइफायर

कर्णालीमा मृत भेटिए युवा

स्कुलको लापरबाहीले छात्राको मृत्यु भएपछि प्रदर्शन, ३ राउण्ड हवाइफायर

कावासोतीमा बस पल्टिँदा १९ घाइते

Leave a comment

Your email address will not be published. Required fields are marked *