खेलकुदमा बढ्दै लगानी

सुर्खेत, २३ माघ ।

स्थानीय तहले खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधार तथा प्रशिक्षण कार्यक्रमलाई प्राथमिकता दिन थालेका छन्। स्थानीय सरकारले पूर्वाधार निर्माणमा लगानी गर्न थालेपछि पालिकास्तरमा खेलकुदका गतिविधि पनि बढेका छन्।

खेलकुदको विकासका लागि पूर्वाधार तथा खेलाडीको क्षमता अभिवृद्धि गर्न पालिकाले लगानी बढाउन थालेका हुन्। दैलेखको महावु गाउँपालिकामा पालिकास्तरीय एउटा खेल मैदान र तीनवटा वडास्तरीय खेल मैदान निर्माणाधीन अवस्थामा छन्।

चालू आर्थिक वर्षमा पालिकाले ‘एक वडा, एक खेल मैदान’ कार्यक्रम पनि सुरु गरेको छ। यसअन्तर्गत पालिकाका छवटै वडामा खेल मैदान निर्माणका लागि बजेट विनियोजन भई कार्यान्वयनको चरणमा छ। उक्त पालिकाले खेल पूर्वाधारका लागि प्रत्येक वडामा एक÷एक लाख रुपियाँका दरले छ लाख रुपियाँ बजेट छुट्याएको छ।

खेल क्षेत्रलाई उकास्न पूर्वाधार निर्माणमा जोड दिइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराम उपाध्यायले बताए। उनका अनुसार महावुमा सुरुवाती चरणमा वडास्तरीय खेल मैदान निर्माण गर्ने लक्ष्य लिइएको छ। त्यसका लागि पालिका आफैँले लगानी गर्दै छ भने पालिकास्तरीय अन्य ठूला संरचना बनाउन प्रदेश र सङ्घीय सरकारसँग बजेटका लागि पहल थालिएको छ।

पालिकामा पछिल्लो समय खेल प्रतियोगिता आयोजना गर्नेदेखि भौतिक पूर्वाधार निर्माण गर्ने क्रमले प्राथमिकता पाएको उनको भनाइ छ। यो पालिकाले खेलाडी, प्रशिक्षक तथा खेल जनशक्तिको प्रोत्साहनका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। खेलकुदमा युवाको आकर्षण बढाउने गरी थुप्रै योजना कार्यान्वयनमा लगिएको बताइएको छ।

वडा तहबाटै प्रतिभावान् खेलाडी उत्पादन हुन् भन्ने उद्देश्यले खेलकुद पूर्वाधार निर्माणमा जोड दिइएको महावु गाउँपालिका–२ का वडाध्यक्ष प्रकाश थापाले बताए । हरेक वडामा खेल मैदान निर्माण गरिँदा युवा सहभागिता बढ्दै जाने उहाँको अपेक्षा छ। हरेक वडामा खेल मैदान निर्माण तथा खेलकुदका सामग्री वितरणलाई अघि बढाउने योजना सफल हुँदै जाँदा खेल गतिविधि प्रभावकारी बन्ने थापाको बुझाइ छ।

रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले खेल पूर्वाधारलाई प्राथमिकता दिएको छ। यो नगरपालिकामा १४ वटा वडा छन्। नगरले छवटा वडामा शहीद स्मारक खेल मैदान निर्माणको काम सुरु गरेको छ।

प्रदेश संसद् विकास कोषको दुई करोड रुपियाँको लगानीमा खेल मैदान निर्माणका काम भइरहेका हुन्। ती वडामा २५ देखि ४० लाख रुपियाँसम्म लगानी गरेर खेलकुदका भौतिक संरचना निर्माण थालिएको हो। आवश्यकता हेरेर वडामा बजेट उपलब्ध गराइएको पालिकाले जनाएको छ। ‘एक वडा, एक खेल मैदान’ अवधारणाअनुसार बाँकी वडामा पनि खेल मैदान बनाउने योजना रहेको नगरप्रमुख पुष्प बादीले बताए

। खेलकुद क्षेत्रको विकासअन्तर्गत नगरपालिकाले पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिएको छ। नगरपालिकाको वडा नं. १२ मा क्रिकेट रङ्गशाला निर्माणको काम सुरु गरिएको छ। उक्त रङ्गशालाका लागि ठेक्का सम्झौता भइसकेकाले अबको केही दिनमा निर्माणको काम सुरु हुने बताइएको छ। जिल्ला खेलकुद विकास समितिको रेखदेखमा

रङ्गशाला निर्माणको काम गर्न लागिएको हो। त्यसका लागि बजेटको व्यवस्था पनि समितिले नै गरेको छ। अघिल्लो कार्यकालमा सडक, शिक्षा र स्वास्थ्यजस्ता पूर्वाधारको विकासलाई मात्रै प्राथमिकता दिएका स्थानीय सरकारले दोस्रो कार्यकालमा भने खेलकुदका पूर्वाधार विकासमा पनि जोड दिएका छन्।

युवालाई कुलतबाट बचाउन, शारीरिक तथा मानसिक रूपमा सत्मार्गमा लगाउन तथा अनुशासित बनाउन खेलकुदको महत्वपूर्ण भूमिका हुने भन्दै यस क्षेत्रको विकास र प्रवद्र्धनमा पालिका जुटेका हुन्।

गाेरखापत्र

खेलकुदमा बढ्दै लगानी

कर्णालीमा चर्को भाडा

खेलकुदमा बढ्दै लगानी

मिर्गाैला प्रत्यारोपण सफल

Leave a comment

Your email address will not be published. Required fields are marked *