मिर्गाैला प्रत्यारोपण सफल
सुर्खेत,२३ माघ ।
कर्णालीमा पहिलो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ। पोखरापछि पहिलो पटक सुर्खेतस्थित प्रदेश अस्पतालमा शनिबार पहिलो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको हो।
मिर्गौला प्रत्यारोपणका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काको नेतृत्वमा विशेषज्ञ चिकित्सकको टोली खटिएको थियो। बर्दघाट नगरपालिका–४, नवलपरासीका २२ वर्षीय युवकको मिर्गौला झन्डै चार घण्टा लगाएर प्रत्यारोपण गरिएको छ।
आइतबार प्रदेश अस्पतालमा गरिएको पत्रकार सम्मेलनमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले काठमाडौँबाहिर पोखरापछि सुर्खेतमा मिर्गौलाको सफल प्रत्यारोपण भएको जानकारी दिए। उनले अब सुर्खेतमा मिर्गाैला प्रत्यारोपणको कामलाई निरन्तरता दिँदै जाने बताउँदै त्यसका लागि प्रदेश अस्पतालको जनशक्ति सक्षम भएको बताए ।
प्रदेश अस्पतालका चिकित्सकलाई एक वर्षको फेलोसिप तालिम दिएपछि आगामी एक वर्षपछि यहीँको जनशक्तिले मिर्गौलाको सफल प्रत्यारोपण गर्नसक्ने उनको भनाइ छ। मिर्गौला प्रत्यारोपण गर्न काठमाडौँमा पालो नपाउने, आउँदा जाँदा धेरै खर्च लाग्नेजस्ता समस्या रहेको भन्दै उनले अब सुर्खेतको प्रादेशिक अस्पतालले बुटवलदेखि पश्चिम नेपालको माग धान्नुपर्ने सुझाव दिए ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपणमा तीन हजार जनाले प्रत्यारोपणको माग गरे पनि केवल तीन सय जनाको मात्रै प्रत्यारोपण गरिएको र सयौँ जनाले पालो कुर्नुपर्ने अवस्था छ। यस्तो अवस्थामा अब सुर्खेतमा सहज र छिटो प्रत्यारोपण गर्न सकिने उनको भनाइ छ।
अहिले मिर्गौला प्रत्यारोपणलाई सरकारले निःशुल्क गर्ने गरेको छ। शनिबार दिउँसो गरिएको युवकको मिर्गौला प्रत्यारोपण आइतबार दिउँसोसम्म स्वस्थ रहेको जानकारी दिँदै उनले पाँच दिनपछि युवक पूर्ववत् अवस्थामा आउने उल्लेख गरे ।
प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले एक वर्षको अवधिमा सुर्खेतमा मिर्गौलाको सफल प्रत्यारोपण गर्न सफल भएको बताए। उनले २०७८ चैत १० गते शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रदेश अस्पतालबीच मिर्गौला प्रत्यारोपणको सम्झौता भएको जानकारी दिए ।
उहाँले सबै कानुनी तथा व्यवस्थापकीय प्रक्रिया पूरा भएपछि शनिबार मिर्गाैला प्रत्यारोपणको काम सफल भएको जानकारी दिनुभयो। पश्चिम नेपालमै पहिलो पटक कर्णालीमा मिर्गौला प्रत्यारोपणको काम सफल भएकोमा खुसी व्यक्त गर्दै उहाँले अब कर्णालीलगायत पश्चिम नेपालका बिरामीलाई प्रत्यारोपणमा सहज हुने बताए ।
बर्दघाट नगरपालिका–४, नवलपरासीका २२ वर्षीय युवकलाई उहाँका आमाले मिर्गौला दान गरेका थिए। युवकका बुवा तुलबहादुर थापाले काठमाडौँमा पालो कुर्दाकुर्दा नपाएपछि सुर्खेतमा आएर शनिबार प्रत्यारोपण गर्दा सफल भएकोमा खुसी व्यक्त गरे
उनका अनुसार छोराको अवस्था सामान्य हुँदै गएको छ। मिर्गौला प्रत्यारोपणका लागि केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठसहित शल्यचिकित्सक डा. रविकिरण गौतम, डा. हरि बराल, एनेस्थेसियोलोजिस्ट डा. शोभित थापा, डा. रस्मित श्रेष्ठ, नेफ्रोलोजिस्ट डा. सुमित आचार्य, डा. दीपा लामिछाने, रेडियोलोजिस्ट डा. समीर दवाडी संलग्न थिए ।
सुर्खेतस्थित प्रदेश अस्पतालबाट निर्देशक डा. खड्कासहित शल्यचिकित्सक डा. गणेश थापा, डा. विकास खड्का, एनेस्थेसियोलोजिस्ट डा. पूजन बल्ल, डा. जेनी वज्राचार्य, फिजिसियन डा. कुलराज शाहीको टोली संलग्न थियो।
कर्णाली प्रदेशका निवर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीले सुर्खेतमै मिर्गौला प्रत्यारोपण सफल भएपछि अब प्रादेशिक अस्पताल गुणस्तरीय स्वास्थ्य सेवा उपचारको हब बनेको बताउनुभयो। प्रत्यारोपणमा संलग्न डा. सुमित आचार्यले प्रादेशिक अस्पताल अब मिर्गौला प्रत्यारोपण गर्न सफल भएको बताए ।
गाेरखापत्र