सुत्केरीलाई इनास फ्रान्सको आर्थिक सहयोग

भूकम्पका कारण यतिबेला सबैभन्दा बढी बालबालिका, जेष्ठ नागरिक र सुत्केरी महिला प्रत्यक्ष मारका परेका छन् । त्रिपालमुनि बसिरहेका भूकम्पपीडितहरूको स्वास्थ्य हिउँदे वर्षाको कारण थप जोखिममा परेको छ । यस्तो बेला रुकुम पश्चिमका दुई जना सुत्केरीलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १४ की १८ वर्षिया कल्पना विक र सानीभेरी गाउँपालिका वडा नम्बर ४ निवासी २६ वर्षिया माया घर्ती ओलीलाई सहयोग उपलब्ध गराइएको हो । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास (फ्रान्स) ले दुई जना सुत्केरीलाई जनही ५८ हजार पाँच सयका दरले एक लाख १७ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

इनासका युरोप क्षेत्रीय संयोजक प्रकाश तिवारीले नेपाल आएका बखत पत्रकार महासंघ रुकुम पश्चिमका जिल्ला अध्यक्ष लक्ष्मण केसीलाई काठमाडौं सहयोग रकम हस्तान्तरण गरेका थिए । सहयोग रकम हस्तान्तरण गर्ने क्रममा तिवारीले इनास फ्रान्सले दशैं तिहारको अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको दशैं तिहार धमाका नामक कार्यक्रम स्थगित गरेर कार्यक्रम गर्न लाग्ने खर्च भूकम्प प्रभावित सुत्केरीलाई पठाएको जनाए ।

इनास फ्रान्सका अध्यक्ष आभास आचार्यले विपद्को बेला जोखिममा रहेका सुत्केरीहरुलाई आवश्यक राहत तथा स्वास्थ्य सामग्री खरिदमा सहयोग पु¥याउने उद्धेश्यले सहयोग गरिएको बताए । उनका अनुसार चिसो मौसममा सुत्केरीहरूको स्वास्थ्यमा थप समस्या नआओस् भनेर सहयोग गरिएको हो ।

यसका लागि इनास फ्रान्सको कार्यसमिति तथा इनास फ्रान्सका सम्पूर्ण शुभचिन्तकप्रति आभारी रहेको आचार्यको भनाइ छ। कल्पनाको १९ दिने छोरा रहिस बिकको भूकम्प परेर मृत्यु भएको थियो । शल्यक्रिया गरेर छोरालाई जन्म दिएकी उनी भूकम्पमा परेर घाइतेसमेत भएकी थिइन् ।

त्यसैगरी मायाको श्रीमान् पूर्ण र छोरा प्रणवको पनि भूकम्पकै कारण मृत्यु भएको थियो । काखमा रहेकी छोरीलाई भूकम्पबाट जोगाउन सफल मायाको घर र जाजरकोटको रिम्ना बजारमा सञ्चालित व्यवसाय ध्वस्त भएको छ । दुवै जना पीडित अहिले त्रिपालमुनि बसिरहेका छन् ।

सुत्केरीलाई इनास फ्रान्सको आर्थिक सहयोग

बेपत्ता स्वास्थ्यकर्मी मृत अवस्थामा फेला

सुत्केरीलाई इनास फ्रान्सको आर्थिक सहयोग

मध्यपहाडका जनताको सुझाव संकलन गर्दै एमाले