बेपत्ता स्वास्थ्यकर्मी मृत अवस्थामा फेला

घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अङ्ग फडेरा मृत अवस्थामा फेला परेका छन् ।
हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षिय फडेराको घरभन्दा आधा घण्टा टाढाको दूरी रहेको पुदाले चौरको भिरबाट लडेर मृत्यु भएको हुनसक्ने आफन्तको भनाइ छ ।
फडेरा गएको शुक्रवारदेखि बेपत्ता भएको जनाउँदै आफन्तले खोजी तीव्र पारेका थिए । खोज्ने क्रममा आफन्तले सोमवार दिउँसो मृतावस्थामा फेला पारेका हुन् । मृतक फडेराको घाँटीमा गम्भीर चोट लागेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले भने, ‘घटनाको विस्तृत जानकारी अझै आउन सकेको छैन । घटनाको थप विवरण बुझ्न र मुचुल्का गर्नका लागि सर्केगाड प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको छ ।’ मुचुल्कापछि मंगलवार बाजुरा जिल्लाको सामुदायिक स्वास्थ्य केन्द्र कोल्टीमा शव परीक्षणका लागि लैजाने प्रहरी नायब उपरीक्षक खनालले बताए ।





