चाडबाडलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री


जुल्ला ।
जुम्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले नजिकिँदै गरेको चाडबाडलाई लक्षित गरी सहुलियत दरमा चामलको बिक्री वितरण गर्ने भएको छ । असोज २१ गतेदेखि सहुलियत दरमा चामल बेच्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार जुम्लामा एक हजार दुई सय क्विन्टल चामल आइपुगेको छ । यस वर्षको दसैंका लागि यो संख्याको चामल पर्याप्त हुने कम्पनीका प्रमुख निर्मल विष्टले जानकारी दिए ।
‘अहिले गोदाममा दसैंका लागि एक हजार दुई सय, कारागार जुम्लाको लागि दुई सय ८० र जन्म मृत्युका लागि एक सय ५० क्विन्टल चामल मौज्दात राखिएको छ । सम्बन्धित वडाको सिफारिस ल्याएर पालिकैपिच्छे चामल लैजान सकिन्छ ।’ प्रमुख विष्टले भने ।
उनका अनुसार यस पटकको दसैंमा जिरा मसिनो चामल सहुलियत दरमा बिक्री गर्न लागिएको हो । उक्त चामलको मूल्य प्रतिबोरा दुई हजार तीन सय रुपैयाँ रहेकोमा दसैं विशेष सहुलियत सहित दुई हजार एक सय २५ रुपैयाँमै बेच्ने तयारी भइरहेको उनको जनाए ।
‘जुम्लाको वार्षिक कोटा पाचँ हजार पाचँ सय क्विन्टल हो । हालसम्म एक हजार तीन सय २० क्विन्टल चामल आइसकेको छ । चार हजार एक सय ८० क्विन्टल चामल आउन बाँकी छ ।’ उनले भने ।
चामल वितरणको लागि कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकाको लागि धापामा कम्पनीको डिपो राखिएको छ ।





