अपाङ्गता भएका व्यक्तिलाई हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल वायुसेवा निगमले अपाङ्गता भएका व्यक्तिलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर डिसेम्बर ३ अर्थात् आईतवारबाट लागू हुने गरी यो व्यवस्था गरेको हो ।
परिचय पत्रका आधारमा हरेक आन्तरिक उडानमा दुई जनालाई ५० प्रतिशत छुट दिने निर्णय गरिएको प्रवक्ता पौडेलले जानकारी दिए ।
‘आईतवार ३ डिसेम्बर, २०२३ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर आईतवारको दिनदेखि लागू हुने गरी रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचय पत्र लिएका यात्रुहरूको लागि निगमको हरेक आन्तरिक उडानमा दुई जना यात्रुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरिएको ब्यहोरा जानकारी गराइन्छ’ निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
उक्त सुविधाको लागि सम्बन्धित यात्रुले आफ्नो सक्कल परिचय पत्रसहित निगमको कार्यालयमा सम्पर्क गर्नुपर्ने निगमले जनाएको छ ।






