कर्णालीका ७ जिल्लामा फैलियो ‘लम्पी स्किन’ रोग

सुर्खेत । गाई-भैँसीमा लाग्ने ‘लम्पी स्किन’ नामक रोगको कर्णालीका सात जिल्लामा फैलिएको छ । संक्रामक यो रोगका कारण किसानले पालेका दुधालु गाई र भैँसी बिरामी पर्ने गरेका छन् भने कतिपय ठाउँमा चौपाया मरेको रिपोर्ट प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आएको छ ।

यस अघिसम्म गाई र गोरुमा मात्रै देखिएको ‘लम्पी स्किन’ पछिल्लो समय भैँसीमा समेत देखिएको छ । मन्त्रालय अन्तर्गतको पशुपन्छी विकास महाशाखाका पशु विकास अधिकृत प्रचण्ड खड्काका अनुसार कणर्ालीका १० जिल्लामध्ये सात जिल्लामा यो रोग महामारीका रुपमा फैलिरहेको छ । सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम, कालिकोट र हुम्ला ‘लम्पी स्किन’ को प्रकोप देखिएको छ । यसमध्ये पनि सबैभन्दा बढी सल्यान जिल्ला प्रभावित बनेको छ । हुम्लामा पनि पछिल्लो चरणमा यो रोग देखिएको छ ।

‘प्रदेश राजधानी वीरेन्द्रनगरका छाडा पशुचौपाया हामी पाल्छौँ भन्दै केहीले हुम्ला लगेका थिए,’ खड्काले भने, ‘ती गाईसँगै रोग पनि हुम्ला पुगेको हो ।’ मुगु, जुम्ला र डोल्पाबाट भने अहिलेसम्म कुनै संक्रमण भेटिएको जानकारी नआएको उनले बताए ।
जाजरकोट पशु सेवा कार्यालयका अनुसार जुनिचाँदे, भेरी, शिवालय, छेडागाड, नलगाड लगायतका पालिकामा रोगको प्रकोप अत्यधिक बढेको छ । जाजरकोटमा यही रोगका कारण केही चौपाया मरिसकेको पशु सेवा कार्यालयले जनाएको छ ।
के हो लम्पी स्किन ?
‘लम्पी स्किन’ रोग क्याप्रिपक्स भाइरसका कारण गाईभैँसीमा लाग्ने संक्रामक रोग हो । यस रोगका मुख्य लक्षणहरूमा घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुन लगायत शरीरका विभिन्न भागमा गिर्खा देखिन्छन् । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, कचेरा र सिंगान बग्ने तथा मुखबाट फिँज धेरै निकाल्ने बाँझोपन हुने र गर्भ तुहिने सम्भावना बढी रहने पशु चिकित्सक बताउँछन् । पशुले घाँसपानी नखाने, नाक, खुट्टा सुन्निने र पशु हिँडडुल गर्न नसक्ने यसका लक्षण हुन् । पशुहरु दुब्लो हुने, निमोनिया हुने र छालामा धब्बा वा प्वाल हुने गर्दछन् । विशेषगरी यो रोग लामखुट्टे, टोक्ने झिंगा, किर्ना आदिको टोकाइबाट बढी सर्ने गर्दछ । पशु विकास अधिकृत खड्काले यस रोगका कारण दुध उत्पादनमा ८० प्रतिशत ह्रास आउने आँकलन गरिएको बताउँछन् ।

‘यही औषधि प्रयोग गर्दा रोग ठीक हुन्छ भन्ने अनुमान हुन सकेको छैन,’ उनले भने, ‘यस अवस्थामा एन्टिबायोटिकले समेत काम गरिरहेको हुदैन ।’ उनका अनुसार लक्षण अनुसारको उपचार मात्र गर्नुपरेको र त्यसले रोग ठीक हुन नसकेको हो ।
भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले रोग नियन्त्रणबारे प्रयास भइरहेको बताए । विज्ञ टोली फिल्डमा खटिरहेको र त्यसको यथेष्ट रिपोर्टपछि भ्याक्सिन खरिदका लागि पहल थालिने उनको भनाइ छ । यद्यपि भ्याक्सिन महँगो भएकाले समस्या भइरहेको मन्त्रालयले जनाएको छ ।

कर्णालीका ७ जिल्लामा फैलियो ‘लम्पी स्किन’ रोग

‘अपाङ्गता’को सवालमा हेलचेक्राइँ

कर्णालीका ७ जिल्लामा फैलियो ‘लम्पी स्किन’ रोग

बाल सुधार गृह कहिले निर्माण गर्ने ?

Leave a comment

Your email address will not be published. Required fields are marked *