अपांगताले नछेकेको आत्मनिर्भरता
सिर्जना बुढाथाेकी
सुर्खेत,१९ माघ ।
सुर्खेतको भेरीगंगा नगरपालिका–२ लेकपराजुलकी दुर्गा कठायत दृष्टिविहीन अपाङ्गता छिन् । आँखाले बाहिरी संसार नदेखेपनि उनले आफूलाई कहिल्यै पनि कमजोर सोचिनन् । २० वर्षिया दुर्गा अहिले सुर्खेत क्याम्पस (शिक्षा) मा स्नातक तह पहिलो वर्ष अंग्रजी विषय लिएर अध्ययन गरिरहेकी छिन् ।
‘मलाई कहिल्यै पनि म केही गर्न सक्दैन भन्ने लागेन,’ उनले भनिन्, ‘घर परिवारबाट पनि राम्रो साथ र सहयोग पाएपछि म अहिले यो स्थानसम्म पुग्न सफल भएकी छु ।’ आफ्नो अध्ययन सकेपछि आफूजस्तै बालबालिकाको सेवामा खट्ने दुर्गाको योजना छ ।
फरक–फरक अपाङ्गता भएकाहरुलाई समाजले कमजोर व्यक्तिका नजरले हेर्ने प्रवृत्ति अझै पनि छ । तर अधिकांश अपाङ्गता भएकाहरु भने आत्मनिर्भर भएर जीवन निर्वाह गरिरहेका छन् ।वीरेन्द्रनगर–९ लाटीकोईलीकी रत्ना रानाको शरिरको ४५ प्रतिशत भाग जलेको छ । उनको शरिरको अधिकांश अंग राम्रोसँग चल्दैन ।
दश वर्षअघि शरिर जलेपछि अपाङ्गताको जीवन बाँचिरहेकी राना अहिले वीरेन्द्रनगरकै लगनशील महिला लघु उद्यमी सहकारी संस्थामा काम गर्छिन् । ‘म सुत्केरी भएको बेला शरिर जलेर काम गर्न नसक्ने भएँ,’ उनले भनिन्, ‘धेरै समयसम्म मेरो एउटा हात र शरिरका धेरै अंगले काम गरेनन् तर मैले कहिल्यै पनि मेरो जीवन सकिएको भन्ने महशुस गरेन ।’
आफ्नो कमजोर अवस्थामा पनि मिहेनत गर्दै अहिले सहकारीको व्यवस्थापक भएर काम गर्न राना सफल भएकी छिन् । ‘मेरो हात नचल्दा मैले अवसर पाउँदैन कि भन्ने चिन्ता लागेको थियो,’ उनले भनिन्, ‘तर मैले कत्ति पनि हार नमानेर सहकारीको सदस्य, कोषाध्यक्ष, सचिव हुँदै अहिले व्यवस्थापकको जिम्मेवारीमा छु ।’
अपाङ्गता भएका व्यक्तिहरुलाई परनिर्भर भन्दा पनि आत्मनिर्भर बनाउनेतर्फ सोचेर सरकारले रोजगारीका अवसरहरु सिर्जना गर्न आवश्यक रहेको रानाको भनाइ छ । वीरेन्द्रनगर–३ का सुरेश खड्का पनि दृष्टिविहीन अपांगता भएका व्यक्ति हुन् । जन्मिँदा राम्रोसँग आँखा देख्ने उनले ४ वर्षको उमेरदेखि बिस्तारै कम देख्न थाले ।
‘मैले अक्षर देख्न सक्दैनथेँ,’ उनले भने, ‘अक्षर नदेख्ने भएपछि मैले सानै उमेरमा पढ्न सकेन, पछि रामघाटमा दृष्टिविहीनलाई पढाई हुन्छ भनेपछि नौ वर्षको उमेरमा आफ्नो पढाई सुरु गरेँ ।’ खड्काले शिखर माध्यमिक विद्यालयमा कक्षा एकदेखि दश कक्षासम्म पढे ।
हाल श्रीकृष्ण संस्कृत तथा साधारण नमूना मावि ईत्राममा स्रोत शिक्षकका रुपमा अध्यापन गराइरहेका उनले स्नातक तहसम्म अध्ययन गरेका छन् । २०६७ सालदेखि शिक्षक पेशामा लागेका उनले नेपाल राष्ट्रिय निमाविमा पाँच वर्ष दृष्टिविहीन अपाङ्गता भएका विद्यार्थीहरुलाई नै अध्यापन गराए । त्यसपश्चात उनी ०७२ सालदेखि श्रीकृष्ण संस्कृत तथा साधारण नमूना माविमा कक्षा एकदेखि ६ कक्षासम्म अध्यापन गराउन थाले ।
उक्त विद्यालयमा कक्षा एकदेखि ६ सम्म मात्रै वौद्धिक, शारिरीक र दृष्टिविहीन अपाङ्गता भएका २४ जना बालबालिका अध्ययन गरिरहेका छन् । विद्यालयमा सुर्खेतसहित दैलेख, कालिकोट, मुगु, हुम्ला र जुम्लाका विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।
खड्का अहिले अपाङ्ग महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष तथा नेत्रहीन संघको केन्द्रीय सदस्य पनि भएर काम गरिरहेका छन् । अपाङ्ग महासंघमा रहेर खड्काले अपाङ्गता भएकाहरुको हकहीतका लागि काम गर्दै आएका छन् ।
सरकारले अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा तथा रोजगारीका लागि ठोस पहल नचालेको खड्काको भनाइ छ । उनका अनुसार सरकारले साधारणतर्फका विद्यार्थीका लागि मात्रै विभिन्न कार्यक्रम ल्याएको छ । तर अपाङ्गता भएका बालबालिकाका लागि सरकारले भन्दा सामाजिक संघसंस्थाहरुले मात्रै सहयोग गरिरहेको खड्काको भनाइ छ ।
रोजगारीको पहिलो ढोका भनेकै शिक्षा भएको भन्दै उनले परिवारकै तहबाट अपाङ्गता भएकाहरुको समस्या बाहिर आउनुपर्ने बताए । ‘सरकारले केही पनि नगरेको भन्ने त छैन,’ उनले भने, ‘परिवारका सदस्यले पनि अपाङ्गता भएका आफ्ना बालबालिकाबारे सरकारलाई जानकारी नगराउने प्रवृत्ति अझै पनि छ ।’
परिवारले नै अपाङ्गता भएका व्यक्तिहरुबारे जानकारी नदिँदा सरकारसँग पनि अपाङ्गता भएकाहरुको यकिन तथ्यांक नभएको उनको भनाई छ । ‘स्वास्थ्यमा पहुँच नपुग्दा अपाङ्गता भएकाहरुको शिक्षामा पहुँच पुग्दैन,’ उनले भने, ‘शिक्षा नै राम्रो भएन भने रोजगारीको सिर्जना हुने कुरा त टाढाको कुरा हो ।’ सरकारले अपाङ्गता भएका व्यक्तिहरुका लागि भन्दै धेरै नीति ल्याएको भएपनि कार्यान्वयनको पाटोमा ध्यान नदिएको खड्काको गुनासो छ ।