२०८२ फाल्गुन ५ गते
×

Now Playing

लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको विकल्प छैन: उपप्रधानमन्त्री खड्का

कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रमा देखिएका केही समस्यालाई देखाएर कतिपय स्वार्थ समूहले अवाञ्छित राजनीतिक फाइदा लिन खोजेको प्रति सरकार गम्भीर रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री खड्काले सर्वसाधारण जनसमुदायलाई कुनैपनि अराजक र उत्तेजक भीडको पछि नलाग्न र सरकारमाथि भरोसा राख्न आग्रह गरे ।


‘हजारौँ नागरिकको बलिदान र लामो समयको राजनीतिक सङ्घर्षबाट प्राप्त सङ्घीय, लोकतान्त्रिक र गणतन्त्रात्मक शासन व्यवस्थाको अर्को विकल्प छैन, यसमा रहेका कमी कमजोरीलाई सुधार्दै यो व्यवस्थालाई थप सबल, सदृढ र जनउत्तरदायी बनाउँदै अघि बढ्नु आजको आवश्यकता हो’ खड्काले भने ।

सरकार अर्थतन्त्रमा देखा परेका समस्या समाधान गर्न पूर्ण प्रतिबद्धताका साथ लागिरहेको बताउदै उनले चाँडै अर्थतन्त्र सही ट्रयाकमा आउनेमा विश्वास व्यक्त गरे ।

खड्काले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्र र सरोकारवाला सबैसँग रचनात्मक संवाद र सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको उल्लेख गरे । उनले भने, ‘अर्थतन्त्रको समस्यालाई हामीले सामूहिक रूपमा समाधान गर्न सक्छौँ । एकअर्कालाई दोषारोपणभन्दा पनि हामी सबैले आ–आफ्नो ठाउँमा जिम्मेवार भएर दायित्व निर्वाह गर्न सक्यौँ भने अर्थतन्त्र सुधारका लागि महत्त्वपूर्ण सहयोग हुन सक्छ ।’

विश्वको अर्थतन्त्र कोरोना महामारी, रुस–युक्रेन युद्ध र इजरायल–प्यालेस्टाइन सङ्घर्षलगायतले विश्व अर्थतन्त्र प्रभावित भइरहेको र नेपाल पनि यसबाट अछुतो नभएको उनको भनाइ थियो । यस्तो जटिल र विषम परिस्थितिमा मुलुकमा आर्थिक स्थायित्व कायम गर्दै लगानीको वातावरणमा सुधार गरी आय र रोजगारी बढाउन हामीले हाम्रा सम्पूर्ण प्रयासलाई केन्द्रित गर्नुपर्ने खाँचो रहेको उनले बताए ।

कार्यवाहक प्रधानमन्त्री खड्काले भने, ‘बढ्दो आयात र घट्दो निर्यातका कारण हाम्रो अर्थतन्त्र सदैब दबाबमा छ । त्यसमाथि पुँजीगत खर्च अपेक्षाकृत रूपमा हुन नसक्नु र राजस्व परिचालन पनि अपेक्षाकृत रूपमा बढ्न नसक्नुले अर्थतन्त्रलाई लयमा ल्याउन हामीले थप मिहिनेत गर्नुपर्ने स्थिति छ ।’ ‘सरकारले लिएको उपयुक्त नीति तथा चालेको सकारात्मक कदमहरूले हालका दिनमा वैदेशिक मुद्रा सञ्चितिमा केही सुधार हुँदै गएको छ ।’

अर्थतन्त्रमा देखिएका सबै समस्या समाधानमा सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले सुधारका लागि सरकारले यथासम्भव प्रयास गरिरहेको बताए । उनले भने, ‘सरकारले चालेका कदम र प्रयासका कारण ब्याजदर घट्दो क्रममा छ जसले गर्दा लगानी बढ्ने अपेक्षा गर्न सकिन्छ । घरजग्गा कारोबार र पुँजीबजारमा देखिएको शिथिलता समाधानका लागि सरकारले नीतिगत रूपमै विभिन्न कदमहरू चालेको छ । यसको परिणामस्वरूप यी क्षेत्रमा विस्तारै सुधारका संकेत देखिन पनि थालेका छन् ।’

खड्काले सरकार लगानीको वातावरणमा सुधार गर्न सुरुदेखि नै कटिबद्ध रहेको बताउदै यसका लागि सरकारले निजीक्षेत्र–मैत्री नीति तथा उपायहरू कार्यान्वयनमा ल्याइरहेको बताऐ ।

उनले भने, ‘अब निजी क्षेत्रले पनि सरकारले उपलब्ध गराएको लचिलो र अनुकूल नीतिगत संरचना तथा सरकारले तयार गरेका औद्योगिक तथा व्यापार पूर्वाधारहरूको फाइदा उठाउँदै लगानी र रोजगारी वृद्धिमार्फत अर्थतन्त्रको विकासमा थप सहयोग पु¥याउनु पर्दछ भन्ने मलाई लागेको छ । यसका लागि म यसै मञ्चबाट सबैलाई हार्दिक आग्रह गर्न चाहन्छु ।’

उनले अर्थतन्त्रमा केही सकारात्मक संकेतहरु पनि देखिएको बताए । खड्काले अर्थतन्त्रमा समस्या देखिएका बेलामा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताए ।

लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको विकल्प छैन: उपप्रधानमन्त्री खड्का

अदुवाले मूल्य पाएपछि किसान हर्षित

लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको विकल्प छैन: उपप्रधानमन्त्री खड्का

लगानी भित्र्याउन नीतिगत सुधार