मतदाता थपिए, मत थपिएनन

पुनम वि.सि.
सुर्खेत,७ मंसिर ।
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सबैले एउटै दृश्य देखें, त्यो हो मतदाताको निकै कम सहभागिता । कर्णाली प्रदेशका सबै जिल्लाको अवस्था उहि नै रह्यो, यसअघि २०७४ को निर्वाचनमा उत्साहजनक सहभागिता देखिएपनि यसपालिको निर्वाचन भने त्यस्तो रहेन ।
विगत पाँच वर्षको तुलनामा कर्णालीमा एक लाख ६१ हजार चार सय ६२ जना मतदाता थपिए। तर मतदानमा भने मतदाताको सहभागिता पहिलेको भन्दा तुलनात्मक रुपमा घटेको देखिन्छ । २०७४ को निर्वाचनताका कर्णालीमा कुल आठ लाख ४६ हजार नौं सय ४१ जना मतदातामध्ये पाँच लाख ८१ हजार नौं सय ४८ जनाले भोट खसालेका थिए । यसपाली २०७९ को निर्वाचनमा १० लाख आठ हजार चार सय तीन मतदाता मध्ये ६ लाख २१ हजार एक सय आठ मतदाता मात्र मतदानमा सहभागी भए ।

कहा कति मत खस्यो ?
खसेको मत प्रतिशतका आधारमा सबैभन्दा धेरै मत डोल्पामा खसेको देखिन्छ । यहाँ ७८ दशमलव ४६ प्रतिशत मत खसेको छ । यसैगरी सल्यानमा सबैभन्दा कम मत खसेको छ, सल्यानमा ५३ दशमलव २८ प्रतिशत मत खसेको छ । कालिकोटमा ८० हजार बढी मतदातामध्ये कुल ४६ हजार ६ सय ६९ मत मात्र खस्यो ।
यो कुल मतदाताको ५७ दशमलव ८१ प्रतिशत हो । जाजरकोटमा एक लाख बढी मतदातामध्ये ६५ हजार नौं सय ६१ मत खस्यो । यो कुल मतदाताको ६३ दशमलव ८१ प्रतिशत हो । जुम्लामा ६८ हजार बढी मतदातामध्ये ४५ हजार ५९ मत, ६५ दशमलव ६५ प्रतिशत मत खसेको छ ।
डोल्पामा २२ हजार बढी मतदातामध्येबाट १७ हजार आठ सय ६९ मत खसेको छ । यो संख्या कुल मतदाताको ७८ दशमलव ४६ प्रतिशत हो । दैलेखमा एक लाख बढी मतदातामध्येबाट ९५ हजार दुई सय ९१ मत खसेको छ । यो संख्या दैलेखका कुल मतदाताको ५९ दशमलव ९५ प्रतिशत हो ।
मुगुमा ३५ हजार बढी मतदातामध्येबाट ७४ दशमलव ४९ प्रतिशत अर्थात २६ हजार चार सय ३२ मत खसेको छ । रुकुम पश्चिममा एक लाख बढी मतदातामध्ये ६० हजार पाँच सय २७ मत अर्थात ५८ दशमलव शून्य चार प्रतिशत मत खसेको देखिन्छ । सल्यानमा एक लाख बढी मतदातामध्येबाट ८४ हजार २२ मत अर्थात ५३ दशमलव २८ प्रतिशत मत खसेको छ । सुर्खेतमा दुई लाख बढी मतदाता मध्यबाट एक लाख ५४ हजार दुई सय चार मत अर्थात ६३ दशमलव ३० प्रतिशत मत खसेको छ ।
यसैगरी हुम्लामा ३२ हजार बढी मतदाता मध्यबाट २५ हजार ७४ मत अर्थात ७६ दशमलव ३१ प्रतिशत मत खसेको निर्वाचन आयोगको कार्यालयको प्रारम्भिक तथ्यांक छ । यो तथ्यांकमा सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित सिम्ता बहुमुखी क्याम्पसमा मतदानस्थलमा मंगलबार पुनः भएको मतदान समावेश भएको छैन। यसका डोल्पामा मतपेटिका हेलिकोप्टर मार्फत ढुवानी भईरहेको साथै प्रत्यक्ष तर्फको विवरण आईनसकेको हुँदा समानुपातिक तर्फको विवरणलाई समावेश गरिएको छ ।
सहभागिता कति घट्यो ?
हालको निर्वाचनमा खसेको मत प्रतिशत हेर्ने हो भने कर्णालीका सबै जिल्लामा २०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भन्दा कम मत खसेको देखिन्छ । २०७४ को निर्वाचनमा दैलेखमा ६५ दशमलव ८२ प्रतिशतले मतदान गरेका थिए भने हाल ५९ दशमलव ९५ प्रतिशतले मात्र मतदान गरेका छन् । पाँच दशमलव ८७ प्रतिशतले दैलेखमा मतदाता सहभागिता घटेको देखिन्छ । कालिकोटमा यसअघि ६५ दशमलव ६७ प्रतिशतले मतदान गरेकोमा हाल ५७ दशमलव
८१ प्रतिशत मतदाता निर्वाचनमा सहभागि भएका छन् । जाजरकोटमा ७२ दशमलव ३१ प्रतिशतबाट घटेर ६३ दशमलव ८१ प्रतिशत, जुम्लामा ७० दशमलव २० प्रतिशतबाट घटेर ६५ दशमलव ६५ प्रतिशत, डोल्पामा ८४ दशमलव २६ प्रतिशतबाट घटेर ७८ दशमलव ४६ प्रतिशत, मुगुमा ७८ दशमलव ८१ प्रतिशतबाट घटेर ७४ दशमलव ४९ प्रतिशत मतदाता निर्वाचनमा सहभागि भएका छन् ।
यसैगरी रुकुम पश्चिममा ६५ दशमलव ९८ प्रतिशतबाट घटेर ५८ दशमलव शून्य चार प्रतिशत, सल्यानमा ६२ दशमलव ४१ प्रतिशतबाट घटेर ५३.२८ प्रतिशत, सुर्खेतमा ७० दशमलव ५७ प्रतिशतबाट घटेर ६३ दशमलव ३० प्रतिशत र हुम्लामा ८० दशमलव शून्य आठ प्रतिशतबाट घटेर ७६ दशमलव ३१ प्रतिशत मतदाता निर्वाचनमा सहभागी भएका छन् ।
किन आएनन् मतदाता ?
कर्णालीका लागि अहिलेको समय भनेको चाडपर्व तथा कृषिसम्वन्धी क्रियाकलाप थन्काएर यहाँका नागरिक श्रमबजारमा पुग्ने समय भएकाले पनि मतदानमा सहभागीको संख्या कम देखिएको मध्यपश्चिम विश्वविद्यालयका सह–प्रध्यापक अर्जुन अएडी बताउँछन। ‘अहिले चाडपर्वहरु सकिएका छन्, खेतिपातीको काम टुंगाएर यहाँका नागरिक श्रमहजारमा पुगने समय पनि हो ।’
उनले भने, मतदानमा न्यून सहभागिता रहनुमा गाउँमा मतदाताको उपस्थिति नै नहुनु प्रमुख कारण हुनसक्छ ।’ यसका साथै स्थानीय निर्वाचनका उम्मेद्वारको तुलनामा अहिलेको चुनावमा उम्मेद्वारप्रति आर्कषण कम हुनु, दलीय सक्रियतामा कमी आउनु, ‘फेभर भोट’ बढ्नुलगायतका पक्षले हालको निर्वाचनमा मतदाताको सहभागिता कम रहेको सह–प्राध्यापक अएडीको बुझाई छ ।
‘स्थानीय निर्वाचनमा नजिकको उम्मेद्वार धेरै हुन्छन्, यसमा मतदाता पनि मतदानका लागि बाध्य नै हुन्छन् । यसका साथै मतदाताले उम्मेद्वारसँग व्यक्तिगत एप्रोच पनि खोजेका हुन्छन् । उनले भने, आपूm तथा आफ्नो समुदायसँग महत्व नदेखेपछि मतदातामा मतदानका लागि उत्साह हुँदैन ।’ अर्को पक्ष भनेको राजनैतिक दल तथा उम्मेद्वारले मुद्दामा आधारित एजेण्डा मतदातासामु प्रस्तुत पनि गर्न नसक्नुलाई पनि उनी मुख्य कारक मान्छन् । ‘मतदाताले उम्मेद्वारबाट
आपूmसँग मत मागोस् भन्ने चाहेका हुन्छन् । यसका साथै उनीहरुको व्यक्तिगत तथा सामुदायिक महत्व पनि हुन्छ । यस अवस्थामा उम्मेद्वारहरुलाई मतदातासामु पुग्न समय पनि अभाव भएको हुनसक्छ’ उनले भने, ‘मतदातामा वितृष्णाको भावपनि छ । जसलाई जिताएपनि केहि हुँदैन भन्ने मतदाताको भावले पनि उनिहरुलाई मतदानबाट अलग बनाएको छ ।’
मुख्य रुपमा हालको निर्वाचनमा दल तथा उम्मेद्वारले मतदाता सामु एजेण्डा प्रस्तुत गर्न नसकेको उनको भनाई छ । यसका साथै मतदाताले समेत एजेण्डा हेर्न छाडेको उनले जिकिर गरे । निर्वाचन आयोगले समेत मतदान क्षेत्र बाहिर रहेका नागरिकलाई मतदानको व्यवस्था नगरेकाले मतप्रतिशत कम भएको हुनसक्ने उनको ठम्याई छ ।
यस्ता विविध कारणले मत प्रतिशतमा कमी भएपनि अहिले अवस्थालाई उनले स्वभाविक रुपमा लिन्छन् । उनले भने, ‘६०–६२ प्रतिशत मत ठीकै हो । १५ प्रतिशत मत देश बाहिर नै छ । यस्तो अवस्थामा आगामी निर्वाचनमा भने मत प्रतिशत बढाउन प्रयास गर्नुनै पर्छ ।’





