पालिकासँग भवन माग्दै प्रहरी

हुम्ला,४ पाैष ।
सर्केगार्ड र चङ्खेली गाउँपालिकाको सिमाना सलीसल्लामा अस्थायी प्रहरी चौकी स्थापनाका लागि लामो समययदेखि पहल भए पनि अझै स्थापना हुन सकेको छैन। सो स्थानमा प्रहरी चौकी स्थापनाका लागि प्रहरीको माथिल्लो निकायबाट स्वीकृतसमेत प्राप्त भइसकेको छ।
सो स्थानमा अस्थायी प्रहरी चौकी स्थापनाका लागि भौतिक संरचना नभएकाले समस्या भएको जनाइएको छ। प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले गत मङ्सिर महिनामै सलीसल्लामा अस्थायी प्रहरी चौकी स्थापनाका लागि प्रहरीको क्षेत्रीय कार्यालयबाट स्वीकृत भएर आएको भए पनि हालसम्म स्थापना गर्न नसकिएको बताए । उनले चौकीका लागि आवश्यक भौतिक संरचना निर्माणका लागि बजेट नहुँदा स्वीकृत भएर आएको चौकीलाई स्थापना गर्न नसकिएको बताए ।
यसका लागि प्रहरीले सर्केगार्ड र चङ्खेली गाउँपालिकालाई दुई÷तीनकोठे भवन बनाइदिन अनुरोध गरेको र त्यो नसके हाललाई टहरो बनाइदिन आग्रह गर्दा दुवै गाउँपालिकाले हालसम्म सुनुवाइ नगरेको बताए । उनले सलीसल्लामा प्रहरी चौकी अत्यावश्यक रहेको र संरचनाको अभावमा स्थापना गर्न समस्या भएको बताउनुभयो। उक्त स्थानसम्म कर्णाली कोरिडोर जोडिएकाले बजार विस्तार हुँदै गएको छ।
प्रहरीले हाललाई दुई कोठा मात्र भए पनि दस जना प्रहरी खटाएर शान्तिसुरक्षा प्रदान गर्न सकिने जनाएको छ। प्रहरीले मानिसको बस्ती बाक्लिँदै गएका कारण दैनिकजसो घटना भइरहेपछि अस्थायी प्रहरी चौकी स्थापनाका लागि माथिल्लो निकायमा माग गरिएको जनाएको छ।
गाेरखापत्र

