कामधन्दा सकेर फुर्सदमा पढाइ

सुर्खेत,२४ मंसिर ।
कालीकोटको शुभकालिका गाउँपालिका–७ की शर्मिला विक कक्षा ८ मा पढ्नुहुन्छ। उहाँले पढ्ने विद्यालय र घरको दूरी निकै टाढा छ। विद्यालय पुग्न डेढ घण्टाको बाटो हिँड्नुपर्छ। भीरपाखा छिचोलेर हिँड्नुपर्ने उक्त बाटोमा बीचमा जङ्गल पनि पर्छ। जङ्गली जनावरले आक्रमण गर्ने जोखिम उत्तिकै हुन्छ।
विपन्न परिवारकी उनलाई कापी कलमकै जोहो गर्न कठिन छ। थुप्रै अभाव र अप्ठ्यारासँग सङ्घर्ष गर्दै पढिरहेकी शर्मिला नियमित विद्यालय भने जान पाउन्न। घरायसी काम र मेलापातमा अभिभावकलाई सघाएर बचेको समयमा मात्रै उनि विद्यालय जान्छिन्र । उनि भन्छिन्र , “मैले घरको सबै काम धान्नुपर्छ, घरधन्दाको कामले गर्दा नियमित विद्यालय जान पाइँदैन।”

उनले आफू सबै कामबाट फुर्सद मिलेपछि मात्र विद्यालय जाने गरेको बताइन्र । “सहरबजारका विद्यार्थी पढाइ सकेर फुर्सदमा खेल्छन्। हामीलाई पढ्नकै लागि फुर्सद निकाल्न हम्मेहम्मे पर्छ,” वीरेन्द्रनगरमा आयोजित बालबालिकाका सवाल तथा शिक्षासम्बन्धी एक कार्यक्रममा सहभागी उनले भनिन ।
मुगुको छायानाथ रारा नगरपालिका–१ की सुजाता परियार पनि कक्षा ८ मा अध्ययनरत हुनुहुन्छ। उहाँको घरछेउमै विद्यालय छ तर सुजाता नियमित विद्यालय जान पाउन्न। उनलाई पनि घरायसी कामले पढ्ने समय निकाल्नै मुस्किल छ। विद्यालय गएका दिन पनि सबै विषय पढाइ हुँदैन।
उहाँले पढ्ने राष्ट्रिय मीन माध्यमिक विद्यालयमा विषयगत शिक्षकको अभाव छ। उहाँ भन्नुहुन्छ, “विद्यालय गए पनि पढ्न पाइँदैन, दुई अढाई घण्टा पैदल हिँडेर विद्यालय आउने साथीहरू हप्तामा एक÷दुई दिन मात्र विद्यालय आउँछन्।
” उनि पनि शर्मिलाजस्तै सोही कार्यक्रममा भाग लिन अभिभावकसँगै वीरेन्द्रनगर आएकि हुन्र । सामाजिक विकास मन्त्रालय र गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका बालबालिकाले आफूहरूले भोग्नुपरेका अप्ठ्याराबारे बताएका थिए।
अभिभावकले समेत बालबालिकालाई नियमित विद्यालय पठाउन नसकिएको बताएका छन्। शर्मिलाकी आमा जहरा विकले ज्याला मजदुरी गरेर गुजारा चलाउनुपर्ने भएकाले छोराछोरीलाई चाहेर पनि नियमित पढ्न पठाउन नसकिएको बताइन्र ।
उनले भनिन्र , “अभिभावकको दायित्व पूरा गर्न पनि आर्थिक अवस्था बलियो हुनुपर्ने रहेछ। हामीलाई बिहान बेलुकाको छाक टार्ने पिरलो हुन्छ, बालबच्चालाई राम्रोसँग पढ्ने वातावरण दिनै सकिएको छैन।”
सामान्य लत्ताकपडा र कापी कलम पु¥याउनै नसकिएको उनि बताउछिन्र । घाँस, दाउरा नगरी जनजीविका चलाउन गाह्रो भएकाले विद्यालय नपठाई घरायसी काममा लगाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ।
भौगोलिक विकटताका कारण पनि दुर्गम तथा हिमाली भेगका विद्यार्थीको पढाइमा असर पर्ने गरेको छ। विद्यालय पुग्न धेरै समय लाग्ने हुँदा पढाइमा समय दिन नसकिने र घर व्यवहार, कामको भार तथा पढाइको तालमेल मिलाउन निकै सकस हुने गरेको उनीहरू बताउँछन्।
हिमाली क्षेत्रमा समयमै पाठ्यपुस्तक नपुग्ने समस्या उस्तै छ। हिमाली जिल्लाका सामुदायिक विद्यालयहरूमा दक्ष शिक्षक, भौतिक संरचना र शैक्षिक सामग्रीको अभावले गर्दा शैक्षिक गुणस्तर बढ्न नसकेको बताइन्छ। आफूहरूले सङ्घर्ष गरेर बालबालिकालाई विद्यालय पठाए पनि उनीहरूले गुणस्तरीय शिक्षा पाउन नसकेको अभिभावक चन्द्रबहादुर सुनारले बताए ।
गाेरखापत्र





