भात खाने भनेकै चाडपर्व र विशेष दिनमात्रै हुन्थ्यो

म कालीदेवी धमला । अहिले ९८ वर्षकी भएँ । म दैलेख जिल्लाको लादे भन्ने ठाँउमा जन्मिएकी हुँ । मैले भोगका जीवनका भोगाई र त्यो परिवेशमा हुर्किएकी म अहिलेको परिवेश देख्दा गज्जब भएझै लाग्छ । दुःख के हो ? काम के हो ? परिवार के हो ? र समस्या के हो ?

सायदै त्यो परिवेशमा हुर्किएका हामीलेजत्ति कोहिले भोगेन होला । दैलेख जिल्लामा जन्मिएकी म त्यसैमा पनि छोरी मान्छे । कामको जिम्मा, भाईबहिनीको जिम्मा, खेतीमा परिवारलाई सघाउने र भान्साकासम्म काम गर्नुपर्ने थियो ।

भालेको डाकोसंगै जूनको उज्यालोलाई पछ् याउदै उठेर शुरुमै चुलोमा आगो बाल्नुपर्ने परम्परा थियो । आगो बालिसके पछि गाईवस्तु सार्ने काम हुन्थ्यो । गाईवस्तुलाई घाँसपात हालिसकेपछि दाउराको खलियोबाट अंगालोभरी दाउरा लिएर भान्सा भित्र जानुपरथ्र्यो । माटो, ढुगांको घरको भित्ता र खर अनि स्याउलाले बारेको छानो भएको घरमा माटोको चुलो हुन्थ्यो ।

काठको घर, तर गाउँका घरहरु दुई तलाका हुन्थे, माथि परिवार बस्ने तल गाईवस्तु बाँध्ने । राति कोहि आउँछन् कि भनेर, खेतीबाली कुर्नका लागि, बाँदर धपाउनका लागि कुकुर सबैले पाल्ने गर्थे घरमा । खाना पकाउँदै गर्दापनि भान्साभरी धुँवा भरिएको र आँखामा धुँवाले पोलेर आएको आँशु पुछ्दै खाना पकाउने गर्थिम हामी स्वास्नी, छोरी ।

भान्सामा पसेपछि पहिलो काम परिवार सबैका लागि मकै अनि कोदोको रोटी पकाउने, भए गोलभेंडाको अचार नभए लसुन पोलेर नुन र खुर्सानी पिसेर तयारी अवस्थामा राख्थिम् । ठेकीबाट डाडुले काटेर दहि निकालेर दहि खानेका लागि दहि, महि खानेका लागि महि, तयार पार्ने काम हामी महिलाकै हुन्थ्यो ।

पानीको पनि त्यत्तिकै समस्या । पानी लिनका लागि घण्टौ लाएर उकाली ओराली गर्दै साथीसंगी संग जानुपर्ने हुन्थ्यो । घरदेखि टाढा पानीको मुहानमा गएर पालो कुरेर पानी ल्याउनुपर्ने । खाना खाएर लोग्ने मान्छे केहि काम, किनमेलका लागि बजार अथवा सदरमुकामसम्म जाने र महिलाले खाना खाएर खरानीले भाँडा टल्किने गरी माझेर घाममा सुकाउँथिम् ।

 

फुली, बुलाखी, ढुंग्रीं, मडरी, चाँदीका बाला, नौगेडी, कम्पनी माला (पैसाको माला) लगायतका गहना लगाउँथिम् । अनि कोहि खेतबारी त कोहि गाईवस्तु चर ा उ न जंगलतिर लाग्थे । जंगलमा गाईवस्तु लिएर वन चराउन जाँदा पुराना भाकाका गीत गाउने गर्थिम् । गुन्यो चोली लाउने परम्परा थियो हाम्रो त्यो समयमा ।

पुरुषले दौरा सुरुवाल, भोटो कछाड, जामा लाउने महिलाले चोलो, धोति । चाडपर्व आउन केहि महिना पहिले बुवा र दाजुहरु हाट जाने गर्थे । महिनौ लगाएर हाटबाट वर्षभरी र चाडपर्वमा चाहिने सामान लत्ताकपडाहरु ंल्याउने गरिन्थ्यो । मेरो बुवा हाट जाँदा घरको काम राम्रोसंग ग¥र्यै है म मिठाई ल्याइदिउँला भनेर अझै सम्झना आउने गर्छ ।

मेरो जन्म यस्तो समयमा भयो कि बाआमाले पूण्य कमाउँछन् भनेर छोरीलाई १० वर्षकै उमेरमा अर्काको घर दिने । तरपनि बुवालाई मनाएर मैले करिब २० वर्ष पुगेर मात्रै विवाह गरेकी हुँ । मेरो संगीसाथीले त १२ वर्षमै अर्काको घरमा गएका थिए । मैले २० वर्षमा विवाह गरेपनि मेरो श्रीमानले भारतीय सेनामा जागिर खाएकाले मलाई त्यति दुःख भने भएन ।

मैले विवाह पछि भारतमै मैले तीन छोरा र तीन छोरी गरेर ६ सन्तानलाई जन्म दिएँ । त्यसपछि करिब २०५० सालमा मात्रै म सुर्खेतमा घर बनाएर स्थापित भएर बसेकी हँु। खासै घरहरु थिएनन् । प्रशस्त खेतीका लागि जग्गा थिए, धानचामल किन्नु पर्दैन थियो ।

त्योबेला भात खाने भनेकै चाडपर्व र विशेष दिनमात्रै हुन्थ्यो । अघिपछि भनेको रोटीनै हुन्थ्यो खाने सबैले । मेरो भाग्य ठीकै थियो र दुःख भएन । तर मेरा साथीसंगी दुः ख गरेर बसेका छन् । छोराकै लागि १० भन्दा बढि छोरी पाएका छन् ।

छोरा मान्छे नै हाम्रो भगवान हुन उनीहरुलाई खुशी बनाउनु पर्छ, भनेको मान्नुपर्छ घरमा जे काम भने गर्नुपर्छ भन्ने परम्परा भएको समयमा म जन्मिएको हो । छोरी मान्छे पढ्ने भन्ने त कसैको पनि मनासयनै हुँदैन थियो । मैले नपढ्नुमा मेरा बुवाआमाको दोष होइन त्यो परिवेशको दोष हो, त्यो समयको दोष हो । प्रस्तुती : सृजना बुढाथोकी

तपाईको प्रतिक्रिया