घुमफिर : सरर मोटरसाइकलमा दुनै–फोक्सुन्डो ताल

तेजेन्द्र रावल/सुर्खेत
फोक्सुण्डो–घ्यामघार ओडार असोज ११ गते रिग्मो बाट शे गुम्बाको लागि टोली अगाडि बढ्यो । थाहा थियो एकै दिनमा शे पुग्न सकिदैन थियो, त्यसले त्यो साँझकतै बीचमा बस्नुपर्ने भन्ने जानकारीमा आयो । बिहानै साथी मनबहादुर दुनैको बाटोतिर एक्लै तल ओर्लियो भने बाँकी ९ जनाले चिया सातु खाएर तालको छेउछेउ हुँदै उकालो चढ्यौ ।

हामीले अघिल्लो दिन ताल राम्रोसंग हेर्न नपाएकोले फोटो खिच्दै ताल हेर्दै थिन्लेको चौरी लडी तालमा खसेको ठाउँमा टक्क पाइला रोकिए, बाटो उस्तै थियो, काठको चेपा दिएर त्यसमाथि ढुङ्गा बिछ् याइएको, त्यै माथि हिड्नुपर्ने, दाँयाबाँया भए सिधै तालमा । रिग्मो गाउँमा अलिअलि सोलार बाहेक अरु हुने कुरा भएन, प्रत्येक घरधुरीले सायद एक पाउ यार्सा छुट्टयाएको भए तालको छालबाट समेत विद्युत निकाल्न सकिन्थ्यो होला, सिरसिर चल्ने हावाले केवल गाला र ओठ मात्रै फुटाऊथेन होला, करेन्ट पनि पैदा गर्थ्यो ।

हेलिमा सिमेन्ट ओसारेर पूर्वाधार विकास गर्न तम्सेका डोल्पाली जनताको मौनता हजारौ प्रश्नहरुको उत्तर थियो । हिजोपनि दुनैबाट सिधै फोक्सुण्डो पुगेकाले खुट्टालाई धेरै तनाव दिने पक्षमा म थिएन । एकदमै बिस्तारै सबैभन्दा पछाडि उकालो चढे, उकालोमा बनेको प्रतिक्षालय नजिकै सबैले आराम गर्यौ र अगाडि बढ्यौ । त्यो दिनको व्यवस्था कस्तो थियो भनेर भन्दा; हामीलाई त्यो साँझ र भोलि बिहानसम्मको खाना/सामलको व्यवस्था रिग्मोबाटै भएको रहेछ, हामी रिग्मोमा जुन होटेलमा बसेको थियौ सोहि होटेलकै रिञ्जेन दाईले हामीलाई चाहिने सबै सामान (सुत्ने समते) २ ओटा घोडामा बोकाएर बिहान खाना खाने ठाउँ अर्थात् तालको माथिल्लो छेउ छल्लोफोगुमा हामीलाई भेट्टाउनु भयो ।

हाम्रो लागि बिहानको खाना पनि उहाँले नै छल्लोफोगुमा रहेको पालमा÷टेन्ट (लेकमा चौरी÷भेडा च्यांग्रा हेर्ने) अर्डर गरिसक्नुभएको रहेछ । हामी बिहानको करिब १० बजे त्यहाँ पुगिसकेका थियौ। पालकी दिदिले तरकारी पकाउँदै हुनुहुन्थ्यो, हामीले चिया तातोपानी खाँदै ताल छेउमा फोटोहरु खिचियो । तालछेउ फोटो खिच्ने क्रममा पानीको छालले लस्करै लाएको मरेका सलह किरा देखियो । सलह यहाँसम्म पनि पुगेछ भनेर चर्चा भयो । मैले पुग्नेबित्तिकै चिसो पानी, तातो चिया अनि तातो पानी खाइदिएको, पेटलाई काण्ड पुगियो । खाना रुचेन अलि दाल पिएर चौरमा पल्टिन निस्किए ।

मलाई जस्तै सिर्जना बहिनीलाई पनि सार्है गार्हो भैरहेको रहेछ । साथीहरुले टोली प्रमुख शेर दाईबाट खाना खानु अघि लौरो चलाउने आत्मरक्षा कला सिके । मैले ५४०० मिटरमा पुगेपछि दिने हिउँचितुवा पोजको अभ्यास गरे । खाना खाएर करिब सवा १२ बजेतिर अगाडि बढियो । बाटो तेर्सै तेर्सो भएकोले खुट्टा हर्षित थिए । केहिबेर हिडीसकेपछि देखियो काञ्जिरोवा हिम शृंखला, रमाउँदै फोटो खिच्दै टोली ४ नबज्दै बास बस्ने ठाउमा पुग्यो; घ्यामघार अर्थात् सेतो ढुङ्गा ओडार(गुफा), हामी अझै ३ घण्टा हिंड्न सक्ने हुँदा हुँदैपनि अगाडि बस्ने ठाउँ नभएर यतै बस्नुपर्ने भयो ।

ओडार ७ तारे होटललाई उछिन्दै मिलियन स्टारमा परिणत भयो किनकि त्यहाँबाट सिंगो आकाश देखिन्थ्यो, काञ्जिरोवा हिमाल देखिन्थ्यो, सुत्न मिले डबल डिलक्स कोठाहरुको पनि व्यवस्था नभएको होइन । सबै मिलेर सुकेका प्राय भोजपत्रका दाउरा संकलन गर्यौ र रिञ्जेन दाईले मीठो कफी खुवाउनुभयो । कफी, चाउचाउको सुप, आलु पोलेर/उसिनेर खाँदै हाम्रो सांगीतिक साँझको आरम्भ मैबाट भयो । जीवनमा जाने जातिका सबै गीत गाइयो, दोहोरि खेलियो, खुबै रमाइलो भयो ।

मीठो दाल भात तरकारी खाएर आगो ताप्दै बस्यौ । करन भाई र बिपना बहिनीको दोहोरीलाई उत्कृष्ट घोषणा गर्दै रुकुमेली वन प्राविधिक समाजले करन भाइलाई सम्मान गर्यो । रिटायर्ड भएपछि बोहरा फुटबल क्लबको कोच हुने अभिलाषाका साथ रातभरी सुत्न नै सकिएन । १२ बज्दा पनि दोहोरी नसकिएपछि टोली प्रमुखले हस्तक्षेप नै गर्नु परेको थियो । कोहि सुत्दै आगो ताप्दै गर्दै थिए, कोहि ३ बजे आलु पोलेर खाँदै थिए, ओडारमा हामी सबै लस्करै सुतेका थियौ । जीवनकै एक ऐतिहासिक क्षण ।

तपाईको प्रतिक्रिया