६१ वर्षीय रिमबहादुर खड्का कक्षा ५ मा अध्ययन गर्दै

दाङ,२४ असार ।
कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन् । अरु विद्यार्थी सरह उनको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ । दाङको बबई गाउँपालिका–५ स्थित जनज्योति आधारभूत विद्यालयको कक्षा ५ मा दिनहुँ देखिने दृश्य हो यो । उक्त दृश्यले हिजोआज सबैलाई आश्चार्यचकित बनाएको छ । यसले सबैलाई खुसी तुल्याएको छ ।
बबई गाउँपालिका–५ सिमगैराका ६१ वर्षीय रिमबहादुर खड्का कक्षा ५ मा अध्ययन गर्दैछन् । पढ्न उमेरले छेक्दैन भन्ने चरितार्थ उनले सत्य सावित गरिदिए । रिमबहादुर सानोमा विद्यालय जान पाएका थिएनन्। विद्यालय जाने उमेरमा उनलाई घरको कामले फुर्सद भएन। कक्षा १ पनि नपढेका रिमबहादुर यस वर्ष सोझै कक्षा ५ मा भर्ना भएर नियमित विद्यालय गइरहेका छन् ।

‘मैले सानोमा पढ्न पाइनँ, म घरको जेठो छोरा हुँ, घरकै काममा व्यस्त हुनुप¥यो। बाल्यकालमा पढ्न नपाए पनि विद्यालय जाने ठूलो धोको थियो, त्यही धोको पूरा गर्न अहिले पढ्न थालेको छु,’ उनले भने । आर्थिक अवस्था कमजोर भएकाले बाल्यकालमा विद्यालय गएर पढ्न नपाएको रिमबहादुरले बताए। ‘अरु भाइहरूलाई पढाउनमै व्यस्त रहे, घरको कामबाट कहिल्यै छुटकारा पाइएन’, उनले भने ।
रिमबहादुर यही असार १४ गते विद्यालय भर्ना भए। त्यसयता उनी नियमितरुपमा विद्यालय गइरहेका छन्। उनले बिहान र बेलुकाको समयमा घरको काम गर्छन् । घरमा धेरै काम हुन्छ, तर त्यो सबै बिहानै सक्छु। दिउँसोको सम्पूर्ण समय पढाइलाई दिने गरेको छु,’ उनले भने ।
आर्थिक अवस्था कमजोर भएकै कारण उनी रोजगारको सिलसिलामा भारत जानुपर्ने अवस्था आयो । भारतमा बिहान र रातिको समय व्यवस्थापन गरी वर्णमाला सिकेपछि नाम लेख्न सक्ने भएको उनले बताए । रिमबहादुरको अब कक्षा १० सम्म पढ्ने धोको छ । ‘उमेरले पढ्न छेक्दो रहेनछ। त्यसैले नाति–नातिना उमेरका बाबुनानीहरूसँग पढ्न थालेको हुँ,’ उनले भने । रिमबहादुर बुढेसकालमा विद्यालय गएर पढ्न थालेकामा ६१ वर्षीया श्रीमती लालमती खड्का पनि खुसी छिन् ।
श्रीमानको पढ्ने इच्छामा सहयोग गर्ने उनले बताइन्। ‘पढ्ने इच्छा पहिल्यैदेखिको हो, यसमा म सहयोग गर्छु, दिउँसो घरको काम म आफैँ गर्छु’, उनले भनिन् । श्रीमान् विद्यालय गएको देख्दा आफूलाई पनि पढ्ने इच्छा जागेको उनले बताइन्। रिमबहादुर कक्षामा छँदा बालबालिकाले हो–हल्ला पनि कम गर्ने गरेको विद्यालयका शिक्षकहरू बताउँछन् ।
प्रधानाध्यापक कुम्भकर्ण खत्रीका अनुसार रिमबहादुर पढ्न आउँदा सुरुमा सबैलाई अनौठो लागेको थियो । ‘यो उमेरमा पढ्न आउँदा हामी सबै खुसी छौँ’, उनले भने ।शिक्षकहरूलाई सुरुमा रिमबहादुर आउँदा पढाउन अप्ठ्यारो लागेको खत्रीले बताए । अहिले विस्तारै बानी परेका छन् । ‘रिमबहादुर नातामा दाइ पर्नुहुन्छ, त्यसैले सुरुमा अप्ठ्यारो लाग्यो। अहिले बानी परेका छौँ, अप्ठ्यारो लाग्न छोडेको छ,’ प्रअ खत्रीले भने ।
रासस





