जीडीपीमा कृषि क्षेत्रको सबैभन्दा धेरै योगदान, अन्य क्षेत्रबाट कति?

चालू आर्थिक वर्ष २०७८/०७९ को कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको रहेको केन्द्रीय तथ्यांक विभागको तथ्यांकले देखाएको छ।

चालू आवमा कृषि क्षेत्रको हिस्सा २३.९५ प्रतिशत रहेको अनुमान छ। यद्यपि यो गत आवको तुलनामा कम हो। गत आवमा २४.९ प्रतिशत रहेको थियो। यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर २.३ प्रतिशत रहने प्रारम्भिक अनुमान छ।

खासगरी धानको उत्पादनमा ह्रास आएका कारण यस क्षेत्रको वृद्धिमा कमी आउने अनुमान विभागले गरेको हो।

खानी तथा उत्खनन
चालू आवको जीडीपीमा खानी तथा उत्खनन क्षेत्रले शून्य दशमलव ५८ प्रतिशत योगदान गरेको विभागले जनाएको छ। चालू आवमा यस क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ८.१५ प्रतिशतले बढ्ने अनुमान छ।

उद्योग
जीडीपीमा चालू आवमा उद्योग क्षेत्रले ५.६५ प्रतिशत योगदान दिएको छ। विभागका अनुसार यस क्षेत्रको यस वर्षको कुल मूल्यअभिवृद्धि ६.१४ प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान छ।

त्यस्तै विद्युत् ग्यास वाष्प तथा वातानुकूलित आपूर्ति सेवा क्षेत्रले जीडीपीमा १.३७ प्रतिशत योगदान गरेको छ। यस क्षेत्रमा यो आवमा ३६.६७ प्रतिशतले कुल मूल्य अभिवृद्धि हुने विभागको अनुमानछ।

त्यसैगरी पानी आपूर्ति ढल, फोहोर व्यवस्थापन तथा पुनरुत्पादनका क्रियाकलापबाट चालू आवमा जीडीपीमा शून्य दशमलव ५१ प्रतिशत योगदान मिलेको छ। यस क्षेत्रको कुल मूल्यअभिवृद्धि शून्य दशमलव ७२ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ।

निर्माण क्षेत्रले यो वर्ष जीडीपीमा ६.१७ प्रतिशत योगदान दिएको छ। यस क्षेत्रको यो वर्षको कुल मूल्यअभिवृद्धि ९.५१ प्रतिशतले बढ्ने अनुमान छ। कोभिडको कारण निर्माणाधीन आयोजनामा विश्वबजारबाट उपकरण लगायत सामग्रीको आपूर्तिमा आएको अवरोध हटेको तथा निर्माण सामग्रीको आयात तथा उत्पादन समेत बढेकोले मूल्य अभिवृद्धि हुने अनुमान गरिएको हो।

यस्तै, थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा क्षेत्रले जीडीपीमा १६.४० प्रतिशत योगदान दिएको विभागले जनाएको छ। यस क्षेको मूल्यअभिवृद्धि ९.१२ प्रतिशतले बढ्ने अनुमान छ। आपूर्ति प्रणालीमा आएको सुधारले मूल्यअभिवृद्धिमा सकारात्मक असर गरेको विभागको भनाइ छ।

त्यस्तै यातायात तथा भण्डारण क्षेत्रले जीडीपीमा ५.९८ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको विभागले जनाएको छ। यो वर्ष यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा ४.५४ प्रतिशतले वृद्धि हुने अनुमान छ।

आवास तथा भोजन सेवा क्षेत्रले यो वर्ष जीडीपीमा १.६५ प्रतिशत योगदान गरेको छ। यस क्षेत्रको कुल मूल्य अभिवृद्धि गत वर्षभन्दा यो वर्ष ११.४२ प्रतिशतले बढ्ने अनुमान छ।

सूचना तथा सञ्चार क्षेत्रले यो वर्ष जीडीपीमा २.०९ प्रतिशत योगदान गर्दा वित्तीय मध्यस्थता क्षेत्रबाट ६.८६ प्रतिशत योगदान मिलेको छ।

त्यस्तै घरजग्गा कारोबारको सेवा क्षेत्रबाट जीडीपीमा ८.७९ प्रतिशत योगदान मिलेको प्रारम्भिक अनुमान गरिएको छ। यसअन्तर्गत जग्गा खरिदबिक्री, भाडामा लगाउनेलगायतका कारोबारका सेवा दिनेलगायत पर्छन्।

यता पेसागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप क्षेत्रबाट जीडीपीमा ०.९९ प्रतिशत योगदान मिलेको छ भने प्रशासनिक तथा सहयोगी सेवाका क्रियाकलापबाट शून्य दशमलव ७८ प्रतिशत योगदान मिलेको छ। त्यसतै सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रले यो वर्ष जीडीपीमा ७.७३ प्रतिशत योगदान गरेको छ।

शिक्षा क्षेत्रले ८.१ प्रतिशत योगदान गर्दा स्वास्थ्य तथा सामाजिक कार्यबाटठ १.७९ प्रतिशत योगदान मिलेको छ।

अन्य सेवाका क्रियाकलापहरुबाट जीडीपीमा शून्य दशमलव ६१ प्रतिशत योगदान मिलेको छ।

नेपालको कुल गार्हस्थ्य उत्पादन अर्थात् जीडीपी चालू मूल्यअनुसार ७३ खर्ब ५६ अर्ब ६१ करोड रहेको छ। त्यस्तै चालू मूल्यअनुसार कुल मध्यवर्ती उपभोग उपभोक्ताको मूल्यमा ३२ खर्ब ५१ अर्ब ६ करोड रहेको विभागले जनाएको छ।

चालू मूल्यअनुसार जीडीपी आधारभूत मूल्यमा ४१ खर्ब ५ अर्ब ५४ करोड रहेको छ भने उपभोक्ता मूल्यमा ४८ खर्ब ५१ अर्ब ६३ करोड रहेको छ।

चालू मूल्यमा कुल स्थिर पुँजी निर्माण १४ खर्ब २५ अर्ब ८ करोड (जीडीपीको २९.३७ प्रतिशत) रहेको छ। चालू मूल्यमा अन्तिम उपभोग खर्च ४४ खर्ब १ अर्ब ६७ करोड (जीडीपीको ९०.७३ प्रतिशत) रहेको छ।

चालू मूल्यमा वस्तु तथा सेवा निर्यात ३ खर्ब २० अर्ब ७१ करोड अर्थात् जीडीपीको ६.६१ प्रतिशत रहेको छ।

तपाईको प्रतिक्रिया