दुई सातामै पुनःनिर्माण भयो विद्यालय भवन

पुनम वि.सी.
सुर्खेत, १९ असार ।
वीरेन्द्रनगर–१६ स्थित सरस्वती प्राथमिक विद्यालयको भवन पुनःनिर्माण भएको छ । विद्यालयको भवन पुनःनिर्माणका लागि विद्यालयलाई एनएमबि बैंकले सहयोग गरेको हो । गत जेठ ६ गते आएको हावाहुरीले सरस्वती प्राथमिक विद्यालयमा जस्ताको छाना उडाएपछि विद्यार्थी एकै कोठामा फरक–फरक कक्षा अध्ययन गर्न बाध्य थिए ।

गत जेष्ठ २७ गते उक्त विद्यालयको अवस्थाका विषयमा यस युगआह्वान राष्ट्रिय दैनिकमा ‘हावाहुरीले विद्यालयमा क्षति, मर्मत स्रोत खोज्दै नगरपालिका’ शीर्षकमा समाचार प्रकाशित समेत भएको थियो । विद्यालय भवन पुनःनिर्माणका लागि विद्यायलयको व्यवस्थापन समिति सहयोग खोज्दै भौतारिएको थियो ।

स्थानीय तह लगायतसँग विद्यालयले सहयोगको अपेक्षा गरेको थियो । तर समयमा नै विद्यालयको भवन पुनःनिर्माणका लागि कहिकतैबाट सहयोग नपाएपछि विद्यालय व्यवस्थापन समिति निरास अवस्थामा पुगेको थियो ।

हावाहुरीले भत्काएकाे विधालय भवन

विद्यालयका प्रध्यानाध्यापक खड्कबहादुर खड्काले भने, ‘विद्यालयको छाना उडाएपछि हामी एकै कोठामा फरक–फरक कक्षाका विद्यार्थीलाई पढाउन बाध्य थियौँ । सहयोगका लागि स्थानीय तह लगायतसँग अनुरोध पनि गरेका थियौँ ।

चालु आर्थिक वर्ष २०७८/०७९ को अन्तिम समय रहेकाले स्थानीय तहले विद्यालयलाई तत्काल सहयोग गर्न सक्नुभएको थिएन । यस विचमा एनएमबि बैंकले सहयोग गरेपछि विद्यालय परिवार उहाँहरुलाई धन्यवाद दिन चाहन्छ ।’

विद्यालयको मुख्य अभिभावक रहेको वीरेन्द्रनगर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले तत्काल नै उक्त विद्यालयमा भवन पुनःनिर्माणको काम अघि बढाउन सकेको थिएन । चालु आर्थिक वर्ष २०७८/०७९ को अन्तिम समय भएकाले पनि नगरपालिकासँग विद्यालय पुनःनिर्माणका लागि बजेट अभाव नै रह्यो । यस विच नगर कार्यपालिकाको पहिलो वैठकले वीरेन्द्रनगरमा हावाहुरीका कारण क्षति पुगेका विद्यालयहरुको पुनःनिर्माणका लागि स्रोतको खोजी गर्ने समेत निर्णय गरेको थियो ।

चार वटा कोठा रहेको विद्यालय भवनको ‘धुरीबला’ जहित पुरै जस्तापाता नै हावाहुरीले उडाएको थियो । यसका साथै भवनको भित्तामा समेत क्षति पुगेको थियो । २०५४–०५५ सालमा निर्माण भएको उक्त भवन पटक पटक पुनः निर्माण भएको समेत थियो । यस यसपालि भने एनएमबि बैंकको प्राविधिकसहितको टोलीले विद्यालयको स्थलगत निरिक्षण गरी पुनःनिर्माण गर्न सकिने जनाएपछि भवन निर्माण प्रक्रिया अघि बढेको थियो ।

बेैंकका क्षेत्रीय प्रवन्धक मित्रराज प्याकुरेलले भने, ‘हावाहुरीका कारण भवनमा पुगेको क्षति अध्ययन गरी हामीले पुनःनिर्माणको काम अघि बढाएका थियौँ । असारको पहिलो सातादेखि नै पुनःनिर्माणको काम सुरु भएको थियो । करिव दुई सातामा विद्यालय भवन पुनःनिर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेका छौँ ।’

फोटो क्याप्सन : वीरेन्द्रनगर–१६ स्थित सरस्वती प्राथमिक विद्यालयको भवन, पहिले र अहिले ।

स्थानीय स्तरमा पुनःनिर्माणका लागि सामाग्री नपाउने भएकाले पनि पुनःनिर्माणका ढिलाई भएको प्याकुरेलको भनाई छ । उनले भने, ‘बालुवा गिट्टी लगायतका सामाग्री सबै यतैबाट लैजानुपर्ने भएकाले पनि पुनःनिर्माणमा दुई साता लाग्यो । नत्र अझै चाडो हुने थियो ।’

हावाहुरीले क्षति पु¥याउँदा विद्यालयको पठनपाठनमा अवरोध पुगेपछि बैंक र विद्यालयविच राजनीतिज्ञ तथा व्यवसायी उपेन्द्र खड्काले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । बैंकलाई विद्यालयको पुनःनिर्माणका प्रेरित गर्ने र विद्यालयलाई सहयोग आउन सक्ने स्रोतको बारेमा खड्काले नै जानकारी दिएका थिए ।

शिक्षा क्षेत्रमा वीरेन्द्रनगरको ४५ करोड बजेट
वैशाख र जेठमा आएको हावाहुरीका कारण वीरेन्द्रनगरका धेरै विद्यालयका क्षति पुगेको छ । नगर भित्रका करिव एक दर्जन विद्यालयमा हावाहुरीले क्षति पु¥याएको वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखाको तथ्यांक छ ।

क्षतिग्रत विद्यालयको पुनःनिर्माण तथा वीरेन्द्रनगरलाई प्रादेशिक शैक्षिक हव निर्माण गर्ने उद्देश्यले वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ४५ करोड बढी बजेट विनियोजन गरेको छ ।

शिक्षामा क्षेत्रमा सशर्त ४० करोड ५८ लाख र आन्तरिक श्रोततर्फ चार करोड ३३ लाख ५० हजार गरी आगामी आर्थिक बर्षका लागि जम्मा ४४ करोड ९१ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको नगर उपप्रमुख निलकण्ठ खनालले बताए ।

आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि वीरेन्द्रनगरले कुल एक अर्व ९४ करोड ११ लाख १२ हजार पाँच सय रुपैयाँको बजेट ल्याएको थियो । नगरपालिकाको शैक्षिक योजनासहित प्रादेशिक शैक्षिक हवको गन्तब्य बन्ने आधार तयार गर्ने उद्देश्यका साथ वीरेन्द्नगर नगरपालिका अघि बढेको बताइएको छ ।

आगामी आर्थिक वर्षका लागि विनियोजित गरिएको बजेटले गुणस्तरीय विद्यालय शिक्षामा सवै बाल बालिकाहरुको समतामुलक पहुंच सुनिश्चीत गर्ने नगरपालिकाको विश्वास छ । त्यसैगरी वीरेन्द्रनगर नगरपालिकालाई उत्कृष्ट शैक्षिक केन्द्र बनाउने योजनाका साथ १० बर्षे शिक्षा क्षेत्र योजना (ईएसपी) स्वीकृत गरी आगामी आर्थिक बर्षदेखि उक्त योजनाका आधारमा शिक्षासम्बन्धी कार्यक्रम क्रमशः सञ्चालनका लागि बजेट विनियोजन गरिएको उपप्रमुख खनालले बताए ।

यसका साथै ‘म बनाउछु, मेरो शैक्षिक हव’ विकास कोष खडा गरी प्रभावकारी रुपमा शैक्षिक गतिविधि संचालन तथा कोष व्यवस्थापन गर्न नगरपालिकाको तर्फबाट १० लाख रुपैयाँको शिक्षा विकास कोष स्थापना गरिने भएको छ । यसका लागि आगामी आर्थिक बर्षका लागि समेत बजेट विनियोजन भईसकेको छ ।

बालविकास शिक्षक, विद्यालय सहायक, सहयोगी र सामुदायिक सिकाइ केन्द्रका परिचालकहरुको मनोबल उच्च बनाउँदै आफ्नो कामप्रति पूर्ण बफादार बनाई राख्न उनीहरुले खाइपाई आएको साविकको तलब मानमा बृद्धि गरी १५ हजार पु¥याइएको छ ।

सबै माध्यमिक विद्यालयहरुलाई इन्टरनेटको सुविधा प्रयोगलाई नगरपालिकाले अनिवार्य समेत गरेको छ । विद्यालयमा उपयुक्त प्रविधिको माध्यबाट इन्टरनेट पहुँच विस्तारको लागि आवश्यक बजेट विनियोजन गरिएको नगर उपप्रमुख खनालले बताए ।

त्यसैगरी नगर क्षेत्रमा रहेका विद्यालयका कच्ची र जीर्ण टिन विस्थापित गरी प्रदेश सरकारको साझेदारीमा प्राथमिकताको आधारमा विद्यालयको समेत छाना सुधार गर्न ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

विद्यालयमा चार कोठे भवन बनाउँदै प्रदेश सरकार
कर्णाली प्रदेश सरकाले समेत विद्यालयहरुमा भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ । लेकवेशी नगरपालिका–१० स्थित चन्द्रज्योति माध्यमिक विद्यालय, चन्द्रपुरमा चार कोठे विद्यालयलय भवन निर्माणका लागि ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

सिम्ता गाउँपालिका–६ स्थित बागेश्वरी माध्यमिक विद्यालय, चिंगाड गाउँपालिका–६ भोर्जेनी स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा चार कोठे भवन निर्माणका लागि प्रदेश सरकारले प्रति विद्यालय ४०/४० लाख रुपैयाँ विनियोजन गरेको छ ।

त्यसैगरी गुर्भाकोट नगरपालिका कोप्चीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालयमा समेत ४०÷४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । भेरीगंगा नगरपालिका स्थित जनज्योति माध्यमिक विद्यालयका लागि भवन निर्माणतर्फ ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको कर्णाली प्रदेशका आर्थिक मामिला तथा याोजना मन्त्री विन्दमान विष्टले जानकारी दिए ।

दुई सातामै पुनःनिर्माण भयो विद्यालय भवन

सुर्खेत उपत्यका विपद्को उच्च जोखिम

दुई सातामै पुनःनिर्माण भयो विद्यालय भवन

“मेहनत गरे सफलता हात पर्दो रहेछ”

Leave a comment

Your email address will not be published. Required fields are marked *