पहिलो भेटमै मन परयो

खगेन्द्र पौडेल/भिमा आचार्य

जीवनमा धेरै जनासँग भेट हुन्छ । तर कसैसँगको भेट भने बहुमूल्य हुन्छ । अर्थात एक पटक भेट भएको मान्छे जीवनभर सँगै जीउने साथी पनि बन्छ । यस्तै भयो सुर्खेतका खगेन्द्र पौ८ेल र भिमा आचार्यको जीवनमा पनि । दुबै जना फरक फरक संस्थामा काम गर्थे । तर एकदिन फिल्डमा गएको बेला उनीहरुको भेट भयो । अनि चिनजान भयो । चिनजानपछि एकअर्काले मन पराए । अनि प्रेम गरे। त्यसपछि बिवाह पनि भयो। प्रस्तुत छ, यो जोडीसँग गरिएको कुराकानीको साराशं :

जागिरको क्रममा चिनजान
खगेन्द्र सुर्खेतमा रहेको वातावरण संस्थामा काम गर्दै थिए । उनी एकदिन फिल्डमा काम गर्न गए । त्यसक्रममा एक जना केटीसँग भेट भयो । उनी थिइन् भिमा आचार्य । उनी पनि बौद्ध ग्रामीण सहकारीमा काम गर्थिन् । दुबै जनाको पहिलो भेट भएपछि परिचय भयो । परिचय हुनेक्रममा नै उनीहरु दुबै जना एकअर्काप्रति आकर्षित भए ।

खगेन्द्रलाई भिमाको बोल्ने शैली मन परेको थियो । भिमा पनि खगेन्द्रको व्यवहारले गर्दा आकर्षित भइन् । पहिलो दिन उनीहरुको धेरै कुराकानी भएन । चिनजान मात्र भयो । पहिलो भेटमा खगेन्द्रले उनलाई बोलाएका थिए । त्यो भेट उनीहरुको लागि ऐतिहासिक थियो ।

फेसबुकमा साथी बने
चिनजान भएको बेलुकी घरमा पुगेर खगेन्द्रले भिमालाई फेसबुकमा खोजे । साथी बन्न अनुरोध पठाए । अनि दुबैले फेसबुकमा कुराकानी शुरु गरे । शुरुको दिनमा धेरै कुराकानी भएन। एकअर्काको पारिवारिक जानकारी लिने बाहेक अरु कुराकानी भएन ।

अनि नियमित कुराकानी बढ्दै गयो । दुबै जनाले भेट्दा, टेलिफोनमा र फेसबुकमा नियमित कुराकानी गरिरहन्थे । कुराकानी नभएको दिनमा केही नरमाइलो अनुभव हुन्थ्यो । खगेन्द्रले शुरुको दिनमा नै भिमालाई मन पराइ सकेका रहेछन् ।

अनि माया बस्यो
कुराकानी बढ्दै गयो । एउटै फिल्डमा काम गर्ने दुबैजना भएकाले पनि एकअर्काको कामलाई सम्मान गर्थे । उनीहरु भन्छन्, ‘कुराकानी नभएको दिनमा त के के बिर्सिएको जस्तो हुन्थ्यो, कहाँ के गरिरहेको होला भन्ने लाग्थ्यो । कहिले रमाइलो भएको दिनमा धेरै याद आउँथ्यो ।’ दुबैले मायामा परेको अनुभुति गर्न थाले ।

जब फुर्सद हुन्थ्यो, उनीहरु कुराकानी गर्न शुरु गरिहाल्थे । खगेन्द्रले एकदिन आफुले मन पराएको कुरा भन्ने सोच बनाए । दुबै जनाले भेट गर्ने सल्लाह फोनबाट गरे । भेटमा खगेन्द्रले आफुले मन पराएको र घर बसाउन चाहेको कुरा गरे । तर भिमाले केही जवाफ दिन सकिनन् । डराएको अनुभव गरिन् । जवाफ सुन्न आत्तुर भएका खगेन्द्रले भने जवाफ नै सुन्न नपाइ फर्किए ।

बेलुकी फोनमा कुराकानी भयो । खगेन्द्रले दिउँसोको कुरा सम्झाए । भिमाले बल्ल आफुले पनि मन पराएको कुरा व्यक्त गरेपछि उनीहरु खुलेर माया गर्न थाले ।

भागेर विवाह
उनीहरु लामो समयसम्म प्रेम सम्बन्धमा रहे । काम गर्दा एक अर्काबिचमा सल्लाह हुन्थ्यो । भविस्यको योजनासमेत बनाउँन थाले । हरेक पल, हरेक क्षण दुबै जना एकअर्काको सम्झना गरिरहन्थे । दुबै जनाको बारेमा घरपरिवारमा समेत सामान्य जानकारी थियो ।

उनीहरुले अब सँगै बसेर जीवनभर माया गर्न बिवाह गर्ने निर्णय गरे । तीन बर्ष सम्मको माया बिवाहमा परिणत भयो । उनीहरुले २०७७ बैशाख १९ गते भागेर बिवाह गरे । बिवाह गरेर खगेन्द्रको घरमा पुगे । बिवाह गरेर जाँदा भिमालाई केही बिरानो लागिरहेको थियो । तर खगेन्द्र र उनको परिवारको मायाले उनी घुलमिल भइन् ।

लकडाउनले हनिमुन जान पाएनन् उनीहरुले बिवाहपछि हनिमुन मनाउन जाने योजना बनाएका थिए । पोखरा जाने योजनामा रहेका उनीहरु जान भने पाएनन् । कोरोनाका कारण लकडाउनले गर्दा जान पाएनन् । उनीहरु हनिमुन नगए पनि नजिकैका स्थानमा घुम्न गए ।

बिवाहपछि माया झन् बढ्दै गयो । एउटै क्षेत्रमा काम गर्ने भएकाले उनीहरु बिचमा आपसी सल्लाह भएर घरायसी काम हुन्थ्यो । सानो कुरामा पनि सल्लाह हुन्थ्यो । एकअर्कालाई बुझ्ने प्रयास उनीहरुले गर्थे ।

जीवनमा संघर्ष
बिवाहपछि उनीहरुले अन्य अभाव भोग्नु नपरे पनि संघर्ष भने धेरै गरे । दुबै जनाको जागिर भएकाले कुनै अभाव त झेल्नु परेन । जागिरसँगै आफ्नो पढाइ पुरा गर्नुपर्ने उनीहरुले लामो समय संघर्ष गर्नु परिरहेको छ । अहिले पनि उनीहरु संघर्षमा नै छन् ।

खगेन्द्र वातावरण सुधार समाजको शाखा प्रमुख भएर काम गरिरहेका छन् भने भिमा पनि बौद्ध ग्रामीणमा काम गरिरहेकी छन् । संघर्षबिना जीवन सहज नहुने उनीहरुको भनाइ छ । संघर्षकै कारण उनीहरुको जीवन रमाइलो छ । दुबैजना आपसी सल्लाहमै सबै योजना बनाउछन् । धेरै फुर्सद नपाउने यो जोडी फुर्सदको बेला पर्यटकीय स्थलहरुमा घुम्न पनि जान्छन् ।

कस्तो थियो बाल्यकाल ?
बुवा रामचन्द्र पौडेल र आमा कौशिला पौडेलको कोखबाट विसं २०४९ साल कात्तिक १७ गते सुर्खेतको साविक लेखगाउँ गाविस वडा नम्बर ८ मा खगेन्द्र पौडेलको जन्म भएको हो । उनको बाल्यकाल गाउँमै वित्यो । सानोमा पौडेलले केही अभाव भोग्नु परेन । रमाइलो बाल्यकालमा हुर्केका उनले कक्षा १२ सम्म गाउँकै सरस्वती माध्यमिक विद्यालयमा पढे ।

२०६८ सालदेखि मध्यपश्चिम विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गरिरहेका छन् । सानैदेखि इमान्दार र सहयोगी स्वभावका उनी सबै कुरामा समझदार छन् । यस्तै बुवा तिलक आचार्य र आमा गगनसरा आचार्यको कोखबाट २०४९ साल मंसिर २२ गते सुर्खेतको लेखबेसी नगरपालिका वडा नम्बर ४ दशरथपुरमा भिमा आचार्यको जन्म भएको हो ।

उनको बाल्यकाल पनि रमाइलो थियो । खासै समस्या नभोगेकी उनले बाल्यकाल गाउँमै विताइन् । उनले दशरथपुरकै जीवन ज्योती माविमा पढेकी हुन् । त्यही विद्यालयबाट प्लसटु गरेर उनले विएड गरेकी उनले शिक्षा क्याम्पसबाट डिग्री गरिरहेकी छन् ।

प्रेम अनुभव
उनीहरुको बिचारमा दुबैको कुरा बुझ्ने र सुख दुखमा साथ दिनु नै प्रेम हो । दुबै जनाको बिचमा विश्वासको वातावरण हुनुपर्छ । अनिमात्र प्रेम दिगो हुन्छ । उनीहरु भन्छन्, शंकाले सम्बन्ध विगार्छ ।

उनीहरुको अबको योजना भनेको सामाजिक सेवामा नै विताउने छ । अन्य जोडीहरुलाई पनि उनीहरुले सोच बदलेर विश्वास र एकअर्काको सहयोगमा काम गरे सफलता हासिल हुने सुझाव दिन्छन् ।

तपाईको प्रतिक्रिया