परिवार विहेको तयारी गर्दै थिए तर उनीहरुले भागेर विहे गरे

शान्तकुमार शर्मा/प्रेमकुमारी खरेल

प्रेमको बारेमा हरेकका आफ्नै बुझाइ छन् । प्रेम कसरी हुन्छ, त्यो थाहा पाउन पनि मुश्किल हुन्छ । कसैलाई देख्दैमा मन पर्नु र प्रमे गर्नु फरक विषय हुन् । मानिसले जीवनमा धेरैसँग माया र प्रेम गर्दछन् । तर जीवनसाथीलाई गरिने प्रेम अलग हुन्छ ।

जीवनसाथी छनौट गर्न पनि सहज छैन । कतिपयको जीवनमा परिवारले नै जुराउने गर्दछन् भने कतिपयले आफैले नै जीवनसाथी रोज्ने गर्दछन् । तर सुर्खेतका शान्तकुमार शर्मा र प्रेमकुमारी खरेलको जोडी भने शिक्षकले नै जुराइदिए । प्रस्तुत छ, यो जोडीसँग  हाम्रा सहकर्मी टेकराज केसीले गर्नुभएको कुराकानीको साराशं :-

शिक्षकले केटी देखाए
शान्तकुमार उमेरले परिपक्व भइसकेका थिए । उनले स्नातक पनि पास गरिसकेका थिए । त्यसकारण पनि उनको बिवाहको चर्चा घरमा चलाइन्थ्यो । शान्तकुमार पनि बिवाह गर्ने सोचमा थिए । उनलाई पढाएका एकजना शिक्षकले बिवाहको लागि केटी देखाउन भन्दै प्रेमकुमारीको घरमा लिए । शान्तकुमार त केटी हेर्ने भनेरै गएका थिए । तर यो कुरा पे्रमकुमारीलाई थाहा थिएन ।

जब प्रेमकुमारीलाई उनले देखे । पहिलो नजरमा नै आकर्षित भए । उता प्रेमकुमारीले पनि को केटा रहेछ भन्दै भित्रभित्रै सोचेकी थिइन् । उनलाई पनि केटा देख्दा धेरै राम्रो लागेको थियो । जब घरमा बिवाहको कुराकानी चल्यो, तब प्रेमकुमारीले थाहा पाइन् । प्रेमकुमारीको घरपरिवारले केटाको सबै पृष्ठभुमी थाहा पाएपछि दुबै घरपरिवार एक पटक बसेर निश्कर्षमा पुग्ने सुनाए । तर त्यो दिन दुबै जनाको देखादेख मात्र भयो, कुराकानी भने हुन पाएन ।

दुबै परिवारमा सहमति
केहीदिनपछि शान्तकुमारको घरबाट प्रेमकुमारीको घरमा कुराकानीका लागि गए । दुबै परिवारको सल्लाहमा बिवाह गराइदिने सहमति बन्यो । त्यसबेला शान्तकुमार उमेरले मात्र होइन, कामलेसमेत परिपक्व भइसकेका थिए । उनले आफ्नै बोर्डिङ स्कुल खोलेर काम गरिरहेका थिए । उनको इमान्दारिता र लगनशिलतालाई सबैले मन पराउँथे ।

बिवाह हुने पक्का भएपछि पनि शान्तकुमार प्रेमकुमारीको घरमा जान्थे । तर दुबै जनाको हेराहेरबाहेक अरु कुराकानी केही हुन्थेन। त्यसबेला फोनको सुविधा थिएन । शान्तकुमार भन्छन, ‘त्यतिबेला फोन भइदिएको भए त कुराकानी गर्न सकिन्थ्यो होला, फोन नहुँदा कतिबेला भेटम लाग्थ्यो ।’

तर भागेर बिवाह
शान्तकुमार हप्तामा एक पटक प्रेमकुमारीको घरमा जान्थे । अलि पछि त प्रेमकुमारीलाई पनि कतिबेला भेटम जस्तो लाग्न थाल्यो । एकदिन दुई जनाबिच बोलचाल सुरुभयो । त्यसपछि दुबै जनाले मनदेखि नै कुराकानी गर्ने मौका पाए । घरपरिवारले केही समयपछि बिवाह गरिदिने चाँजोपाँजो गर्दै थिए । तर उनीहरु बोलचाल भएकै भोलिपल्ट २०६४ मंसिर १० गते भागेर बिवाह गरे ।

बिवाह गर्दा शान्तकुमार २८ बर्षका थिए भने प्रेमकुमारी २१ बर्ष थिइन् । बिवाह गरेर घरमा आउँदा प्रेमकुमारीलाई केही बिरानो लाग्यो । तर शान्तकुमार उमेरले पनि परिपक्व र पढेलेखेका भएको हुँदा माया मात्र होइन, धेरै व्यवहारिक कुराको ज्ञानसमेत दिए । उनी घुलमिल हुँदै गइन् । उनीहरु बिवाहपछि हनिमुन भनेरै मनाउन त गएनन् । तर केहीदिन काठमाडौंमा घुम्न भने गए ।

बिहेपछिको माया
उनीहरुको माया बिवाहपछि नै मौलायो । जुनसुकै काम गर्दा सँगै गर्ने, बिहान र साँझको खाना सँगै बसेर नखाएसम्म मन मान्दैन्थ्यो । यो जोडीको अहिलेसम्म झगडा भएको छैन । किनकी दुबैजना मिलेर काम गर्ने र सहमतिमा गर्ने गर्दछन् ।

बिवाहपछिको संघर्ष
बिवाहपछि उनीहरुले अभाव भोग्नु परेन । तर संघर्ष भने धेरै गरे । उनीहरु दुबै जनाको पढाइ पुरा भएको थिएन । आफ्नो पढाइलाई पहिलो प्राथमिकता राख्दै घरको जिम्मेवारी पुरा गर्नुपथ्र्यो । घरपरिवार जिम्मेवारी थपिदै गएको थियो । बिवाह भएको दुई बर्षपछि उनीहरुका छोराछोरी पनि जन्मिए । पढाइ पुरा गर्नुपर्ने एकातिर, छोराछोरी हुर्काउनुपर्ने अर्कोतिर ।

दुबै जनाले आफ्नो पढाइ पुरा गरे । संघर्षको फल मिठो हुन्छ भनेजस्तै दुबै जनाले सरकारी जागिर पाए । अहिले दुबै जना सरकारी शिक्षक भएर नेरा मावि लोदे सुर्खेतमा पढाइरहेका छन् । उनीहरुको जीवन सहज बन्दै गयो । अहिले पनि खाना पकाउने, कपडा धुने काम पनि बाँडेर गर्छन् । फुर्सदको बेला घुम्न पनि जान्छन् ।

बाल्यकाल सामान्य
बुवा जयलाल शर्मा र आमा गोपीसरा शर्माको कोखबाट २०३७ फागुन ९ गते सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ८ लादेमा शान्तकुमार शर्माको जन्मभयो । बाल्यकाल गाउँमै वित्यो । नेरा मावि जहरेमा ३ कक्षासम्म पढे । ४ कक्षा र ५ कक्षा मावि लादेमा पढे । ६ देखि १० कक्षासम्म भने मेहलकुना माविमा पढे । पढाइलाई पहिलो प्राथमिकता राख्ने उनले सामाजिक कार्यमा रुची राख्थे ।

यस्तै बुवा गौप्रसाद खरेल र आमा जयकला खरेलको कोखबाट २०४४ साल फागुन ११ गते सुर्खेतको लेकवेशी नगरपालिका वडा नम्बर १ मा प्रेमकुमारी खरेलको जन्म भयो । बाल्यकाल गाउँमै विताएकी उनले जनकल्याण प्राविमा कक्षा ५ सम्म पढिन् । ६ कक्षादेखि आदर्श मावि लेखफर्सामा पढेकी उनले त्यही माविट २०६० सालमा एसएलसी पास गरिन् । व्याचलर भने उनले बिवाहपछि गरेकी हुन् ।

प्रेम अनुभव
उनीहरुको बिचारमा एकअर्काको कुरा बुझ्ने, सुख र दुखमा साथ दिनु नै प्रेम हो । दुबै जनाको बिचमा विश्वासको वातावरण हुनुपर्छ । अनिमात्र प्रेम दिगो हुन्छ । शंकाले सम्बन्ध नै विगार्छ । शान्तकुमारलाई प्रेमकुमारीको विश्वास र सहयोगी भावना मनपर्छ भने प्रेमकुमारीलाई सबै काम सल्लाहमा मात्र गर्ने शान्तकुमारको बानी मनपर्छ । उनीहरुको अबको योजना भनेको आफ्ना छोराछोरीलाई अशल मानिस बनाउने छ । त्यसको लागि घरपरिवारको संस्कार राम्रो हुनुपर्ने उनीहरु बताउँछन ।

तपाईको प्रतिक्रिया