परिवार विहेको तयारी गर्दै थिए तर उनीहरुले भागेर विहे गरे

शान्तकुमार शर्मा/प्रेमकुमारी खरेल

प्रेमको बारेमा हरेकका आफ्नै बुझाइ छन् । प्रेम कसरी हुन्छ, त्यो थाहा पाउन पनि मुश्किल हुन्छ । कसैलाई देख्दैमा मन पर्नु र प्रमे गर्नु फरक विषय हुन् । मानिसले जीवनमा धेरैसँग माया र प्रेम गर्दछन् । तर जीवनसाथीलाई गरिने प्रेम अलग हुन्छ ।

जीवनसाथी छनौट गर्न पनि सहज छैन । कतिपयको जीवनमा परिवारले नै जुराउने गर्दछन् भने कतिपयले आफैले नै जीवनसाथी रोज्ने गर्दछन् । तर सुर्खेतका शान्तकुमार शर्मा र प्रेमकुमारी खरेलको जोडी भने शिक्षकले नै जुराइदिए । प्रस्तुत छ, यो जोडीसँग  हाम्रा सहकर्मी टेकराज केसीले गर्नुभएको कुराकानीको साराशं :-

शिक्षकले केटी देखाए
शान्तकुमार उमेरले परिपक्व भइसकेका थिए । उनले स्नातक पनि पास गरिसकेका थिए । त्यसकारण पनि उनको बिवाहको चर्चा घरमा चलाइन्थ्यो । शान्तकुमार पनि बिवाह गर्ने सोचमा थिए । उनलाई पढाएका एकजना शिक्षकले बिवाहको लागि केटी देखाउन भन्दै प्रेमकुमारीको घरमा लिए । शान्तकुमार त केटी हेर्ने भनेरै गएका थिए । तर यो कुरा पे्रमकुमारीलाई थाहा थिएन ।

जब प्रेमकुमारीलाई उनले देखे । पहिलो नजरमा नै आकर्षित भए । उता प्रेमकुमारीले पनि को केटा रहेछ भन्दै भित्रभित्रै सोचेकी थिइन् । उनलाई पनि केटा देख्दा धेरै राम्रो लागेको थियो । जब घरमा बिवाहको कुराकानी चल्यो, तब प्रेमकुमारीले थाहा पाइन् । प्रेमकुमारीको घरपरिवारले केटाको सबै पृष्ठभुमी थाहा पाएपछि दुबै घरपरिवार एक पटक बसेर निश्कर्षमा पुग्ने सुनाए । तर त्यो दिन दुबै जनाको देखादेख मात्र भयो, कुराकानी भने हुन पाएन ।

दुबै परिवारमा सहमति
केहीदिनपछि शान्तकुमारको घरबाट प्रेमकुमारीको घरमा कुराकानीका लागि गए । दुबै परिवारको सल्लाहमा बिवाह गराइदिने सहमति बन्यो । त्यसबेला शान्तकुमार उमेरले मात्र होइन, कामलेसमेत परिपक्व भइसकेका थिए । उनले आफ्नै बोर्डिङ स्कुल खोलेर काम गरिरहेका थिए । उनको इमान्दारिता र लगनशिलतालाई सबैले मन पराउँथे ।

बिवाह हुने पक्का भएपछि पनि शान्तकुमार प्रेमकुमारीको घरमा जान्थे । तर दुबै जनाको हेराहेरबाहेक अरु कुराकानी केही हुन्थेन। त्यसबेला फोनको सुविधा थिएन । शान्तकुमार भन्छन, ‘त्यतिबेला फोन भइदिएको भए त कुराकानी गर्न सकिन्थ्यो होला, फोन नहुँदा कतिबेला भेटम लाग्थ्यो ।’

तर भागेर बिवाह
शान्तकुमार हप्तामा एक पटक प्रेमकुमारीको घरमा जान्थे । अलि पछि त प्रेमकुमारीलाई पनि कतिबेला भेटम जस्तो लाग्न थाल्यो । एकदिन दुई जनाबिच बोलचाल सुरुभयो । त्यसपछि दुबै जनाले मनदेखि नै कुराकानी गर्ने मौका पाए । घरपरिवारले केही समयपछि बिवाह गरिदिने चाँजोपाँजो गर्दै थिए । तर उनीहरु बोलचाल भएकै भोलिपल्ट २०६४ मंसिर १० गते भागेर बिवाह गरे ।

बिवाह गर्दा शान्तकुमार २८ बर्षका थिए भने प्रेमकुमारी २१ बर्ष थिइन् । बिवाह गरेर घरमा आउँदा प्रेमकुमारीलाई केही बिरानो लाग्यो । तर शान्तकुमार उमेरले पनि परिपक्व र पढेलेखेका भएको हुँदा माया मात्र होइन, धेरै व्यवहारिक कुराको ज्ञानसमेत दिए । उनी घुलमिल हुँदै गइन् । उनीहरु बिवाहपछि हनिमुन भनेरै मनाउन त गएनन् । तर केहीदिन काठमाडौंमा घुम्न भने गए ।

बिहेपछिको माया
उनीहरुको माया बिवाहपछि नै मौलायो । जुनसुकै काम गर्दा सँगै गर्ने, बिहान र साँझको खाना सँगै बसेर नखाएसम्म मन मान्दैन्थ्यो । यो जोडीको अहिलेसम्म झगडा भएको छैन । किनकी दुबैजना मिलेर काम गर्ने र सहमतिमा गर्ने गर्दछन् ।

बिवाहपछिको संघर्ष
बिवाहपछि उनीहरुले अभाव भोग्नु परेन । तर संघर्ष भने धेरै गरे । उनीहरु दुबै जनाको पढाइ पुरा भएको थिएन । आफ्नो पढाइलाई पहिलो प्राथमिकता राख्दै घरको जिम्मेवारी पुरा गर्नुपथ्र्यो । घरपरिवार जिम्मेवारी थपिदै गएको थियो । बिवाह भएको दुई बर्षपछि उनीहरुका छोराछोरी पनि जन्मिए । पढाइ पुरा गर्नुपर्ने एकातिर, छोराछोरी हुर्काउनुपर्ने अर्कोतिर ।

दुबै जनाले आफ्नो पढाइ पुरा गरे । संघर्षको फल मिठो हुन्छ भनेजस्तै दुबै जनाले सरकारी जागिर पाए । अहिले दुबै जना सरकारी शिक्षक भएर नेरा मावि लोदे सुर्खेतमा पढाइरहेका छन् । उनीहरुको जीवन सहज बन्दै गयो । अहिले पनि खाना पकाउने, कपडा धुने काम पनि बाँडेर गर्छन् । फुर्सदको बेला घुम्न पनि जान्छन् ।

बाल्यकाल सामान्य
बुवा जयलाल शर्मा र आमा गोपीसरा शर्माको कोखबाट २०३७ फागुन ९ गते सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ८ लादेमा शान्तकुमार शर्माको जन्मभयो । बाल्यकाल गाउँमै वित्यो । नेरा मावि जहरेमा ३ कक्षासम्म पढे । ४ कक्षा र ५ कक्षा मावि लादेमा पढे । ६ देखि १० कक्षासम्म भने मेहलकुना माविमा पढे । पढाइलाई पहिलो प्राथमिकता राख्ने उनले सामाजिक कार्यमा रुची राख्थे ।

यस्तै बुवा गौप्रसाद खरेल र आमा जयकला खरेलको कोखबाट २०४४ साल फागुन ११ गते सुर्खेतको लेकवेशी नगरपालिका वडा नम्बर १ मा प्रेमकुमारी खरेलको जन्म भयो । बाल्यकाल गाउँमै विताएकी उनले जनकल्याण प्राविमा कक्षा ५ सम्म पढिन् । ६ कक्षादेखि आदर्श मावि लेखफर्सामा पढेकी उनले त्यही माविट २०६० सालमा एसएलसी पास गरिन् । व्याचलर भने उनले बिवाहपछि गरेकी हुन् ।

प्रेम अनुभव
उनीहरुको बिचारमा एकअर्काको कुरा बुझ्ने, सुख र दुखमा साथ दिनु नै प्रेम हो । दुबै जनाको बिचमा विश्वासको वातावरण हुनुपर्छ । अनिमात्र प्रेम दिगो हुन्छ । शंकाले सम्बन्ध नै विगार्छ । शान्तकुमारलाई प्रेमकुमारीको विश्वास र सहयोगी भावना मनपर्छ भने प्रेमकुमारीलाई सबै काम सल्लाहमा मात्र गर्ने शान्तकुमारको बानी मनपर्छ । उनीहरुको अबको योजना भनेको आफ्ना छोराछोरीलाई अशल मानिस बनाउने छ । त्यसको लागि घरपरिवारको संस्कार राम्रो हुनुपर्ने उनीहरु बताउँछन ।

परिवार विहेको तयारी गर्दै थिए तर उनीहरुले भागेर विहे गरे

‘पढाइ खर्च जुटाउन कालापहाड गएँ’

परिवार विहेको तयारी गर्दै थिए तर उनीहरुले भागेर विहे गरे

सुर्खेत–कोहलपुर १३२ केभीए विद्युत प्रसारण लाइन, काटिएनन्

Leave a comment

Your email address will not be published. Required fields are marked *