‘पढाइ खर्च जुटाउन कालापहाड गएँ’

दलबहादुर घर्ती प्रशासकीय अधिकृत, भेरी नगरपालिका, जाजरकोट

जाजरकोटको भेरी नगरपालिकामा प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् दलबहादुर घर्ती । तत्कालीन जिल्ला विकास समितिबाट काम थालेका उनी तीन बर्षदेखि यो नगरपालिकामा कार्यरत छन् । निजामति क्षेत्रको दुई दशक लामो अनुभव सम्हालेका उनले हाल नगरपालिकाको प्रशासकीय नेतृत्वसमेत लिंदै आएका छन् ।

केही समय शिक्षण पेशामा संलग्न भएका उनले विद्यालयबाट नियमित रुपमा तलव नपाएपछि निजामति क्षेत्र रोजेका हुन् । तत्कालीन जिल्ला विकास समितिबाट निजामति क्षेत्रमा प्रवेश गरेको उनी झण्डै दश बर्षपछि अधिकृतमा भए । प्रस्तुत छ, उनै घर्तीको जीवन भोगाइ र निजामति क्षेत्रको अनुभवमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अंश :-

बाल्यकालदेखि संघर्ष
२०३५ साल मंसिर २३ गते दलबहादुर घर्तीको जन्म भएको हो । उनी बुवा कलबहादुर र आमा मंगलदेवीका जेठो छोरा हुन् । जाजरकोटको भेरीनगरपालिका–५ छिप्रेन उनको जन्मभूमि हो । कृषक परिवारमा हुर्किएका उनले बाल्यकालदेखि नै संघर्ष गरे । ‘सानैदेखि हरेक काममा आमाबुवालाई सघाउँथे’ उनी भन्छन्, ‘मैले त बाल्यकालदेखि नै संघर्ष गरेको हुँ ।’

आमाबुवाको मुख्य पेशा नै कृषि थियो । यहीकारण घाँसदाउरा, मेलापात र कुटोकोदाली गर्दै हुर्किए । आमा कृषक भए पनि बुवा राजनीतिमा पनि रुचि राख्थे । २०५१ सालपछि उनका वुवा माओवादी युद्धमा भूमिगत भए । त्यसपछि आर्थिक अवस्था झन् कमजोर भयो । बुवा भूमिगत भएपछि उनको काँधमा जिम्मेवारी थपियो ।

पढाइ खर्च जुटाउन कालापहाड
दलबहादुरले प्रारम्भिक शिक्षा गाउँकै विद्यालयबाट हाँसिल गरे । उनले विजया माध्यमिक विद्यालय काफलचौरबाट कखरादेखि कक्षा ७ सम्म पढे । त्यसपछि जिल्ला सदरमुकाम खलंगा झरे । कक्षा ८, ९ र १० को पढाइ त्रिभूवन माध्यमिक विद्यालय खलंगाबाट पुरा गरे । एसएलसीपछि पढाइ खर्च जुटाउने कालापहाड (भार त) पुगे ।

केही महिना उत्तै मजदुरी गरे । २०५२ साल एसएलसीको परीक्षाफल प्रकाशित भयो । त्यसपछि उनी गाउँ फर्किए । तर उच्च शिक्षा पढ्न उनलाई सहज भएन । बुवा भूमिगत भएका कारण जिल्लामै बसेर पढ्ने वातावरण भएन । उच्च शिक्षाका लागि दाङ पुगे । त्यहाँ पनि सुरक्षित ठानेनन् । त्रासका बीचमा सल्यान फर्किए । सल्यानको जनकल्यान उच्च माध्यमिक विद्यालय थारमारेबाट प्लसटु गरे ।

प्सटु सकेपछि उनी सुर्खेत झरे । तत्कालीन शिक्षा क्याम्पस सुर्खेतबाट स्नातक र स्नातकोत्तरको पढाई पुरा गरे । पढाइमा उनी मध्यमस्तरिय विद्यार्थी थिए । निम्न माध्यमिक तहसम्म कक्षा सधै दोस्रो हुन्थे । माध्यमिक तहमा कहिले चौथो त कहिले पाँचौँ हुन्थे ।

पढाइसँगै उनी अतिरिक्त क्रियाकलपामा पनि सहभागी हुन्थे । हाजिरीजवाफ, वक्तित्वकला, कविता जस्ता प्रतियोगितामा विशेष रुचि राख्थे । ‘विद्यालय र क्याम्पसमा हुने अधिकांश प्रतियोगितामा सहभागि हुन्थेँ’ उनी भन्छन्, ‘प्रतियोगितामा भाग लियो कि प्रथम भैहाल्थेँ, ऊबेलाका दजनौं प्रमाणपहरु अहिले पनि सुरक्षित राखेको छु ।’

इन्जिनियर बन्न सकेनन्
दलबहादुरको लक्ष्य इन्जिनियर बन्ने थियो । तर उनी इन्जिनियर बन्न सकेनन् । इन्जिनियर पढ्न उनलाई न आर्थिकले साथ दियो, न त देशको राजनीतिले । बुवा भूमिगत भएदेखि घरको आर्थिक अवस्था नाजुक बनेको थियो ।

बुवाकै कारण उनलाई मारिनुपर्ने हो कि भन्ने त्रास भइरह्यो । उच्च शिक्षा पढ्नका लागि उनले जिल्ला छोडे । शहरमा बसेर पढ्न आर्थिक र राजनीतिक अवस्थाले साथ दिएन । जसकाकारण उनको इन्जिनियर बन्ने सपना पुरा भएन । ‘इन्जिनियर बन्ने सानैदेखिको लक्ष्य थियो, तर समयले मलाइ त्यो अवसर दिएन’ उनी भन्छन्, ‘राजनीतिक र आर्थिक कारणले इन्जिनियर बन्ने सपना पुरा गर्न सकिनँ ।’

अनि लोकसेवा पढ्न थाले
२०५५ सालमा दलबहादुर गाउँ फर्किए । आर्थिक र पारिवारिक जिम्मेवारी थपिएपछि जागिरको खोजी गरे । केही समय गाउँकै विजया माध्यमिक विद्यालयमा शिक्षक भए । जागिर त पाए, तर तलवको ग्यारेन्टी भएन । विद्यालयले मासिक चार हजार तलव तोकेको थियो । तर तलव कति बेला पाइन्छ भन्ने निश्चित नै थिएन ।

‘अभिभावकबाट पैसा उठाएर विद्यालयले तलव दिन्थ्यो, तर त्यसको कुनै भर थिएन’ उनी भन्छन्, ‘नियमित रुपमा तलव नपाएपछि मैले लोकसेवा आयोगको तयारी गरेको हुँ ।’ आयोगको तयारी गरिहेका उनलाई २०५८ सालमा खुशी थपियो । तत्कालीन जिल्ला दलबहादुर घर्ती प्रशासकीय अधिकृत, भेरी नगरपालिका, जाजरकोट विकास समितिले नायव सुब्बा माग गरयो ।

भाग्यवस, त्यहाँ उनी पहिलो प्रयासमै सफल भए । त्यसपछि २०५८ माघ १ गतेदेखि निजामति सेवामा जोडिए । २०६९ साउनमा अधिकृत भए । तर लामो समय सोही कार्यालयमा रहेर सेवा गरे । २०७५ माघ १ देखि भेरी नगरपालिकामा कार्यरत उनले हाल प्रशासकीय नेतृत्व सम्हालेका छन् ।

राजनीति सुध्रिए, निजामतिमा सुधार
राजनीति देशको मुल नीति हो । राजनीति सुधार नभएमा अन्य क्षेत्रको सुधार असम्भव जस्तै हुन्छ । निजामति क्षेत्र पनि राजनीतिबाट अछुतो छैन। यहाँ पनि पहुँच र पावरका आधारमा सरुवा तथा बढुवा हुन्छ । पहुँच हुनेले आकर्षक कार्यालय पाउँछन् । उनको बुझाइमा यो विकृति र विसंगतको मूल जड राजनीति हो ।

‘राज्य सञ्चालनको पहिलो आधार नै राजनीति हो, तर राजनीतिक नेतृत्वमा विज्ञेता र दुरदर्शिता छैन’ उनी भन्छन्, ‘जबसम्म राजनीतिक नेतृत्वले आफ्नो मान्छेलाई सरुवा र बढुवा गर्ने तथा राम्रो कार्यालयमा खटाउन राक्दैनन्, तबसम्म प्रशासनिक क्षेत्रमा सुधार सम्भव छैन ।’ पहुँचकै आधारमा नभई क्षमताको आधारमा सरुवा, बढुवा हुने नीति लागू भएमात्रै प्रशासनिक क्षेत्र सुधार हुने उनको बुझाइ छ ।

‘आफ्नो मान्छेलाई राम्रो कार्यालयमा पठाउने परिपाटीकै कारण प्रशासनिक क्षेत्रमा विकृति र विसंगति मौलाएको हो’ उनी भन्छन्, ‘राजनीति सुध्रिए निजामति क्षेत्रको विकृति र विसंगत आफै हट्छ ।’

तपाईको प्रतिक्रिया