सडक बनाउनेलाई मत

सुर्खेत,१५ कात्तिक ।
वराहताल गाउँपालिका–१० का बलबहादुर शाहीसँग विभिन्न दलका नेता तथा कार्यकर्ताले मत मागिरहन्छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिँदै जाँदा उहाँको घरमा पनि उम्मेदवार तथा पार्टीका कार्यकर्ता पुग्ने गरेका छन् ।
उनँले मत माग्न आउने नेतालाई सडक बनाउनेलाई मात्र मत दिने अडान राख्दै आएका छन् । उनले भने “उम्मेदवारहरू मत माग्न आउँदा सडक बनाउँछौँ भने मत दिउँला भन्ने गरेको छु । वर्षौंदेखि हामीले राम्रो सडक नहुँदा दुःख पाएका छौँ । गाउँका सडक सबै कच्ची र जीर्ण छन् ।”
विकासको दृष्टिकोणले सधैँ पछि परेको सुर्खेतको पश्चिम क्षेत्रका नागरिक दशकौँदेखि विकासका आधारभूत सुविधा पाउन सकेका छैनन् । सुर्खेतको पश्चिमक्षेत्र निर्वाचन क्षेत्र नं. २ मा पर्छ । सोही ठाउँबाट जितेका नेता सांसददेखि मन्त्रीसम्म भए पनि दशकौदेखि पश्चिम क्षेत्रमा एउटा गतिलो सडकसमेत निर्माण हुन सकेको छैन ।

सोही ठाउँबाट नेपाली कांग्रेसका शिवराज जोशी, तप्त विष्ट, यज्ञबहादुर बुढा क्षेत्री, नेकपा (एमाले)का नवराज रावत, नेकपा (माओवादी केन्द्र)का विन्दमान विष्ट, नरबहादुर विष्ट, पुष्पा घर्ती विष्टलगायतका नेताहरू सांसद र मन्त्री बने पनि जनताले विकासको अनुभूति गर्न पाएका छैनन् । नेताले निर्वाचनका समयमा मात्र आश्वासन दिएर जित्ने तर पछि नगर्ने प्रवृत्तिले पश्चिम क्षेत्र विकासको दृष्टिले सधैँ पछि परेको स्थानीय बताउँछन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसँगै जोडिएका पश्चिम क्षेत्रका गाउँगाउँमा सर्वसाधारणले न गतिला सडक, न विद्युत्को सुविधा, न त आधारभूत पूर्वाधारको सुविधा उपभोग गर्न पाएका छन् । गतिलो सडकसमेत नहुँदा जनताले बाह्रै महिना सास्ती भागिरहेको भएता पनि अधिकांश दलका उम्मेदवारले सडक, विद्युत्, खानेपानी, रोजगारकै एजेन्डा लिएर यस पटक पनि मत मागिरहेका छन् ।
पञ्चपुरी नगरपालिका–९ का पूर्ण खरेल पश्चिम सुर्खेतका जनताले विकासको आशामा कयौँ वर्ष बिताएको बताए । यहाँ सिमेन्ट उद्योगलगायतका ठूला उद्योग स्थापना गर्ने सम्भावना हुँदा पनि अहिलेसम्म नबन्नु दुःखद भएको उनको भनाइ छ । यस पटकको निर्वाचनमा केही पुराना अनुहार उम्मेदवार बनेका छन् भने केही नयाँ उम्मेदवार छन् । नयाँ उम्मेदवारले पनि सडक, विद्युत्कै एजेन्डा अघि सारेर निर्वाचनको मैदानमा छन् । पुराना उम्मेदवारले पनि पश्चिम क्षेत्रको सडक, विद्युत्लाई नै प्राथमिकता दिएका छन् । पश्चिम क्षेत्रमा पर्ने मदन भण्डारी लोकमार्गलाई उम्मेदवारले पहिलो प्राथमिकता दिएका हुन् ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका हृदयराम थानीले पनि पश्चिम क्षेत्रको सडकको एजेन्डालाई प्राथमिकता दिएको बताए । पश्चिम क्षेत्रमा भएका अधुरा विकासलाई पूर्णता दिन आफ्नो उम्मेदवारी रहेको भनाइ छ । विद्युत्, अस्पताल, खानेपानी, रोजगारी सिँचाइको व्यवस्था हुनुपर्ने जनताको माग छ ।
गोरखापत्र






