फिल्मको आर्ट निर्देशक युद्धको सिपाही जस्तो हो : अन्जन

काठमाडौं । बलिउड विश्वको दोस्रो ठूलो फिल्म उद्योग मानिन्छ । यहि उद्योगमा प्रडक्सन डिजाइनर तथा आर्ट डिरेक्टरको काम गर्ने अन्जन गजुरेलले आर्ट डिरेक्टर युद्धमा होमिएको सिपाही जस्तो भएको बताएका छन् ।
हालै अस्कर इन्टरनेसनल कलेज (कलेज अफफिल्म स्टडिज)का तेस्रो वर्षका विद्यार्थीसँग अन्तक्र्रिया गर्दै उनले यो धारणा राखेका हुन् । उनले पेशासँग जोडिएका रोचक अनुभव सुनाउँदै जसरी युद्धमा गएको सिपाही हरेक खाले परिस्थितिका लागि तयार हुनुपर्छ, यो पेशाले पनि सोही खालको चरित्र माग गर्ने बताए ।
‘धेरैजसो अवस्थामा निर्देशक र क्यामरामेनलाई पनि थाहा हुन्न कि के चाहिएको हो । टेबलमा होमवर्क गरेको कुरा सेटमा परिवर्तन भइदिन्छ’ उनले भने– ‘अझ अनुराग बसुजस्तो मान्छेसँग काम गर्नुहुन्छ भने त तपाईंलाई कहीँ जंगलको बीचमा चोपरले छाडिदिए जस्तो हुन्छ । बाटो आफैंले निकाल्नुपर्छ ।’
२० वर्षदेखि बलिउडका टेलिभिजन सिरिज र फिल्ममा काम गरिरहेका अन्जन पहिलो लकडाउन खुकुलो भएलगत्तै नेपालमा ग्यालेक्सी टेलिभिजनले निर्माण गर्न लागेको ‘सारेगम लिटिल च्याम्स’ र ‘को बन्छ करोडपति’ को सेट डिजाइनका लागि आएका थिए । उनले आफूले नेपालमा बनिरहेको सेट डिजाइन मज्जाले हेर्न नपाएको भएपनि फिल्म र सिरिजमा भन्दा विज्ञापन फिल्ममा राम्रो काम भइरहेको महसुस गरेको बताए ।
करिब डेढ घन्टा विद्यार्थीसँग बिताएका अन्जनले आफ्नो यात्रा सन् २००१ मा स्टार प्लसबाट प्रसारण भएको ‘देशमें निकलाहोगा चाँद’ बाट सुरु भएको बताउँदै यो क्रममा सानाठूला गरी तीन दर्जन भन्दा फिल्म, टेलिभिजन तथा वेब सिरिजमा काम गरेको जानकारी दिए । पछिल्लो समय अनुराग बसु निर्देशित ‘लुडो’ मा काम गरेका उनले विद्यार्थीहरूसँग अन्तर संवादमा उनले फिल्मको सेट निर्माण र डिजाइनको अनुभव समेत बाँडेका थिए ।






