टेस्ट वरीयताको दोस्रो स्थानमा रुटको फड्को

एजेन्सी : भारतविरुद्ध लर्डस टेस्टमा घरेलु टोली इंग्ल्यान्ड पराजित भए पनि कप्तान जो रूटले भने वरीयतामा फड्को मारेका छन्। उनी टेस्टतर्फको वरीयता क्रमको दोस्रो नम्बरमा उक्लिएका छन्।
उनले पहिलो पारीमा खेलेको अविजित १ सय ८० रनको शतकीय इनिङ्सले उनलाई टेस्ट वरीयतामा माथि उठाएको हो। यसअघि उनी वरीयता क्रमको पाँचौ स्थानमा थिए।
वरीयताको शीर्षमा भने न्युजिल्यान्डका कप्तान केन विलियमसन छन्। उनी ९ सय १ अंकसहित शीर्षमा छन्। अब रुट र विलियमसनबीच ८ अंकको मात्र अन्तर छ। इंग्लिस कप्तानले तेस्रो टेस्टमा यस्तै सानदार ब्याटिङ गरेमा उनी वरीयता क्रमको शीर्षमा उक्लने पक्कापक्की जस्तै छ।
आइसिसीको टेस्ट वरीयतामा अस्ट्रेलियाई ब्याट्सम्यान स्टिभ स्मिथ तेस्रो स्थानमा छन्। त्यस्तै अस्ट्रेलियाकै मार्नस लबुस्चन्जे चौथो स्थानमा रहँदा भारतका ३ ब्याट्सम्यान विराट कोहली, रोहित शर्मा र ऋषभ पन्त क्रमशः पाँचौं, छैटौं र सातौं स्थानमा छन्।
पाकिस्तानका बाबर आजम आठौं वरीयतामा रहँदा अस्ट्रेलियाका डेभिड वार्नर नवौं र दक्षिण अफ्रिकाका क्विन्टन डे’कक दशौं वरीयतामा रहेका छन्।






