नाकामा कोरोना अस्पताल

सुर्खेत । सुर्खेतको पश्चिमी नाका कोरोना अस्पताल स्थापना गरिएको छ । पञ्चपुरी नगरपालिका वडा नं. १० को जामु नाकामा १६ बेडको कोरोना अस्पताल सञ्चालनमा ल्याइएको छ ।
कोरोना संक्रमणको तेस्रो लहरलाई रोक्नका लागि कर्णाली प्रदेश सरकारले भारतलगायत तेस्रो मुलुकबाट आउने नागरिकहरुको स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले अस्पताल सञ्चालन गरेको हो ।
अष्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टल एसोसिएसन र अष्ट्रेलिया नेपाल फ्रेण्डसीप सोसाइटीको सहयोग तथा वीङ्स फाउण्डेशनको समन्वयमा प्रदेश सरकारले कैलालीसँग सीमा जोडिएको पञ्चपुरी नगरपालिकाको कुइनेमा कोरोना परीक्षण तथा जामुमा अस्पताल सञ्चालनमा ल्याएको हो । कोरोना परीक्षण र अस्पतालको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले शुभारम्भ गरे ।
दक्षिणको छिमेकी भारतसँग कर्णालीको सीमा जोडिएको छैन् । कर्णाली प्रदेश भित्रिनका लागि सल्यानको कपुरकोट र सुर्खेतको बबई तथा कुइने नाका छन् । कर्णालीका तीन वटै नाकामा प्रदेश सरकारले चेकजाँच र अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ । ‘कोरोनाको तेस्रो लहरलाई रोक्नका लागि कर्णाली भित्रिने तीन वटै नाकामा चेकजाँच र अस्पताल सञ्चालन गर्ने लक्ष्य सरकारको छ,’ मन्त्री बुढाक्षेत्रीले भने, ‘त्यसको सुरुवात कुइने नाकाबाट गरेका हौं ।’
कुइने नाका सुर्खेतसहित दैलेख, कालिकोट, सुदूरपश्चिमको अछाम र बाजुराको मुख्य नाका हो । यो क्षेत्रका अधिकांस नागरिकहरु रोजगारीका लागि कालापहाड (भारत) जाने गर्छन् । ‘तीज, दशैं–तिहारका लागि कामका लागि भारत गएका नागरिकहरु फर्कनेक्रम सुरु भएको छ,’ मन्त्री बुढाक्षेत्रीले भने, ‘ति सबै नागरिकहरुको चेकजाँच गरेर कर्णालीमा भित्र्याउने लक्ष्य सरकारको छ ।’
वीङ्स फाउण्डेशनका अध्यक्ष डा. नवराज केसीले अष्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टल एसोसिएसन र अष्ट्रेलिया नेपाल फ्रेण्डसीप सोसाइटीको सहयोगमा कुइने नाकामा स्वास्थ्यकर्मी, परीक्षणका लागि आवश्यक एन्टिजेन कीट, औषधि उपलब्ध गराइएको बताए । त्यस्तै पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले नाकामा परीक्षण र अस्पताल सञ्चालनले गाउँमा संक्रमण रोक्न सहज हुने बताए ।






