सरकार प्रमुखबाटै देशलाई बन्धकी राख्ने काम भयो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार प्रमुखले नै सत्ता स्वार्थका लागि देशलाई नै बन्धकी राखेको आरोप लगाएका छन् ।
बागमती प्रदेशस्तरीय कराँते प्रतियोगिता उद्घाटनका क्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्री ओलीले जनताको प्रतिष्ठा, आत्मसम्मान र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठाउने दुस्साहस गरे ।
प्रधानमन्त्री ओलीको नामै नलिई घुमाउरो पारामा उनले भने, ‘हिजोआज समाचार हेर्नुभयो भने देशलाई बन्दकी राख्ने, राष्ट्रिय हितका विरुद्ध षडयन्त्र गर्ने काममा स्वयं सरकारको नेतृत्व लाग्ने खबर देखिन्छ ।
देश र जनताको प्रतिष्ठा, आत्मसम्मान, राष्ट्रिय स्वाधीनतामाथि प्रश्न गर्ने दुस्साहस भएको छ। यो नेपाली जनतालाई यो स्वीकार्य छैन ।’

बिहीबारदेखि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र रअ प्रमुख सामन्त गोयलबीच भएको भनिएको सम्झौताको पत्र दाबी गरेर केही सञ्चारमाध्यममा आएपछि यो विषय विषय चर्चित भएको छ । यसको पक्ष विपक्षमा बहस जारी छ ।
त्यस्तै, उनले ओलीलाई लक्षित गर्दै तानाशाही एकचोटि परास्त भए पनि पूरै परास्त अझै नभएको बताए । अझै षड्यन्त चलिरहेको प्रचण्डले उल्लेख गरे । उनले भने, ‘जनताले लोकतन्त्रविरोधी गणतन्त्रविरोधी कदम स्वीकार गरेनन्। सवै विज्ञ, नागरिक र जनता यसको विरोधमा गए। अन्तत: अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गर्यो ।’
प्रगतिविरोधी तथा राष्ट्रविरोधी तत्वहरू इतिहास पछाडि धकेल्ने प्रयासमा रहेको उनले बताए। त्यो नेपालमा मात्रै नभई विश्वमै रहेको उनको भनाइ छ। उनको भनाइ छ ।






