प्रविधिमैत्री बन्दै डाँडास्कूलः शिक्षण सिकाईलाई प्रभावकारी बनाउने शिक्षकलाई अनुदानमा ल्याप्टप

सुर्खेत । वीरेन्द्रनगर–६ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलले अनुदानमा शिक्षक तथा कर्मचारीलाई ल्याप्टप दिएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरेर विद्यालयले सबै शिक्षक र कर्मचारीलाई ल्याप्टप, ल्याप्टप झोला र डायर वितरण गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधिका थापाले शिक्षक तथा कर्मचारीलाई ल्याप्टप वितरण गरेकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै थापाले शिक्षण सिकाईलाई प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले शिक्षक र कर्मचारीलाई ल्याप्टप वितरण गरिएको बताइन् ।
कार्यक्रममा विद्यालयका प्राधानाध्यापक गणेशकुमार नौपानेले हरेक शिक्षकको हातमा ल्याप्टप भएपछि पठन/पाठन थप प्रभावकारी हुने बताए । शिक्षण शिकाइमा आधुनिक प्रविधिको प्रयोग अनिवार्य रहेको तर्क गर्दै उनले ल्याप्टपको प्रयोगले शिक्षक र विद्यार्थी दुबैको व्यक्तित्व विकासमा समेत सहयोग पुग्ने बताए ।

कक्षा १ देखि १२ सम्म अध्ययन/अ्रध्यापन हुँदै आएको विद्यालयले सीटीईभीटीईतर्फको डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ विषय समेत पढाई हुँदै आएको छ । पछिल्लो समय विद्यालयले स्मार्ट बोर्ड तथा इन्ट्राक्टिभ बोर्डको प्रयोग गरेर पठनपाठन गराउँदै आएको छ ।
स्मार्ट बोर्ड तथा इन्ट्राक्टिभ बोर्डबाट पठनपाठन शिक्षकलाई ल्याप्टपको आवश्यक थियो । यही आवश्यकतालाई मध्यनजर गर्दै विद्यालयलाई शिक्षक तथा कर्मचारीलाई अनुदानमा ल्याप्टप वितरण गरेको विद्यालयका शिक्षक सुशिलकुमार रानाक्षेत्रीले जानकारी दिए ।
विद्यालयले शिक्षण सिकाईलाई प्रविधिमैत्री बनाउन एक शिक्षक/कर्मचारी एक ल्याप्टप कार्यक्रम नै अगाडि सारेको थियो । सोही कार्यक्रम अन्तरगर्त विद्यालयले शिक्षक तथा कर्मचारीलाई ल्याप्टप खरिदका लागि प्रतिव्यक्ति २० हजार रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । ल्याप्टप खरिद गर्न बाँकी रकम भने शिक्षक तथा कर्मचारी आफैले ब्यहोरेका छन् ।






