आठ दिनपछि भेटिएका चन्द्रेको बयान : ज्यान जोगाउन भोकभोकै जंगलमै बसँे

हुम्ला, ८ पौष ।
२९ मंसिरदेखि घरबाटै बेपत्ता हुम्लाका चन्द्रे कामी बुधबार बिहान ८ बजेतिर भेटिए । मधुर रातो–कालो रङको ज्याकेट, निलो ट्रयाक पेन्ट र चप्पलमा हिँड्दै गरेका उनलाई प्रहरीले हुम्लाकै खार्पुनाथ गाउँपालिका गुप्चेगौडामा फेला पारेको हो । उनीसँग जिल्ला प्रहरी कार्यालय हुम्लाले प्रारम्भिक सोधपुछ पनि गरिसकेको छ । खार्पुनाथ गाउँपालिका सुरक्षार्थ प्रहरीको गस्ती टोलीले सोधिखोजी गर्दा उनले आफैँ आफ्नो नाम बताएका प्रहरी सहायक निरीक्षक जयानन्द भट्टले बताए ।

असई भट्टकै कमाण्डमा रहेको टोलीले चन्द्रेलाई भेट्टाएको हो । ५ मंसिरमा मुगुकी १७ वर्षीया रमिला मल्ल (सुन्तली) सँग भागी विवाह गरेका चन्द्रेलाई केटी पक्षले बेपत्ता पारेको परिवारको आरोप थियो । २९ मंसिर मध्यराति सुन्तलीका बुवा वीरबहादुर मल्लसहित १३ जनाको समूहले सर्केगाड–१ जैरस्थित घरैबाट सुन्तलीलाई लगेको थियो । त्यही रातिदेखि बेपत्ता चन्द्रे सीमावर्ती गाउँमा भेटिएका हुन् ।

जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने खार्पुनाथ र चन्द्रेको घर भएको सर्केगाड सीमा जोडिएका पालिका हुन् । खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु शाहीका अनुसार, खार्पुनाथको केन्द्र यान्चुबाट सर्केगाडको सीमा भेट्टाउन करिब एक घण्टा लाग्छ । तर, सर्केगाड गाउँपालिकाको केन्द्रचाहिँ आठ घण्टाको दूरीमा छ । चन्द्रे भेटिएको सडक कर्णाली नदीको किनारमा पर्छ । खार्पुनाथ गाउँपालिकाको सुरक्षार्थ प्रहरी टोली बुधबार यान्चुबाट बिहान सवा ७ बजे गस्तीमा निस्केको थियो ।

उनीहरूले सवा ८ बजे कर्णाली तीरको बाटो हुँदै एक युवक हिँडिरहेको देखे । युवकले झोला बोकेका थिएनन् । गाउँमा नयाँ देखिएकाले प्रहरीको ध्यान ती युवकतिर प¥यो । अर्कातिर, असई भट्टलाई पहिल्यै सिमिकोटस्थित जिल्ला प्रहरी कार्यालयबाट निर्देशन थियो ‘चन्द्रे कामी नामको युवक बेपत्ता छन् । कसैमा शंका लागे सोधीखोजी गरी यता खबर दिनू ।’ ‘मैले सोधिखोजी गर्दा उनले आफू धनञ्जय कामीको २० वर्षे छोरा चन्द्रे कामी भएको बताए’, असई भट्टले भने, ‘अनि हामीले सँगै लिएर यान्चु आयौँ ।’

युवक रित्तै भएकाले यान्चुको प्रहरी टोली उनको पहिचानबारे अझै दोधारमा थियो । ‘उनले आफू भोकै रहेको बताए । हामीले चाउचाउ खान दियौँ । लगत्तै खार्पुनाथ प्रहरी चौकीलाई बुझायौँ’, असई भट्टले भने । उनका अनुसार यान्चुबाट खार्पुनाथ चौकी एक घण्टाको दूरीमा छ । त्यसपछि खार्पुनाथ प्रहरी चौकीले चन्द्रेलाई सदरमुकाम सिमिकोटस्थित जिल्ला प्रहरी कार्यालय पठायो ।

जिप्रका हुम्लाका प्रमुख डीएसपी हेरम्भ शर्माले भेटिएको युवक चन्द्रे कामी नै भएको पुष्टि गरे । बुधबार दिउँसो सिमिकोट ल्याइपु¥याएलगत्तै प्रहरी निरीक्षक दानसिंह भण्डारीले चन्द्रेसँग सोधपुछ गरेका छन् । यस क्रममा चन्द्रले आफूलाई सुन्तलीको गाउँबाट आएको समूहले घरबाट अलि पर लगेर बाटोमै छोडेको बताएका छन् । मुगुको सोरु गाउँपालिका–१ लिब्रुकी १७ वर्षीया सुन्तलीसँग भागी विवाह गरेका चन्द्रे २९ मंसिर रातिदेखि बेपत्ता थिए ।

प्रहरीले सुन्तली र उनको बुवा वीरबहादुरलाई पनि जिल्ला प्रहरी कार्यालय झिकाउने भएको छ । मध्यराति चन्द्रेको घर आएका लिब्रुका मानिसहरूको खोजीकार्य पनि भइरहेको प्रहरी निरीक्षक भण्डारीले बताए । जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी सुवास हमालका अनुसार सुन्तलीलाई चन्द्रेबाट खोस्न केटीका बुवा वीरबहादुर मल्लसहित १३ जनाको टोली जैर गएको थियो । चन्द्रेलाई घरमै छोडेर सुन्तलीलाई मात्र ल्याएको दाबी केटीका बुवा वीरबहादुरले गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया