स्वास्थ्य

१५ हजार घुस लिने फार्मेसी अधिकृत अधिकारी बर्खास्त

काठमाडौं । सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालिन औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत श्यामकुमार अधिकारीलाई बर्खास्त गरेको छ ।

भ्रष्टाचार गरेको पुष्टि भएपछि अधिकारीलाई भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य हुनेगरी मन्त्रालयले बर्खास्त गरेको हो ।

फार्मेसी अधिकृत सातौं तहका अधिकारीलाई लोक सेवा आयोगको उजुरी तथा विभागीय सजाय परामर्श शाखाको १४ असोजको परामर्श अनुसार स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ को उपदफा २ को खण्ड ख अनुसार भ्रष्टाचार कसुरमा बर्खास्त गरिएको मन्त्रालयको सूचनामा उल्लेख छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा २०७१ सालमा पक्राउ गरेको थियो ।

अधिकारी र सवारी चालक मनोज महर्जनसमेतले सेवाग्राहीसँग औषधि पसल अनुगमन गरी विभिन्न नमिलेका कुराहरू मिलाइदिन्छु भन्दै १५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा विभाग परिसरबाटै पक्राउ गरेको थियो । विशेष अदालतले अधिकारीले भ्रष्टाचार गरेको ठहर गरेको थियो ।

तपाईको प्रतिक्रिया