अन्तर्वार्ता

परिवारले नै विहेको टुंगो लगाइदिए

भन्छन्, मायामा देखेको हुँदैन, लेखेको मात्र हुन्छ । तर यो सबैमा लागु नहुन पनि सक्छ । कतिपयको हकमा देखेकै पनि हुन्छ । अर्थात माया, प्रेम र विवाह लेखेकै मात्र हुन्छ भन्ने छैन । देखेकै र रोजेकै व्यक्तिसँग प्रेम हुनसक्छ । माया बस्न सक्छ । अनि घरबार नै जोडिन सक्छ । यस्तै पहिलोपटक देखेकै मान्छेलाई जीवनसाथी बनाउन सफल जोडी हुन्, भोजप्रसाद ढकाल र पूर्णा रेग्मी । प्रस्तुत छ, यो जोडिसँग गरिएको कुराकानीको सम्पादित अंशः

दिदीको घरमा चिनजा

भोजप्रसाद ढकाल क्याम्पस पढ्नको लागि वीरेन्द्रनगर आए । त्यतीबेला उनको वीरेन्द्रनगरमा घर थिएन । उनी डेरामा त्यही समयमा घरमा उनको बिवाहको चर्चा पनि चलिरहेको थियो । उनले आफुले मन पराउने केटी देखेका थिएनन् । तर एकदिन पूर्णा रेग्मी आफ्नो दिदीको घरमा आएकी थिइन् ।

पूर्णाको दिदीको घर भोजप्रसाद बस्ने डेरा नजिकै थियो । दिदीको घरमा आएको बेला पूर्णा र भोजप्रसादबिच चिनजान भयो । भोजप्रसादले पूर्णालाई मन पराए । भोजप्रसादको घरमा उनको बिहेको कुरा चलिरहेको थियो । उनले पूर्णालाई मन पराएको कुरा पूर्णाको दिदीले संकेत पाएकी थिइन् । भोजप्रसादका आफन्त र पूर्णाको दिलीबिच यो विषयमा कुरा चलिरहेको थियो । भोजप्रसादले पनि पूर्णालाई मन पराइसकेका थिए ।

परिवारले विहेको टुंगो लगायो

भोजप्रसाद आफ्नो बुवालाई साथमा लिएर पूर्णाको घरमा माग्न गए । माग्न गएको समयमा भोजप्रसाद र पूर्णाको पनि धेरै लामो समय कुराकानी भयो । दुबैको बिवाह गराइ दिने परिवारको सहमतीभन्दा पहिले नै भोजप्रसादले उनलाई प्रेम प्रस्ताव राखे । उनले स्वीकार गरिन् ।

दुबैले एक अर्कालाई मन पराएपछि दुबै पक्षका परिवारले बिवाह गराइदिने निधो गरे । बिवाह गर्ने निधो भएको एक हप्तापछि उनीहरुको २०६१ साल माग १० गते बिवाह भयो । बिवाह गर्दा उनीहरु दुबै जना १९÷१९ वर्षका थिए । १९ बर्षमै बिवाह भएपछि पूर्णालाई पराई घरमा जाँदा केही अफ्ठेरो महसुश भएको थियो ।

तर भोजप्रसादको सहयोग र घरपरिवारको साथले उनी विस्तारै घुलमिल हुँदै गइन् । उनिी भन्छिन्, त्यतीबेला म त केही थाहा पाउँथिन, श्रीमान् र घरपरिवारको सहयोगले मात्र सहज महसुश भयो ।

बिवाहपछिको संघर्ष

उनीहरुले विबाहपछि धेरै संघर्ष गर्नुपर्यो । परिवार सामन्य स्थितिमा थियोे । भोजप्रसादको दाई सुर्खेतको रातानाङ्लामा कृषिमा आधारित व्यापार गर्थे । बिवाहपछि भोजप्रसादको काँधमा पनि थुप्रै जिम्मेवारी आएपछि पढाइलाई बिचमै रोकेर त्यही ठाउँमा व्यापार गर्न थाले । तर माओवादी द्वन्द्वकालका कारण उनीहरुको व्यापार व्यवसाय धरासायी भयो ।

माओवादी र राज्य पक्षबाट उनीहरुको परिवारलाई याताना दिने काम भयो । उनको दाइलाई लामो समय विभिन्न बहानामा अपहरण गरी यातना दिने काम भयो । राज्य पक्षबाट पनि व्यापार गर्ने वातावरण खलबल्याइयो । बिवाहपछि तीन बर्ष उनीहरु विभिन्न तनावका बिचमा संघर्ष गर्नुपर्यो ।

एकातिर छोराछोरीको पालनपोषण गर्नुपर्ने अर्कोतिर द्वन्द्वका कारण व्यापार व्यवसाय धरापमा थियो । पूर्णाले पनि धेरै संघर्ष गर्नुपर्यो । एकातिर पढाइलाई निरन्तरता दिनुपर्ने पूर्णाको जिम्मेवारी थियो भने अर्कोतिर घरको व्यवहार धान्नुपर्ने अवस्था थियो । केही समय धेरै संघर्षपछि भोजप्रसादले पुनः व्यापार थाले । पूर्णाले भने पढाइलाई निरन्तरता दिइन् । व्यापार पनि फस्टाउँदै गयो भने पूर्णाको पनि शिक्षक जागिर भयो । पूर्णा अहिले मावि नलखोला सुर्खेतमा शिक्षक छन् भने भोजप्रसाद वीरेन्द्रनगर वडा नम्बर १३ को वडा सदस्यसँगै व्यापार पनि गर्छन् । उनीहरु अहिले सन्तुष्ट छन् ।

कस्तो थियो बाल्यकाल ?

बुवा तुल्सीप्रसाद रेग्मी र आमा भुमीसरा रेग्मीको कोखबाट २०४२ साल जेठ १९ गते साविकको लेखफर्सा हाल लेकवेशीमा पुर्णा रेग्मीको जन्म भएको हो । उनी घरको कान्छी छोरी हुन् । उनको एक दिदी र दुई दाजु छन् । उनको बाल्यकाल साथीहरुसँग खेल्दै र पढ्दै वित्यो । सामान्य परिवारमा जन्मिएकी उनी कोमल स्वभावकी छन् ।

सबैलाई सहयोग गर्ने उनको अर्को स्वभाव छ । १० कक्षासम्म लेखफर्सामा पढेकी उनले विएड भने कोटदेवल क्याम्पस अवलपराजुल दैलेखबाट गरेकी हुन् । अहिले उनी बालविकाश शिक्षकको रुपमा मावि नलखोलामा कार्यरत छन् । बुवा टोपलाल ढकाल र आमा देवीकुमारी ढकालको कोखबाट २०४१ चैत ३० गते साविक जर्बुटा ८, हाल वीरेन्द्रनगर वडा नम्बर १३ नलखोलामा भोजप्रसाद ढकालको जन्म भएको हो ।

गम्भिर र मेहनती स्वभावका उनको बाल्यकाल पनि सामान्य नै वित्यो । साँझ बिहान घरको काम गर्दै विद्यालय जाने, साथीसँग खेल्ने लगायतका काम गरेर उनको बाल्यकाल वित्यो । उनी पनि घरको कान्छो छोरा हुन् । उनका एक दाजु र दुई बहिनी छन् । कक्षा ८ सम्म आफ्नै गाउँमा पढेका उनले एसएलसी भने २०५८ सालमा पार्वती मावि गोगनपानी दैलेखबाट गरेका हुन् । प्रविणता प्रमाणपत्र तह बहुमुखी क्याम्पस सुर्खेतबाट पास गरेका उनी सानैदेखि दुख परेकालाई सहयोग गर्ने र मेहेनतमा विश्वास गर्ने स्वभावका छन् ।

सल्लाह र सहकार्य

यो जोडीले जुनसुकै काम गर्दा पनि सल्लाह र आपसी समझदारीमा गर्दछन् । काम गर्नुभन्दा पहिले उनीहरु बिचमा छलफल हुन्छ । र काम बाँडफाड गरेर अगाडी बढाउने गर्दछन् । उनीहरुको योजना जहिले पनि समझदारीमा हुने गर्दछन् । ठुलो निर्णय गर्दा दुबै जनाले आफन्त र परिवारका मान्यजनको सल्लाह पनि लिन्छन् ।

धेरैजसो समयमा खाना बनाउनसमेत सहकार्यमै गर्छन् । भोजप्रसादले पूर्णालाई नयाँ ठाउँमा घुमाउन पनि लैजान्छन् । उनीहरु एकअर्काको बानीलाई धेरै मन पराउँछन् । सहयोगी र सिर्जनात्मक स्वभावकी पूर्णाको बानी भोजप्रसादलाई असाध्यै मन पर्छ । भने अन्यायको विरुद्धमा आवाज उठाउने, धेरै मेहनत गर्ने र घरमा दुख सुखमा साथ दिने भोजप्रसादको बानी पूर्णालाई मनपर्छ ।

उनीहरु जुनसुकै काम गर्दा पनि सल्लाह र साझेदारीमा गर्छन् । यसरी एकआपसमा छलफल र सल्लाहमा काम गर्दा सम्बन्ध टिक्ने उनीहरुको बुझाइ छ । यसले मायालाई बढाउन मद्दत गर्ने उनीहरु बताउँछन् । सम्बन्ध टिकाइ रहन एकअर्कामा विश्वासको वातावरण हुनुपर्ने उनीहरुको भनाइ छ ।

 

 

तपाईको प्रतिक्रिया