सुदूरपश्चिममा फैलँदै कोरोना : आइसियु र भेन्टिलेटर चलाउने मान्छे छैन

भारतबाट घर फर्केका बझाङ जयपृथ्वी नगरपालिका ६ का ४८ वर्षीय पुरुषको बिहीबार कोरोना संक्रमणका कारण मृत्यु भयो । उनी भारतको तामिलनाडुबाट चैत २९ गते बझाङ आएका थिए ।

उनले जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा वैशाख १ गते कोभिड एन्टिजेन विधिबाट चेक गर्दा कोरोना पोजेटिभ देखियो । संक्रमितको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारको लागि कोहोलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भयो ।

कोभिड १९ लाई लक्षित गर्दै जिल्ला अस्पताल बझाङमा सञ्‍चालनमा ल्याइएका आइसियु र भेन्टिलेटर सेवा जनशक्ति अभावका कारण बन्द भएका छन्  ।

आइसियु र भेन्टिलेटर सेवा सञ्‍चालनमा नआँउदा अस्पतालले जटिल अवस्थाका बिरामीलाई जिल्लाबाहिर रिफर गर्नुपर्ने बाध्यता रहेका जिल्ला अस्पताल बझाङका कोभिड सम्पर्क व्यक्ति नारायण जोशीले बताए ।

जिल्लामा संक्रमितको संख्या बढ्दै गए पनि जनशक्ति नहुँदा सञ्चालन ल्याउन नसकिएको र उपचारमा समस्या हुने गरेको जोशीको भनाइ छ ।

नयाँ वर्षका लागि घर आएका थलारा गाउँपालिकाका चार जनामा एन्टिजेन परीक्षण गर्दा सबैमा कोरोना संक्रमण देखियो । आइतबार जिल्ला अस्पतालमा उपचारका लागि आएका दुर्गाथली गाउँपालिकाका र जयपृथ्वी नगरपालिकाका दुई जनामा कोरोनाको जस्तो लक्षण देखिएपछि परीक्षण गर्दा दुवै जनामा कोरोना कोरोना पोजेटिभ देखियो।

जिल्ला अस्पतालमै कार्यरत एकजना महिला स्वास्थ्यकर्मीमा पनि कोरोनाका लक्षणहरू देखिए। परीक्षण गर्दा संक्रमण पुष्टि भयो । ती स्वास्थ्यकर्मीमा यसअघि पनि कोरोना पोजेटिभ देखिएको थियो।

कोभिडविरुद्धको पहिलो मात्रा भ्याक्सिन लगाइसकेकी उनलाई पहिलाभन्दा कडा खालका लक्षणहरू देखिएको छ। सबैजना अहिले जिल्ला अस्पतालमा छन्।

आइसियु र भेन्टिलेटर थन्किए

बझाङका १२ वटै स्थानीय तहको पहलमा स्थापना गरिएको पिसिआर प्रयोगशाला र प्रदेश सरकारले सहयोगमा सञ्‍चालनमा ल्याइएका आइसियु र भेन्टिलेटर सेवा जनशक्ति अभावका कारण सञ्चालनमा ल्याउन नसकेर त्यसै थन्किएका छन्  ।

सेवा सञ्चालनका लागि चार जना कर्मचारी आवश्यक पर्ने र सबैको सेवा सुविधा अस्पताल विकास समितिले व्यहोर्न सम्भव नभएपछि सेवा बन्द गरिए जिल्ला अस्पताल बझाङका प्रमुख डा. सन्दीप ओखेडाले बताए  ।

उनले भने, ‘अस्पतालमा उपलब्ध जनशक्ति र सीपकै भरमा भेन्टिलेटर सञ्चालन गर्न सम्भव भएन। आइसीयु र भेन्टिलेटर चलाउने जनशक्ति अस्पतालमा छैन। सुरुमा अस्पतालले सेवा सुविधा व्यहोर्ने गरी कर्मचारी माग गरेका हौँ। कोही पनि आएनन्’ उनले थपे, ‘दुर्गम भनेपछि कसैले आउन मान्दैनन् ।

प्रदेश सरकारले अस्पतालमा कस्तो जनशक्ति आवश्यक छ भनेर माग गरेको छ। आवश्यक जनशक्ति मागका लागि पत्र पठाउने तयारीमा छौँ। प्रदेश सरकारले जनशक्ति व्यवस्थापन गर्न सके चाँडै सञ्‍चालनमा आउँछ।’ जनशक्ति नहुँदा जडान गरिएका उपकरण पनि प्रयोग गर्न नपाएको उनको दुखेसो छ ।

तपाईको प्रतिक्रिया