कक्षाकोठामा खच्चडको बास

हुम्ला, ३ फागुन । हुम्लाको सीमकोट गाउँपालिका वडा नम्बर ७ डाँडाफयाको चुकेडी गाउँमा रहेको एक सामुदायिक विद्यालय संरक्षण अभावमा लथालिंग हुन पुगेको छ । २०६२÷०६३ मा स्थापना भएको कैलाश माविको उपशाखाको कक्षा ३ सम्म पढाइ हुने घुम्ती विद्यालय ५ वर्षदेखि उजाड बनेको छ । विद्यालयको भौतिक संरचना लथालिंग हुँदा भवन र विद्यार्थी बस्ने डेस्कबेन्चको समेत नामोनिशान छैन । यहाँका बालबालिका पढ्नकै लागि २ घन्टाको पैदल हिँडेर अर्को विद्यालय जान बाध्य छन् । ५ वर्षसम्म सञ्चालनमा आएको उक्त घुम्ती विद्यालय संरक्षण नहुँदा अहिले गाईवस्तु र घोडा, खच्चड बस्ने गोठमा परिणत भएको छ । गाउँका अगुवा र सम्बन्धित निकायले चासो नदिँदा घुम्ती विद्यालयको अवस्था दयनीय बनेको स्थानीय प्रकाशबहादुर शाहीले गुनासो पोखे । ‘बालबालिका पढ्नका लागि साढे १ घन्टाको पैदल हिँडेर विद्यालय जान बाध्य भएका छन् । गाउँमै स्थापना भएको विद्यालय जीर्ण अवस्थामा छ । 

न डेस्क नै, न त भवन नै राम्रो छ’, उनले भने । शाहीका अनुसार विद्यालयको छानो गत वर्षको हावाहुरीले उडाउँदा जस्तापाता चोरी भएर आकाश देखिने भएको छ । विद्यालय बनाएको भवन अहिले गोठ बनेको छ । कक्षाकोठाभरि गाईवस्तुका गोबरका साथै विभिन्न फोहोरले दुर्गन्धित हुनुका साथै हेरिनसक्नुभएको छ । विद्यालय बनाएको भवन प्रयोगमा नआउँदा स्थाीनयले घोडा, खच्चड राख्ने गोठ बनाएका छन् । सरोकारवाला निकायले सामुदायिक विद्यालयको पूर्वाधार र शैक्षिक गुणस्तर सुधारमा ध्यान नदिँदा विद्यालयको अवस्था हेर्दा रुन मन लागेको अर्का स्थानीय दीपक शाहीले गुनासो गरे । साविक वडा नम्बर १, २ र ४ का गाउँमा बसोबास गर्ने बालबालिकाका लागि कैलाश माध्यमिक विद्यालयको उपशाखा घुम्ती विद्यालय बने पनि यसको संरक्षणमा कसैले चासो नदिँदा जीर्ण अवस्थामा पुगेको शाहीले बताए । ‘विद्यालय भवन निर्माण गरेर मात्रै नहुने रहेछ । यसको संरक्षण, व्यवस्थापनका साथै शिक्षक दरबन्दी नहुँदा विस्तारै ओझेल पर्दो रहेछ’, उनले भने । पहिला ५ वर्षसम्म सञ्चालन हुँदा १ जना शिक्षकले धानेको विद्यालय अहिले शिक्षकको दरबन्दी नहुनुका साथै भएका शिक्षकलाई समेत तलब दिने पैसाको व्यवस्था गर्न नसक्दा समस्या निम्तिएको हो । कैलाश माविमा शिक्षक दरबन्दीअनुसार नभएसँगै घुम्ती विद्यालयको अवस्था जीर्ण बनेको हो । ‘विद्यालयको नाममा जग्गा धेरै छ । ७ कोठे भवनसहित २ कोठे व्यवस्थित शौचालय निर्माण भएको थियो ।   

तर, अहिले विद्यालयको भौतिक संरचना हेर्दा दया लागेर आउँछ’, उनले भने । शाहीका अनुसार उक्त विद्यालयको झ्यालढोका फुटाएर चोरी भएका छन् । अधिकांश जस्तापाता छैनन्, भवन भत्किएका छन् । विभिन्न निकायमा विद्यालय पुनः सञ्चालनका लागि आग्रह गर्दा कतैबाट सुनुवाइ भएको छैन । भएका भौतिक संरचना चोरी भएपछि विद्यालय ‘विद्यालय’ जस्तो देखिन छाडेको स्थानीय बताउँछन् । घुम्ती विद्यालय प्रयोगविहीन हुँदा शिशु, १ र २ कक्षामा अध्ययनरत विद्यार्थीले समेत साढे १ घन्टादेखि २ घन्टाको पैदल हिँडेरै अर्को विद्यालय जानुपर्ने बाध्यता छ । घुम्ती विद्यालय प्रयोगविहीन र जीर्ण अवस्थामा हुँदा चुकेडी बस्तीका अधिकांश बालबालिकाले पढ्न पाएका छैनन् । चिसोका कारण ६ महिना मात्र पढाइ हुने हुम्लामा यहाँका बालबालिकालाई विद्यालय टाढा हुँदा झनै नियमित उपस्थित गराउन समस्या परेको अभिभावक सुनाउँछन् । ‘पुस्तौँदेखि शिक्षाबाट वञ्चित यहाँका नागरिक, बालबालिकालाई पढाउन विद्यालय खोलियो तर उनीहरूको गाउँमा विद्यालय खुल्दा पनि लेखपढ गर्न पाएका छैनन्’, शाहीले भने । दुर्गम क्षेत्रका सरकारी विद्यालयलाई पूर्वाधार र शैक्षिक गुणस्तर सुधार्न पर्याप्त बजेट नहुँदा समस्या छ । कैलाश माविमा दरबन्दीअनुसार कर्मचारी र भौतिक संरचना राम्रो भए पनि यसको उपशाखा खोलिएको घुम्ती विद्यालयका लागि पर्याप्त पूर्वाधार र शैक्षिक गुणस्तर नहुँदा नाजुक बनेको हो । यसका लागि विद्यालय व्यवस्थापन समिति र वडाले कुनै चासो देखाएका छैनन् ।

तपाईको प्रतिक्रिया