करिश्मा महानायिका

१ फागुन, आरके इन्टरटेनमेन्टले आफ्नो बीसौं वार्षिकोत्सवको अवसरमा नायिका करिश्मा मानन्धरलाई महानायिकाको पदवी दिएको छ । स्मरण रहोस्, एक दशकअघि आरके इन्टरटेनमेन्ट समूहले नायक राजेश हमाललाई महानायक घोषणा गरेको थियो । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा करिश्मालाई राजेश हमाललगायतले महानायिका देखिने स्यासे र क्राउन लगाइदिएका थिए । नेपाली रजतपटमा तीन दशकदेखि छाएकी करिश्माले २०४५ सालमा चलचित्र ‘सन्तान’बाट नायिकाको रूपमा डेब्यु गरेकी थिइन् । कार्यक्रममा केही ख्यातिप्राप्त व्यक्तित्वहरूलाई सम्मान प्रदान पनि गरिएको थियो । कलाकार नीर शाह, लोडसेडिङ हटाउने कुलमान घिसिङ, गीतकार डा. भोला रिजाल, गीतकार मीनसगर लामालगायतका व्यक्तित्वहरूलाई सम्मान प्रदान गरिएको थियो ।   

सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङ, महानायक राजेश हमाल र मिस ग्रान्ड नेपाल उरुषा जोशीले सम्मान गरेका थिए । साथै कार्यक्रममा आरके इन्टरटेनमेन्टले आयोजना गरेको अनलाइन ग्य्रान्ड सिङगिङ आइडल तथा साल यु डान्स कार्यक्रमका विजेतालाई पनि अवार्ड वितरण गरियो । सिङगिङ आइडलका विजेता मोनिका तामाङ, फस्ट रनरअप सुमिरन हुमागाईं भए भने सेकेन्ड रनरअप मिनिशा तामाङ भएकी थिइन् । त्यस्तै, जुनियरतर्फ सुमिका शरद विजेता तथा आशिका गौतम फस्टरनर अप भए । त्यस्तै नृत्य प्रतिस्पर्धाका विजेता अभिमा तामाङलगायतलाई पनि अवार्ड प्रदान गरियो । आरके इन्टरटेनमेन्टका प्रमुख राम केसीले आगामी दिनमा अन्य प्रतिभालाई सम्मान गरिने बताए ।

तपाईको प्रतिक्रिया