नगरमा जग्गा बाँझो राख्ने प्रवृत्ति हटाउँछौं

सुर्खेतको गुर्भाकोट नगरपालिका जिल्ला सदरमुकामबाट पूर्वी क्षेत्रमा पर्दछ । साविका दहचौर, गुमी, घुमखहरे र मेहेलकुना गाविस मिलेर तत्कालिन शुभाघाट गंगामाला नगरपालिका २०७२ असोजमा बनेको थियो । त्यसमा साविकका सहारे, मालारानी र धारापानी गाविस थपगरी २०७३ फागुन २७ मा गुर्भाकोट नगरपालिका घोषणा भएको हो । स्थानीय तहले जनप्रतिनिधि पाएको साढे तीन वर्ष भइसकेको छ । यो अवधिमा जनताको अपेक्षा अनुरुप काम भए त ? यीनै विषयमा केन्द्रित रहेर हाम्रा सहकर्मी गीता थापाले गुर्भाकोट नगरपालिकाका उपप्रमुख मैना विकसँग कुराकानी गरेकी छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश ः

हिजोआज के गर्दै हुनुहुन्छ ?

नगरपालिकाको दैनिक कामकाज र विभिन्न विकास निमार्ण कामहरु भइरहेका छन् । त्यसको अनुगमन गर्ने काम भइरहेको छ । यस्तै सुकुम्बासी आयोगमार्फत भुमिहिन दलित र अव्यवस्थित बसोबासका लागि लगत संकलन कार्य भइरहेको छ । कसरी सुकुम्बासी र भुमीहिनहरुलाई जग्गाको लालपूर्जा दिलाउन सकिन्छ भन्ने कार्यमा नै व्यस्त छौं ।

तपाइँ निर्वाचित भएयता नगर विकासमा के परिवर्तन आएको छ ?

हामी निवार्चित भएर आइसकेपछि नगरपालिका पहिलाको तुलनामा अहिले स्वरुप नै परिवर्तन भएको छ । पहिला सबै ठाउँमा सडक सञ्जाल पुगेको थिएन । अहिले सबै ठाउँमा सडक पुगेको छ । खानेपानी थिएन, विद्यालयहरु पनि व्यवस्थित थिएनन् । यस्ता धेरै समस्या थिए । अहिले हामीले ती समस्यालाई समाधान गरेका छौं ।

पूर्वाधार विकासतर्फ गुर्भाकोट नगरपालिकाको कार्यालयदेखि प्रत्येक वडाहरुमा सडकको पहुँच पु¥याएका छौं । सडक ग्राभेल पनि भइरहेका छन् । विस्तारै स्तरोन्नतीको कामहरु अघि बढेका छन् । स्वास्थ्यको क्षेत्रमा मेहेलकुना अस्पताल छ र प्रत्येक वडामा सामुदायिक शहरी स्वास्थ्य इकाइहरु बनाएका छौं । जनसंख्या र भुगोलको आधारमा एउटै वडामा दुई वटासम्म स्वास्थ्य चौकी भवन बनाएका छौं । स्वास्थ्य चौकीहरुमा नेपाल सरकारबाट प्राप्त हुने निशुल्क औषधीहरु उपलब्ध छन् । सबै सामुदायिक स्वास्थ्य केन्द्रहरुमा बर्थिङसेन्टर स्थापना भएका छन् । कोरोना भाइरसको महामारीको समयमा पनि नगरपालिकाले अग्रपंक्तिमा रहेर यहाँका जनतालाई सचेतना दिने काम गरेको छ । शिक्षाको क्षेत्रमा विद्यालयका भौतिक संरचनाहरु बनाएका छांै । सिकाइ सहजीकरणका लागि प्रत्येक विद्यालयहरुमा १ कक्षादेखि ८ कक्षासम्म दिवा खाजा कार्यक्रमहरु सञ्चालन भएका छन् ।

सबै टोलमा सडकको पहुँच पुगेको छ त ?

हाम्रो नगरपालिकामा अहिले १४ वटा वडाहरु रहेका छन् । हामीले १४ वटै वडाका टोलटोलमा सडक सञ्जाल जोडेका छौं । नगरपालिकाले एम्वुलेन्स सेवा पनि दिँदै आइरहेको छ । सुत्केरी महिलाहरु स्वास्थ्य चौकीमा सुत्केरी हुन नसक्ने अवस्था आयो र सदरमुकाम वीरेन्द्रनगर अथवा नेपालगञ्ज लैजानु पर्ने अवस्थामा हामीले एम्बुलेन्स सेवा ५० प्रतिशत छुटमा लैजाने व्यवस्था गरेका छौं । यो सेवा जेष्ठ नागरिक र सुत्केरी महिलाका लागि सञ्चालन गरेका हौं ।

महिलाको क्षेत्रमा के के काम गर्नुभयो ?

गुर्भाकोट नगरपालिकामा हजार दिनका आमाहरुलाई पोषणको कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौं । गर्भवति महिलालाई आफ्नो स्वास्थ्यको अवस्था र गर्भमा रहेको बच्चाको अवस्था कस्तो छ भनेर जान्नका लागि नगरपालिकाले ६ महिनादेखि ८ महिनाको बीचमा उनीहरुको भिडियो एक्सरे गर्ने र गर्नुपर्ने ल्याव टेस्ट नगरपालिकाले निशुल्क सेवा प्रवाह गर्ने कार्यक्रम लागु गरेको छ । यो कर्णाली प्रदेशकै नयाँ कार्यक्रम हो ।

विकासमा के कस्ता चुनौती आउँछन् ?

करिव २० वर्षपछि स्थानीय तहमा जनप्रतिनिधि आएपछि जनताका आशा र अपेक्षाहरु पनि ह्वात्तै बढे । सुरुवातमै सिहंदरवारको सेवा गाउँ गाउँमा भन्ने भयो । त्यसले गर्दा पनि एकैपटक एउटै कार्यकालमा सबै अपेक्षा पुरा गर्दिनुपर्छ भन्ने जनअपेक्षालाई पहिलो प्राथमिकताकरण गर्दै जादै सबैको मागलाई सम्बोधन गर्न नसकिएको अवस्था छ । हाम्रो लागि जनताको जनअपेक्षालाई एकै पटक पुरा गर्न नसक्नु नै चुनौती हो ।

नगरमा मुख्य समस्या के छन् ?

हाम्रो नगरपालिकाको मुख्य समस्या भनेको महिलाहिंसा र बालविवाह हुन् । हाम्रो नगरमा गरिवीको समस्या पनि छ । सुकुम्बासीहरुको समस्या पनि छ । पहिला देशमा बनेका विभिन्न आयोगहरु २०२९ सालको नाप नक्शा, सुकुम्बासी आयोग, भुमिव्यवस्था आयोग थुप्रै किसिमका आयोगहरु बनेको समयमा कित्ताकाट हुने र लगत नहुँने पूर्जा नहुँने स्वामित्व ग्रहण गर्न नपाएको समस्या पनि एकदमै ठुलो रहेको छ ।

समस्या समाधान गर्न कस्तो पहल भएको छ ?

बालविवाह न्युनिकरणका लागि नगरपालिकाले सचेतनामुलक कार्यक्रमहरु गर्दै आइरहेको छ । पहिला अभिभावक आफैले बालविवाह गरिदिन्थे । अहिले बालबालिका आफै बालविवाह गर्छन् । अभिभावकहरुमा अहिले चेतना आइसकेको छ । तर पछिल्लो समय बालबालिकालाई सबै जानकारी हुँदाहुँदै पनि आफै विवाह गर्ने हुँदा यो समस्या समाधान गर्न चुनौती नै भएको छ । महिला हिंसाको सन्दर्भमा पनि हामीले पहल गरिरहेका छौं । महिला सहायता कोष पनि स्थापना गरेका छौं । पीडित महिलाका लागि न्यायका लागि लड्नका लागि हामीले कोषको स्थापना गरेका हौं । पूर्वाधार विकास सँगसँगै सामाजिकीरकण गर्न उद्यमशिलता सम्बन्धी तालिमहरु सञ्चालन भएका छन् । अहिले एक वडा, एक तालिम सञ्चालन गरेका छौं । सिप सिकीसकेपछि उनीहरुलाई बजारीकरण गर्न अनुदानकोसमेत व्यवस्था गरेका छांै ।

युवालाई गाउँमै रोजगारी दिन के योजना बनाउनु भएको छ ?

नगरपालिकामा शिक्षा हाँसिल गरेर सर्टिफिकेट बोकेर वेरोजगार हुने युवाहरु पनि हुनुहुन्छ । वैदेशिक रोजगारबाट फर्किएको युवा र अशिक्षित व्यक्ति पनि वेरोजगार हुनुहुन्छ । यो सबै किसिमको वेरोजगारी कम गर्न कृषिको माध्यमबाट, उद्यमशिलता र सीपमुलक कार्यक्रममार्फत हामीले उहाँहरुलाई रोजगारी लाग्ने वातावरण सिर्जना गरेका छांै । नगरका युवाहरुलाई स्वरोजगार बनाउन हामीले १४ प्रकारका तालिमको व्यवस्था गरेका छौं । कोरोना भाइरसको महामारीबाट स्वदेशबाट फर्किएका युवाहरुलाई कृषिमा लगाएका छौं । कोभिड १९ विशेष काम पनि ग¥यांै । ४९ लाखको कार्यक्रम ल्याएर हामीले उहाँहरुलाई टनेलको व्यवस्था र यान्त्रिकरणमा सहयोग गरेका छौं ।

भावी योजना के के छन् ?

जनताको माझमा हिजोका दिनमा बोकेर गएको घोषणपत्रकै आधारमा काम गर्दै आइरहेका छौं । बेरोजगारी समस्या व्यवस्थापन गर्नका लागि सबैभन्दा ठुलो क्षेत्र र सबैलाई अट्न सक्ने क्षेत्र कृषि हो भन्नेतर्फ हाम्रो बुझाइ छ । त्यसले गर्दा गुर्भाकोट नगरपालिकामा भुमी बैंकको अवधारण ल्याउने योजना छ । नगरमा जग्गा बाँझो राख्ने प्रवृत्तिलाई अन्त्य गर्दै युवाहरुलाई नगरपालिकाले आर्थिक व्यवस्थापन गरेर यान्त्रिकरण उपलब्ध गराएर अघि बढ्ने योजना छ ।

तपाईको प्रतिक्रिया