अनुसन्धानबाट प्राप्त ज्ञान बाँड्ने योजना

परिवार शिक्षाको पहिलो पाठशाला हो । हरेक व्यक्तिले घरपरिवारबाट नै ज्ञान हाँसिल गर्दछ । कहिलेकाँही परिवेशले पनि व्यक्तिको भविष्यको बाटो तय गर्दछ । ठिक यस्तै भएको छ, डा. रामप्रसाद मैनालीको जीवनमा पनि । सानैदेखि पढाइमा अब्बल मैनालीको पारिवारिक वातावरण नै पढ्नुपर्छ भन्नेमा केन्द्रित थियोे । उनका दाईहरू निजामति सेवामा कर्मचारी थिए । जसकाकारण उनी पनि निजामती कर्मचारी पेसाप्रति आकर्षित भए । प्रस्तुुत छ, मैनालीको निजामती क्षेत्रको अनुभव र जीवन भोगाइमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंशः

मेलापात गर्नु परेन

रामप्रसाद किसान परिवारमा हुर्किएका हुन् । किसान परिवारमा हुर्किए पनि उनले मेलापात भने गर्नु परेन । ‘पढाइमा सधैं प्रथम हुन्थँे’ उनी भन्छन्, ‘पढाइमा ट्यालेन्ट भएकै कारण बुवाआमाले घरायसी काममा लगाउनु हुन्थेन ।’ उसो त उनी घरमा सबैका प्यारो थिए । कान्छो छोरा भएका घरको जिम्मेवारी अरुकै काँधमा थियो । काभ्रेको कानपुरमा २०२५ साल जेठ १८ गते स्वर्गिय बुवा केदारनाथ र आमा रेवती मैनालीबाट उनको जन्म भएको हो । गाउँबाटै शिक्षाको सुरुवात गरे । तत्कालीन कानपुर निम्न माध्यमिक विद्यालयबाट कखरादेखि कक्षा ५ सम्म अध्ययन गरे । पढाइ राम्रो बनाउन गाउँबाट अल्ली टाढा पुगे । बाराको तत्कालीन अनुप बेतनी माध्यमिक विद्यालयबाट कक्षा ६ देखि ९ सम्मको पढाइ पुरा गरे । त्यसपछि पढाइसकै शिलसिलामा राजधानी काठमाडौँ पुगे । काठमाडौंको पद्ममोदय माध्यमिक विद्यालयबाट २०४५ साल एसएलसी उत्तीर्ण गरेका हुन् । पढाइमा अब्बल उनले एसएलसी प्रथम श्रेणीमा पास गरे ।

उच्च शिक्षाको बाटो

पव्लिक क्याम्पस काठमाडौँबाट उच्च शिक्षाको अध्ययन सुरु गरे । सोही क्याम्पसबाट आइकम र विकम पुरा गेर । त्रिभुवन विश्वविद्यालयको जनप्रशासन क्याम्पसबाट स्नातकोत्तर तह पुरा गरे । तर पढाइ यतिकैमा रोकेनन् । खोज तथा अनुसन्धानमा पनि सक्रिय भए । जापानको सुकुवा विश्वविद्यालयबाट एमफिल पुरा गरे । बेलायतको सिटी विश्वविद्यालयबाट पीएचडी सके । मैनाले एमफिल र पिएचडीसमेत आफ्नो सक्रियताले छात्रवृत्तिमा अध्ययन गरेका हुन् । पीएचडीमा नयाँ सिद्धान्तको र व्यवहारिक ज्ञानको प्रतिपादन गर्न पाउँदा जिवनमा सबैभन्दा खुशी मिलेको उनको भनाइ छ । पढाइका अलवा उनी भलिबल र फुटबलमा विशेष रुचि राख्थे । विद्यालयमा आयोजना हुने भलिबल र फुटबल प्रतियोगिता सकेसम्म छुटाउँदैनथे ।

विहान पढाइ, दिउँसो जागिर

संघर्षविना सफलता असम्भव छ । जसले संघर्ष गर्छ, सफलता उसकै हातमा पर्छ । मैनाली यो स्थानसम्म आइपुग्नको कारण पनि त्यही संघर्ष हो । एसएलसीपछि संघर्षको रफ्तार बढाए । २०४५ मैनाली उच्च शिक्षाको जग र जागिरको सिलसिला सँगसँगै अगाडि बढाए । दाइहरुबाट जीवनमा संघर्ष र सफलताको राम्रै ज्ञान सिकेका थिए । उनले पनि त्यसैलाई पछ्याए । दाईहरुले जागिर र पढाइलाई सँगै अगाडि बढाएका थिए । मैनालीले पनि त्यसै गरे । उच्च शिक्षा अध्ययनकै क्रममा मैनाली पनि निजामती क्षेत्रमा होमिए । त्यसपछि विहान क्याम्पस पढ्ने र दिउँसो जागिर गर्न थाले । सफलता, संघर्ष र सन्तुष्टिलाई जीवन पर्याबाची बनाए । जागिर गर्दै पिएचडीसम्मको पढाइ पुरा गरे । अहिले पनि अध्ययन तथा खोज अनुसन्धानमा उनी सक्रिय छन् । यसरी संघर्षमा रमाउन सिकेका मैनाली परिवारको निजामति क्षेत्रमा छुट्टै पहिचान छ । उनीहरुले एउटै परिवारबाट चार जना सचिव भएर निजामती क्षेत्रमै रेकर्ड कायम राखेका छन् ।

आन्तरिक राजस्व कार्यालय सुर्खेतमा कार्यालय प्रमुखको जिम्मेवारी निर्वाह गर्दै आएका मैनाली २०४७ सालदेखि निजामती सेवामा प्रवेश गरेका हुन् । महालेखा नियन्त्रण कार्यालय काठमाडौबाट जागिरको सुरुवात गरेका उनी २०५१ सालबाट संसद सचिवालयबाट अधिकृत सेवामा प्रवेश गरे । २०५३ सालदेखि लामो समय अर्थ मन्त्रालयमै रहेर सेवा गरे । अहिले पनि स्वतन्त्र अनुसन्धानमा कार्यमा सक्रिय छन् । उनी अर्थतन्त्रकोको न्यायोचित वितरण हुनुपर्छ भन्नेमा मान्यता राख्छन् । अवकाशपछि तथ्यमा आधारित नीति निर्माणमा राज्यलाई सहयोग गर्ने उनको योजना छ । त्यस्तै खोज अनुसन्धान कार्यमा आफूले हाँसिल गरेको ज्ञान नेपाली विद्यार्थीहरूलाई बाँढ्ने उनको अर्काे योजना छ ।

दुईसय ५० रूपैयाँले खर्च टार्थे

दुुईसय ५० रूपैयाँ हिजोआज एक दिनको सामान्य नास्ता खर्च हो । तर कुनै समय मैनालीले दुईसय ५० रूपैयाँले महिना भरीको खर्च चलाउथे । चिया नास्तादेखि सम्पूर्ण व्यक्तिगत खर्च दुईसय ५० रूपैयाँले नै टार्थे । पैसा नभएर होइन, ऊबेला हिजोआजको जस्तो महंगी थिएन । कर्मचारीको सेवा सुविधा पनि न्यून थियोे । २०४७ सालमा नायव सुब्बाको तलब जम्मा सातसय ५० रूपैयाँ थियोे । त्यही तलबमध्ये पाँचसय रूपैयाँ घरमा बुवाआमालाइ दिन्थे । बाँकी दुई सय ५० रूपैयाँले ब्यक्तिगत खर्चमा प्रयोग गर्थे ।

तपाईको प्रतिक्रिया