प्रधानमन्त्री ओली धनगढीमा : स्वागतका लागि मुख्यमन्त्री गएनन्, विरोधमा विद्यार्थीले टायर बाले

धनगढी,२४ पुस ।

प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् । नेकपाको ओली पक्षले शुक्रबार धनगढीमा आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न उनी धनगढी पुगेका हुन् । प्रधानमन्त्री ओली आफैले प्रतिनिधि सभा विघटन गराएपछि पहिलो पटक काठमाडौँ बाहिरको कार्यक्रममा सहभागी हुन् धनगढी पुगेका हुन् ।

प्रधानमन्त्री ओली धनगढी पुग्दा यसअघिको जस्तो प्रधानमन्त्रीलाई स्वागत गर्न प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट, मन्त्रीहरु तथा प्रदेश सांसदहरु तथा प्रतिनिधिहरुको सहभागिता देखिएन ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीदेखि अधिकांश नेकपाका सांसदहरु प्रचण्ड–माधव पक्षमा लागेकाले प्रधानमन्त्रीको स्वागतमा सहभागी नभएको बुझिएको छ ।

प्रधानमन्त्री ओलीको धनगढी आगमन एक पक्षको भेला भएकाले र अहिले पार्टी विवाद उत्कर्षमै रहेकाले मुख्यमन्त्रीसहित प्रचण्ड(नेपाल पक्ष स्वागतमा सरिक नभएको बताइएको छ ।

यसैबीच प्रचण्ड नेपाल पक्षका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीको धनगढी आगमनको विरोध गर्दै सडकमा टायर बालेका छन् । ओलीले सम्बोधन गर्ने खुलामंच नजिक विद्यार्थीहरुले टायर बालेर विरोध गरेका हुन् ।

तपाईको प्रतिक्रिया