बालविवाह गर्ने दुई जोडी पक्राउ

अमर सुनार
दैलेख, १० असोज ।
नौमूले गाउँपालिका–३ द्वारी गाउँका १७ वर्षीय एक बालक र नौमूले गाउँपालिका–५ नौमूले गाउँकी १६ वर्षीया एक बालिकालाई बालविवाहको आरोपमा प्रहरीले पक्राउ गरेको छ । भदौ १० गते बालविवाह गरी बसेको भन्ने सूचनाको आधारमा उनीहरुलाई शुक्रवार नौमूले गाउँपालिका–३ द्वारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक अनमोल श्रेष्ठले बताउनुभयो ।

त्यसैगरी डुंगेश्वर गाउँपालिका–४ अवलपराजुलका २७ वर्षीय पूर्णबहादुर बुढाले सोही गाउँपालिका–३ चौखडाकी १५ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा दुबै जनालाई पक्राउ गरेको छ प्रहरीले जनाएको छ । भदौ ३० गते बालविवाह गरेको भन्ने पीडित पक्षको उजूरीको आधारमा असोज ६ गते पक्राउ गरेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
यी दुबै जोडीलाई बाल विवाह कसूरमा मुद्दा दर्ता गरी घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । मुलुकी अपराध सहिंता ऐन २०७४ को दफा १७३ ले उमेर २० वर्ष नपुगी गरिने विवाहलाई बालविवाह मानेको छ । ऐनले बालविवाह गर्ने र गराउनेलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैंयाँसम्म जरिवाना तोकेको छ ।






