अनशनरत डा. केसीलाई प्रशासनले अस्पताल पु¥यायो तर केसीले उपचार गर्न मानेनन्

सुर्खेत, ५ असोज ।

भदौ २९ गतेदेखि जुम्लामा १९ औं सत्याग्रह सुरु गरेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसियु कक्षमा राखिएको छ । तर केसीले उपचार गर्न मानेका छैनन् ।

केसीको उपचारमा संलग्न डा. प्रविण गिरीका अनुसार केसीले आइतबार नियमित स्वास्थ्य चेकजाँच समेत गर्न दिएनन् । ‘हिजोदेखि नै उहाँलाई (डा.केसी) आईसीयूमा राखेका छौं । तर सेवा लिन अस्विकार गर्नुभएको छ’ डाक्टर गिरीले भने, ‘रोग प्रतिरोधात्मक क्षमता घटेको छ, अब संक्रमणको खतरा छ । उपचार गर्न अस्विकार गरे अवस्था जे पनि हुनसक्छ’
डा. गिरीका अनुसार केसीको मुटुको चाल बढेको, रगतमा चिनीको मात्रा कम भई प्रमुख अंगहरूमा जटिल समस्या देखिन थालेको, रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको खतरा रहेको र श्वासप्रश्वासमा समस्या बढ्दै गएको छ । तर अवस्था जटिल बन्दा पनि केसीले भने सलाइन र अक्सिजन लिन मानेका छैनन् । मांसपेशी वाउडिने, छाति दुख्ने, चक्कर लाग्ने, पिसावको मात्रामा कमि लगायतका स्वास्थ्य समस्याका कारण अवस्था जटिल बनेको डाक्टरहरुले बताएका छन् ।

तर डाक्टर केसीले सरकारले आफ्ना मागको सम्बोधन गर्नुको सट्टा अनशन स्थलबाट अपहरण गरेर अस्पताल ल्याएको बताउँदै आएका छन् । स्वास्थ्य अवस्था बिग्रीएपछि चन्दननाथ नगरपालिकाको बाबिरा मन्दिरको धर्मशालाबाट स्थानीय प्रशासनले शनिबार राती (पौने ११ बजे) अस्पताल पु¥याएको थियो । डा. केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबीबीएस लगायतका कार्यक्रमहरु संचालन गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पु¥याएर पठनपाठन शुरू गर्नुपर्ने, प्रदेश नं २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउने पर्ने लगायतका माग राखेर अनशनमा बसेका हुन् ।

माग सम्बोधन गर्न कर्णालीबासीको आग्रह

यसैबीच स्थानीय नागरिकले डा. गोविन्द केसीका मागहरु सम्वोधन गर्न सरकारलाई आग्रह गरेका छन् । नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले डा. केसीका सबै मागहरु सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए । ‘केसीले कर्णालीका विपन्न र विकट क्षेत्रका नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने माग उठाउनु भएको छ’ महतले भने, ‘विगतमा सरकारले केसीसँग गरेको सबै सम्झौताहरु कार्यान्वयन गर्नुपर्छ ।’ माग सम्बोधन हुँदासम्म जुम्लावासी केसीको पक्षमा उभिने महतले बताए ।

यस्तै सुर्खेतका नागरिक अगुवा एवम् मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वडीन पीताम्बर ढकालले केसीका मागहरु सम्बोधन हुनुपर्ने बताए । ‘सिटामोलसमेत नपाउने कर्णालीमा एमबीबीएस पढाइ हुनुपर्छ भन्ने डा. केसीका माग नै कर्णालीवासीका माग हुन्’ ढकालले भने, ‘विपन्न र विकट क्षेत्रका स्वास्थ्य संस्थाको सुधारका लागि सरकारले मागहरु सम्बोधन गर्नुपर्छ । डा.केसीको गिद्रो स्वास्थ्य अवस्थालाई ध्यानमा राखि तत्काल माग सम्बोधन हुनुपर्ने ढकालले बताए ।
यस्तै नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलले पनि डा.केसीका मागप्रति सहमति जनाएको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् नेपाली काँग्रेसे कर्णाली प्रदेश सभा संसदीय दलका नेता जीवनबहादुर शाहीले गरिव तथा विपन्न समुदायको स्वास्थ्य सेवामा सहज पहुँच स्थापित गर्ने उद्देश्यका साथ अनशन बसेको भन्दै डा. केसीले उठाएका मागहरु सम्बोधन हुनुपर्ने बताएका छन् । सांसद शाहीले भने, ‘जनताले स्थायीरुपमा स्वास्थ्य सेवा पाउने अधिकारको ग्यारेन्टी सरकारले गर्ने हो भने माग सम्बोधन गर्नुको विकल्प छैन ।’

‘जुम्लामा एमबीबीएस पढाउन तयार छौं’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तत्काल एमबीबीएस लगायतका कार्यक्रमहरु संचालन गर्नुपर्ने डाक्टर गोविन्द केसीले उठाएको मुख्य माग हो । जुन कर्णालीवासीको हितमा पनि छ । यसकारणले यो मागलाई सम्बोधन गरेको खण्डमा जुम्लामा एमबीबीएस अध्ययन गराउन सकिने जनाइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेका अनुसार एमबीबीएस कक्षा सञ्चालनका लागि पाठ्यक्रम, भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापन भइसकेको छ ।

‘पूर्वाधारका हिसावले एमबीबीएस कक्षा सञ्चालन गर्न सकिन्छ, पाठ्यक्रम र जनशिक्त व्यवस्थापन भइसकेको छ’ काफ्लेले भने, ‘सरकारले माग सम्बोधन गरोस्, हामी जुम्लामा एमबीबीएस कक्षा चलाउन तयार छौं ।’ कक्षा सञ्चालनका लागि घर भाडामा लिइसकिएको छ भने दुई करोडको लगानीमा साइन्सको प्रयोगशाला पनि तयार पारिएको काफ्लेले बताए । एमबीबीएस कक्षा सञ्चालनकै लागि वेशिक साइन्सतर्फ ११ जना र क्लिनिकलतर्फ ४१ जना प्राध्यापकहरू नियुक्त भइसकेका छन् । क्लिनिकलतर्फ आवश्यक पर्ने १०–१२ जना प्राध्यापकको पद पूर्तिका लागि दरखास्त आह्वान गरिसकिएको छ ।

अपुग प्राध्यापकहरुको पूर्तिका लागि प्रक्रिया अन्तिम चरणमा पुगेको काफ्लेले बताए । क्लिनिकल शिक्षाको जुम्लास्थित शिक्षण अस्पताल र सुर्खेतमा रहेको प्रदेश अस्पतालले बिरामीको प्रयाप्त भएको उनको भनाइ छ । सरकारले तत्काल माग सम्बोधन गरेको खण्डमा अबको चार महिनाभित्रै एमबीबीएस कक्षा सञ्चालन गर्न सकिने उनको दाबी छ । प्रतिष्ठानको २०७४ मा बसेको पाँचौं सिनेटले पनि एमबीबीएस कार्यक्रम सञ्चालनका लागि सैद्धान्तिक निर्णय गरेको थियो ।

किन रातारात अस्पताल पु¥याइयो ?

डा. केसीले चन्दननाथ नगरपालिकास्थित बाबिरा मष्टोको मन्दिरमा भदौ २९ गतेदेखि १९ औं सत्याग्रह सुरु थिए । तर शनिबार राती (पौने ११ बजे) स्थानीय प्रशासनले उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥यायो । शनिबार रातीदेखि नै डा. केसी अस्पतालको आईसीयू वार्डमा छन् । उनलाई रातारात अस्पताल पु¥याउनुको पछाडि दुई वटा कारण छन् । पहिलो डा. केसीको स्वास्थ्य अवस्था जटिल हुनु । दोस्रो केसीलाई अनशन स्थलबाट अस्पताल लैजाँदा हुनसक्ने सम्भावित झडप रोक्न । सुरुदेखि नै केसीलाई स्थानीय नागरिकको साथ थियो । उनको इच्छा विपरित दिउँसोमा अस्पताल लैजाँदा स्थानीयले हुलदंगा मच्चाउन सक्थे । केसीलाई अस्पताल ल्याउदा हुनसक्ने हुलदंगा र झडपलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले रातको समयमा उनलाई अस्पताल पु¥याएको हो । ‘दिनमा केसीलाई अस्पताल ल्याएको भए हुलदंगा हुन सक्थ्यो, झडप नै हुन सक्थ्यो’ जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने, ‘अप्रिय घटना हुन नदिन रातको समयमा केसीलाई अस्पताल ल्याइएको हो ।’ शुक्रबार राती पनि केसीको स्वास्थ्यमा समस्या आएको र शनिबार पनि अस्पताल नपु¥याउँदा अबस्था झन जटिल बन्ने भएका कारण शनिबार नै केसीलाई अस्पताल लगिएको परेको उनको भनाइ छ ।

अनशनरत डा. केसीलाई प्रशासनले अस्पताल पु¥यायो तर केसीले उपचार गर्न मानेनन्

सम्पादकीयः भूमिको सुरक्षा

अनशनरत डा. केसीलाई प्रशासनले अस्पताल पु¥यायो तर केसीले उपचार गर्न मानेनन्

कीर्तिमानी पर्वातारोही आङरिता शेर्पाको निधन

Leave a comment

Your email address will not be published. Required fields are marked *