मालपोत कार्यालयमा सुधारको प्रयास, थपिए कर्मचारी, भवन पनि मागियो

सुर्खेत, २४ मंसिर ।

सेवाग्राहीको भीड थेग्न नसकेको मालपोत कार्यालय सुर्खेतमा सुधारको प्रयास गरिएको छ । सेवाग्राहीको भीड बढेका कारण कार्यालयले सहज रुपमा सेवा दिन सकेको थिएन । सर्वसाधारणले सहज रुपमा सेवा नपाउँदा मालपोतको सेवा अस्तव्यस्त नै बनेको थियो । सहज रुपमा सेवा प्रवाह नभएपछि मालपोतविरुद्ध उच्च अदालतमा रिट नै दर्ता भएको छ ।

अदालतले सहज रुपमा सेवा नदिनुको कारण सोधेपछि मालापोत कार्यालय सेवा सुधारको प्रयासमा जुटेको हो । मालपोतको सेवाबारे सर्वसाधारणले समेत निकै आलोचना गरिरहेका छन् । चौतर्फी दबाव बढेपछि मालपोत कार्यालयले आफ्नो सेवालाई प्रभावकारी बनाउने प्रयास गरेको हो । जनसअन्तर्गत मालपोतमा कर्मचारी थप भएका छन् भने बार अनुसार स्थानीय तहको काम हुन थालेको छ ।

२५ मिनेटमा हुने काम सेवाग्राहीले एक हप्ता लगाएर गर्नुपथ्र्याे । सहज रुपमा सेवा प्रवाह नगरको भन्दै अधिवक्ता शेरबहादुर खत्रीले उच्च अदालत सुर्खेतमा रिट रादयर गरे । अदालतले मालपोत कार्यालयसहित प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रशासन र अख्तियारलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्ने आदेश दियो । यसरी सर्वसाधारणको विरोधदेखि अदालतसम्म पुगेको विषयलाई मालपोत कार्यालयले केही रुपमा सहज बनाउने प्रयास थालेको हो । तत्कालिन समस्यालाई समाधान गर्ने गरी मालपोतमा कर्मचारी थप्नेदेखि भवनको मागसमेत गरिएको छ ।

तत्काल सेवा प्रवाहलाई सहज बनाउन केही कर्मचारी थप्नेदेखि स्थानीय तह अनुसार सेवा प्रवाहको प्रयास थालिएको छ । वीरेन्द्रनगर नगरपालिकाबाट दुई जना कर्मचारी थप गरिएको छ भने मालपोत कार्यालयको आडमै रहेको साविक नापी कार्यालयको भवन प्रयोग गर्न दिन संघ र प्रदेश सरकारसँग माग गरिएको छ । भवनको व्यवस्थापन भएमा सहज रुपमा सेवा प्रवाह हुने र कर्मचारीको अभाव पनि टर्ने मालपोत कार्यालयले विश्वास लिएको छ ।

मालपोतले माग्यो नापीको पुरानो भवन

बर्षाैदेखि भवन अभाव झेल्दै आएको मालपोत कार्यालयले तत्कालका लागि आडमै रहेको भवन प्रयोगमा दिन माग गरेको छ । कार्यालयको आडमै रहेको नापी कार्यालयको पुरानो भवनलाई प्रयोग गर्न दिनका लागि भूमि सुधार मन्त्रालय तथा कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई माग गरेको छ । साविकको नापी कार्यालयको भवनलाई प्रयोग गर्न पत्राचार गरेको तर केन्द्रले प्रदेश सरकार मातहतको भएको हुँदा प्रदेशसँग समन्वय गर्न आग्रह गरको छ ।

सोही अनुसार मालपोत कार्यालय र वडा तथा वीरेन्द्रनगर नगरपालिकासँग (सोमबार) आज छलफल गरिने कार्यक्रम तय भएको छ । साविक नापी कार्यालयमा अहिले उद्योग पर्यटन तथा वन वातावरण मन्त्रालयको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र राखिएको छ । सो कार्यालयमा अहिले एकजना मात्रै कर्मचारी बस्दै आएका छन् । भवन अभावकै कारण थप फाँट तथा कर्मचारीहरु माग गर्न नसकिएको कार्यालयले जनाएको छ । मालपोतमा सेवाग्राहीको अत्यधिक भीड लाग्दै आएको छ भने नजिकै सडक प्रशिक्षण केन्द्र रित्तै रहेको छ । प्रदेश सरकार मातहतमा प्रशिक्षण केन्द्र रहेकोले त्यसको वारेमा प्रदेश सरकारले नै निर्णय गरेको भए राम्रो हुने मालपोत अधिकृत खत्रीले जानकारी दिइन् ।

वीरेन्द्रनगरले खटायो दुईजना कर्मचारी


यस्तै मालपोत कार्यालयको अस्तव्यस्थ सेवालाई सहज बनाउन वीरेन्द्रनगर नगरपालिकाले दुईजना कर्मचारी खटाएको छ । मालपोतमा सेवाग्राहीको भीड बढेको र सेवा प्रवाहमा असहज भएको भन्दै वीरेन्द्रनगर नगरपालिकाले दुईजना कम्प्यूटर अपरेटरसहित कम्प्यूटर र बायोमेट्रिक फिंगर क्यामेरा उपलव्ध गराएको हो । जसअनुसार आइतवार नगरपालिकाले उपकरणसहित दुईजना प्राविधिक मालपोत कार्यालयमा पठाएको छ । नगरपालिकाले कम्प्युटर अधिकृत धनबहादुर खत्री र कमलप्रसाद खराललाई खटाएको हो । नगरपालिकाबाट आएका कर्मचारीले हाल काम सिकिरहेका छन् । यसअघि दुबै जना कर्मचारीहरु बायोमेट्रिक रजिष्टेशन क्षेत्रमा काम नगरेका उनीहरुलाई काम सिकाइ रहेको मालपोतले जनाएको छ । एउटा रजिष्टेशन फाँट भएकै कारण मालपोतमा सेवा प्रभाहमा ढिला हुने गरेको थियो । जहाँ दुईजना कर्मचारीले मात्रै रजिष्टेशन फाँटमा काम गर्दै आएका छन् । वीरेन्द्रनगरबाट आएका कार्मचारी पूर्णरुपले काममा दक्ष भएको खण्डमा सेवा प्रवाहमा सहज हुने कार्यालयको अपेक्षा छ ।

पश्चिममा सेवा कार्यालयको माग

सुर्खेतको पश्चिम क्षेत्रका नागरिकले पनि पश्चिममा मालपोतको शाखा कार्यालय राख्नुपर्ने माग गरेको छन् । पश्चिमको पञ्चपुरी नगरपालिका र बराहताल तथा चौकुने गाउँपालिकालाई हेर्ने गरी शाखा कार्यालय राख्नुपर्ने माग स्थानीयको छ । ‘पश्चिमका नागरिकले मालपोतको सेवा लिन हप्तादिन कुर्नपर्ने अवस्था छ, बर्षाैदेखि नागरिकले पश्चिममा मालपोतको सेवा कार्यालय मागि रहेका छन्’ कर्णाली प्रदेश सभाका सांसद विन्दमान विष्टले भने, ‘स्थानीय तहमा मालपोतको सेवा नजाँदासम्म पश्चिम क्षेत्रलाई हेर्नेगरी शाखा कार्यालय राख्नुको विकल्प छैन ।’

पश्चिममा शाखा कार्यालय राखेको खण्डमा वीरेन्द्रनगरको चाप घट्ने र पश्चिमका नागरिकलाई वीरेन्द्रनगर आउनुपर्ने बाध्यताको अन्त्य हुने उनको तर्क छ । यस्तै स्थानीय बासिन्दा तिलकराम अधिकारीले पूर्वको मेहेलकुनामा कार्यालय स्थापना भएझैं पश्चिम क्षेत्रमा पनि शाखा कार्यालय स्थापना गर्न आवश्यक रहेको बताए । पश्चिममा पनि स्थापना गर्न सकिए त्यस क्षेत्रका बासिन्दाहरुलाई सहज हुने र वीरेन्द्रनगरको मालपोत कार्यालयमा भीड कम उनको अपेक्षा छ । मालपोतमा अत्याधिक भीड हुन थालेपछि पूर्वी क्षेत्रको सेवाग्राहीका लागि गुर्भाकोट नगरपालिकाको मेहेलकुनामा मालपोत कार्यालय स्थापना गरिएको छ । सो कार्यालय हालको सिम्ता गाउँपालिका र गुर्भाकोट गाउँपालिका हेर्ने गरेको छ । अब पश्चिम क्षेत्रमा पनि मालपोत कार्यालय स्थापना गर्न सकिए पश्चिम क्षेत्रका बासिन्दाका लागि सहज हुने त्यहाँका बासिन्दा बताउँछन् ।

अब बार अनुसार हुनेछ स्थानीय तहको काम

सेवा प्रवाहलाई सहज बनाउन मालपोत कार्यालय सुर्खेतले नयाँ अभ्यास थालेको छ । भौतिक संरचना र जनशक्ति अभावकाबीच मालपोतले बार अनुसार स्थानीय तहको काम गर्न थालेको हो । यो अनुसार अब जिल्लाका स्थानीय तहको काम बार अनुसार विभाजन गरिएको छ ।

सेवाग्राहीको चापअनुसार स्थानीय तहहरुलाई फरक–फरक दिन सेवा दिने रणनीति लिएको हो । जसअनुसार मंगलवारदेखि शुक्रवारसम्म वीरेन्द्रनगर नगरपालिका भित्रको मात्र काम हुनेछ । प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा सबैभन्दा धेरै जग्गाको कारोबार, रोक्का तथा कित्ताकाट हुने भएका कारण वीरेन्द्रनगरवासीलाई हप्तामा चारदिन सेवा दिन थालेको कार्यालयले जनाएको छ । राजधानी भएपछि वीरेन्द्रनगरमा जग्गाको कारोबार अस्विभाविक रुपमा बढेको छ । त्यस्तै जग्गा धरौटी राखेर ऋण लिने तथा नामसारी र कित्ताकाट गर्ने सेवाग्राही भने अन्य स्थानीय तहको तुलनामा वीरेन्द्रगरमा धेरै छन् ।

वीरेन्द्रनगर बाहेक अन्य स्थानीय तहलाई भने दुर्ई दिनको समय दिइएको छ । चौकुने गाउँपालिका, बराहताल गाउँपालिका, चिंगाड गाउँपालिका, लेकबेसी नगरपालिका, पंचपुरी नगरपालिका र भेरीगंगा नगरपालिकाका सेवाग्राहीलाई आइतवार र सोमवार मात्रै सेवा दिइने छ । बार र स्थानीय तह अनुसार सेवा प्रवाह गर्न थालेपछि केही सहज भएको कार्यालयले जनाएको छ । सेवाग्राहीले सेवा असहज, ढिलो भएको गुनासो आएपछि स्थानीय तह अनुसार सेवा प्रवाह गर्न थालेको लक्ष्मी खत्रीले जानकारी दिइन् । स्थानीय तह अनुसार सेवा प्रवाह गर्न थालेपछि कोरोना संक्रमणको जोखिम कम घटेको र सेवाग्राहीमा सहज भएको प्रमुख खत्रीको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार