सम्पादकीयः मालपोतमा सुधार गर

सरकारी सेवा सरल, सजह र सस्तो हुनु पर्दछ । नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्नु सरकारी कार्यालय र त्यकाँ कार्यरत कर्मचारीको जिम्मेवारी हो । नागरिकको करबाट तलव सुविधा खाने कर्मचारीले त झन् नागरिकप्रति थप जिम्मेवार हुनै पर्दछ । नागरिकलाई सरकारी सुविधा सहज र सस्तोमा उपलब्ध गराउनकै लागि विभिन्न कार्यालयहरु छन् । ति कार्यालयमार्फत सरकारले आफ्नो सेवा प्रवाह गर्दछ । पछिल्ला दिनमा सरकारले सरकारी सेवा र सुविधा सहज रुपमा प्रवाह गर्नका लागि विभिन्न नारा र कार्यक्रमहरु पनि ल्याएको छ । तर पनि कतिपय प्राविधिक कारण र कर्मचारीको लापरकाहीका कारण नागरिकले सहज रुपमा सेवा पाउन नसकेका धेरै उदारणहरु छन् । मुख्यगरी नागरिकको भीडभाड धेरै हुने कार्यालयमा समस्या बढी छ । सुर्खेतमा नागरिकको धेरै भिडभाड हुने मालपोत कार्यालयमा लामो समयदेखि नागरिकबाट गुनासाहरु आइरहेका छन् । मालपोत कार्यालयमा सेवाग्राहीको धेरै भीड हुने र समयमै सेवा नपाउने समस्या आजको होइन । तर हालसम्म पनि उक्त कार्यालयको सेवा सुधार भएको छैन ।

मालपोतमा दलालहरुमार्फत मात्र काम हुने र कमिशनको चलखेल भइरहेको भन्ने गुनासो आजको होइन । पछिल्ला दिनमा सुर्खेत मालपोतप्रति सामाजिक संजालमा निकै आलोचना र गुनासाहरु सार्वजनिक भएका छन् । यद्यपी यस कार्यालयबाट प्रवाह हुने सेवालाई सहज र सरल रुपमा प्रवाह गर्नेतर्फ न कार्यालयको नेतृत्वले चासो दिएको न त स्थानीय प्रशासनले नै यसको सुनुवाइ गरिरहेका छन् । आधा घण्टामा हुने कामका लागि साता दिनसम्म कुर्नु परेको, दलालहरुको मात्र काम हुने गरेको र अनलाइनमा समस्या देखाउँदै कर्मचारीले कामै नगरेको गुनासो बढ्दो छ । समयमै काम नहुँदा एकातिर सेवाग्राहीको समय खर्च भएको छ भने अर्कोतर्फ आर्थिक रुपमा पनि भार थपिएको छ । यतिमात्र होइन, समयमै काम नहुने र लाइनमा बस्नुपर्ने समस्या त्यो भन्दा बढी छ । सेवाग्राहीले बारम्बार गुनासो गर्दा पनि सेवामा सुधार नहुनु र कार्यालयमा थप भद्रगोल हुनुले पनि सरकारी सेवामा जपिएका नाराहरु नै अलपत्र परेका छन् ।


हरेक कार्यालयमा नागरिक वडापत्र पनि छन् । तर ति नागरिक वडापत्र अनुसार मालपोत कार्यालयले भने सेवा दिन सकिरहेको छैन । आफैले लागु गरेको नियम अनुसार नागरिकलाई सेवा दिन नसक्ने कार्यालय र त्यसको नेतृत्वले नागरिकलाई आवश्यक क्षतिपूर्ति दिनु पर्दैन ? अनि बर्षाैसम्म एउटै समस्याबारे गुनासो आइरहँदा पनि त्यो समस्या सुधारका लागि कार्यालयले किन चासो नदिएको ? यसकारण नागरिकलाई बारम्बार सास्ती दिने भन्दा पनि अब सेवा सुधारका लागि मालपोतका कर्मचारी र त्यहाँको नेतृत्वले अब बेलैमा गम्भिर हुनै पर्दछ । त्यतिमात्र होइन, स्थानीय सरकार, प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयले पनि आवश्यक अनुगमन गरेर यहाँको सेवा सुधार गराउनेतर्फ चासो दिनै पर्दछ । भौतिक संरचना र कर्मचारीको अभावका कारण समस्या मात्रै देखाउने भन्दा पनि नागरिकको दैनिक समस्यासँग जोडिएको यो कार्यालयको सेवा कुनै पनि हालतमा सुधार गर्नका लागि अब सरोकारवाला निकाय गम्भिर बन्नै पर्दछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार