वीरेन्द्रनगरमा डेंगुको संक्रमण तीव्र, नीजि अस्पतालमा बिरामीको चाप

सुर्खेत, २४ कात्तिक ।

वीरेन्द्रनगरमा डेंगुको सक्रमण बढेको छ । पछिल्लो दुई हप्तादेखि डेंगुको संक्रमण तीव्र देखिएको हो । लामखुट्टेको वृद्धि विकासका लागि उपयुक्त मौसम भएका कारण पनि डेंगुको संक्रमण तीव्र रुपमा फैलिएको हो ।

दुई हप्ताको अवधिमा मात्रै वीरेन्द्रनगरमा साढे तीनसय जनामा डेगुं संक्रमण भएको पाइएको छ । तथ्याङ्क संकलन भइ नसकेका कारण डेंगु संक्रमितको संख्या अझ बढ्न सक्ने जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ । पछिल्लो समय वीरेन्द्रनगरका घरघरमै डेंगु फैलिएको कार्यालयले जनाएको छ । कुनै घरमा परिवारका सबै सदस्यलाई पनि डेंगु संक्रमण भएको छ ।

सुर्खेतमा डेंगुको संक्रमण फैलिन थालेपछि जनस्वास्थ्य कार्यालयले संक्रमितको तथ्याङ्क संकलन थालेको छ । वीरेन्द्र्रनगरका विभिन्न अस्पताल तथा क्लिनिकहरुबाट संक्रमिको तथ्याङ्क संकलन गरिरहेको हो । आइतबारसम्म संकलित तथ्याङ्क अनुसार सुर्खेतमा तीन सय ४९ जनालाई डेंगु संक्रमण भएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका महामारी रोग फोकलपर्सन उदयबहादुर विसीले जानकारी दिए । जसमध्ये ९५ प्रतिशत संक्रमित वीरेन्द्रनगरका छन् । बाँकी पाँच प्रतिशत सुर्खेतका अन्य पालिका र छिमेकी जिल्लाका हुन् ।

तथ्याङ्क अनुसार वीरेन्द्रनगरका वडा नम्बर १ देखि १२ नम्वर वडाका संक्रमित सबैभन्दा धेरै छन् । अधिकांशलाई पहिलो पटक र केहीलाई दोस्रो पटक डेंगु देखिएको हो । त्यस्तै दैलेख, जाजरकोट र सल्यानकम पनि डेंगु दुई÷चार जनामा संक्रमण देखिएको छ । डेंगुको संक्रमण फैलिएपछि वीरेन्द्रनगरका नर्सिङ होम तथा मेडिकलमा विरामीको चाप बढेको छ । सुर्खेत अस्पताल, देउती अस्पताल र माया नर्सिङ होममा दैनिक नयाँ डेंगु संक्रमित उपचारका लागि आउने गरेको सम्बन्धित अस्पतालहरुले जनाएका छन् । वीरेन्द्रनगरमा पछिल्लो दुई हप्ता धेरै डेंगु संक्रमित थपिएको प्रदेश अस्पताल सुर्खेतका फिजिसिएन डाक्टर केएन पौडेलले जानकारी दिए । कोरोनासँग मिल्दाजुल्दा लक्षण भएपछि उपचारका लागि आउने अधिकांश विरामीलाई डेंगु देखिएको डाक्टर पौडेलले जनाए ।

वीरेन्द्रनगरमा डेंगु संक्रमित बढ्न थालेपछि जनस्वास्थ्य कार्यालय र वीरेन्द्रनगर नगरपालिकाले पानी जम्मा हुने खाल्डाखुल्डी, सार्वजनिक स्थान तथा लामखुट्टेको सम्भावित वासस्थानमा सरसफाइ गरेका छन् । दशैंअघि नै वडा नं. ६ मा पानीका खाल्डाखुल्डी पुर्ने र ट्याङ्की तथा पानी जम्मा हुने स्थानमा सरसफाइ गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । डेंगुको संक्रमण अझै बढ्न सक्ने भन्दै पानी राख्ने ट्याङ्की, प्रयोगविहीन गाडी तथा मोटरसाइकलका टायर, कुलर तथा पानी राख्ने अन्य भाँडाबाट पानी हप्तादिनमा घोप्ट्याउने अभियान नै थाल्नुपर्ने कार्यालयको जनाएको छ । लामखुट्टे मार्ने किटनासक औषधिको प्रयोग तथा गमला, ट्याङ्की र कुलरमा जस्ता पानी राखिने भाडाँमा लामखुट्टेले सन्तान फैलाउने भन्दै हप्तादिनमा पानी फेर्न कार्यालयको अनुरोध छ ।

के हो डेंगु ?

डेंगु एक प्रकारको भाइरल ज्वरो हो । यो डेंगु भाईरस (डिइएन भी) ले लाग्ने रोग हो । एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ । कुनै व्यक्तिलाई डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि धेरै जसो चारदेखि सातदिन भित्रमा रोगको लक्षण देखिन्छ । एउटा डेंगु रोगबाट सक्रमित व्यक्तिको रगत चुसेको आठ देखि १२ दिनपछि लामखुट्टे पनि संक्रमित हुन्छ र त्यो जीवनभर सक्रमित रहन्छ । एडिस नामक लामखुट्टे साँझ र बिहानको समयमा धेरै सक्रिय हुने गर्छ । तर सङ्क्रमित लामखुट्टले टोकेपछि मात्र यो रोग सर्ने र कुनै पनि व्यक्ति संक्रमित हुने गर्छन् ।

के हुन् डेंगुका लक्षण ?

डेंगु संक्रमण भएको व्यक्तिलाई ज्वरो आउने, टाउको दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने, मासुहरु कर्रकरी लुछ्ने, ढाड दुख्ने, जोर्नी दुख्ने, छालामा रातो रातो दागहरु देखा पर्ने जस्ता लक्षणहरु देखिन्छन् । लामखुट्टेले टोकेको वा कुनै पनि व्यक्ति सक्रमित भएको एक हप्तामा विभिन्न किसिमका लक्षणहरु देखा पर्न थाल्छन् । तर कतिपय मानिस संक्रमित भएर पनि उनीहरुमा डेंगुको कुनै पनि लक्षण नदेखिन ेसमेत हुन्छ । डेंगु भएका कतिपय व्यक्तिलाई फ्लू जस्ता लक्षण देखापर्न सक्छन् भने कतिलाई ज्वरो पनि देखिन्छ । एकदमै कम व्यक्तिहरुमा मात्र डेंगुका कारणले हुने जटिलताहरु देखिने हुन्छ । जटिलता भएको खण्डमा मानिसको रक्त नलीबाट प्लाज्मा बहिर निस्किने गर्छ । जसकाकारण फोक्सो, पेटमा पानी जम्ने, पेट दुख्ने, बान्ता हुने, नाक, आँखा मुखबाट रक्तश्राव हुने, उठ्न नसक्ने, कलेजो सुन्निने जस्ता लक्षणहरु देखिन थाल्छन् ।

बिरामीको रक्त सञ्चालन नभएर ब्लड प्रेसर कम भएका कारणले स्वास्थ्यमा समस्या देखिन सक्छ । त्यसकै कारण मृगौला, कलेजो, दिमाग जस्ता अंगले काम गर्न छोड्न सक्छन् । यतिमात्र नभएर कहिलेकाहीँ रक्तश्राव हुने समस्याहरु देखिने गर्छन् ।

कसरी गर्ने डेंगुको उपचार ?

डेंगु रोगकै लागि भनेर हालसम्म औषधि बनेको छैन । तर डेंगु भएका व्यक्तिहरु औषधिको रुपमा पारासिटामोलको सेवन गर्ने गरिन्छ । औषधिबाहेक मेवाको पातको रस र बाख्राको दुध पनि खान सकिन्छ । मेवाको पातको रस र बाख्राको दुध घरेलु उपचार पद्दति हो । तर मेवाको पातको रस धेरै हुँदा कतिपय व्यक्तिलाई सामान्य एलर्जीसमेत हुन सक्दछ । डेंगु भएपछि संक्रमितले प्रशस्त मात्रामा झोलिलो खाने कुराहरु खानुपर्छ । तर रक्तश्राव धेरै भएको खण्डमा भने प्लेटलेसको संख्या घटेर जान्छ । यो डिजिजको अवस्था हो । धेरै रुक्तश्राव भएको खण्डमा भने रगत चढाउने अवस्था समेत आउन सक्छ ।

डेंगुबाट कसरी बच्ने ?

लामखुट्टेको नियन्त्रण नै डेंगुबाट बच्ने उत्तम उपाय हो । जसका लागि पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, गाडीको काम नलाग्ने टायर आदीमा पानी जम्न नदिने, पानीका ट्याङ्कीमा लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नु पर्दछ । त्यस्तै कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने, फुलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुई पटक फेर्ने, एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउने, सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुका साथै साना केटाकेटीलाई समयमा पनि झुलभित्र सुताउने गर्नुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मल्हम दल्ने, घरका झ्याल ढोकामा जाली लगाउने, घर वरिपरी सफा सुग्घर राख्ने पानी जम्ने खाल्डाखुल्डी पुर्नु नै डेंगुबाट बच्ने उत्तम उपाय हो ।

तपाईको प्रतिक्रिया