ढुवानीमा खच्चडकै भर

हुम्ला, २० कात्तिक ।

राष्ट्रिय सडक सञ्जालको पहुँचमा नपुगेको हुम्लामा अहिले पनि दैनिक उपभोग्य सामानहरु खच्चड बाटै ओसार्ने गरिन्छ । चार हजार मिटरभन्दा अग्लो हिमालको बाटोबाट दैनिक सयौँ खच्चड सामान बोकेर ओहोर–दोहोर गरिरहेका हुन्छन् । जिल्लाका अधिकांश युवा पुस्ताको दैनिकी खच्चडसँगै बित्ने गरेको छ ।

मुगु–हुम्ला र बाजुरा–हुम्लाका सडकमा दैनिक सयौँको संख्यामा सामान ढुवानी गर्ने खच्चडको लर्को भेटिन्छन । कुनै समय बाटो हिँड्नसमेत गाह्रो पर्ने चंखेली लेकमा पछिल्लो समय भने खच्चडबाट युवापुस्ता दैनिक उपभोग्य वस्तु ढुवानीमा व्यस्त देखिन थालेका छन् ।

जुम्ला पातारासी गाउँपालिका–७ पटमाराका दिनेश बुढा उमेरले १७ वर्षका भए, तर गाउँमा केही आम्दानी नभएपछि दुई वर्षदेखि मुगुको गमगढीदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म दैनिक उपभोग्य वस्तुको खच्चडबाटै ढुवानी गर्दै आएको बताउँछन ।

घरमा परिवार संख्या ठूलो भएको र गाउँमा कमाइ केही नहुने हुनाले खच्चरबाट ढुवानी गर्ने कामदारको रूपमा हुम्ला पुगेको बुढाको भनाइ छ । महिनामा खच्चर मालिकले १५ हजार रुपैयाँ दिन्छ, त्यही पैसाले घरखर्च चलाउँदै आएको बुढाले बताउनुभयो ।

जुम्ला पातारासी गाउँपालिका– ७ पटमाराकै वीरेन्द्र थापा खच्चड व्यवसायमा लागेको आठ वर्ष भयो । सुरुमा सडक सञ्जालसँग नजोडिएको कर्णालीका कालिकोट, जुम्ला, मुगुसम्म दैनिक खच्चडबाटै सामान ढुवानी गर्दै आएका उनी तीन जिल्लामा मोटरबाटो पुगेपछि खच्चड व्यवसाय विस्थापित हुँदै गएको बताउँछन ।

कालिकोट, मुगु र जुम्लामा सडक पुगेपछि सामान गाडीबाट ढुवानी हुन थालेकोले हुम्ला जिल्लातर्फ खच्चड व्यवसाय गर्न थालेको उनको भनाइ छ । अहिले उनले खच्चरबाटै मासिक ७० देखि ८० हजार रुपैयाँ कमाउने गर्छन।

मुगु–हुम्ला आवतजावत गर्न आठ दिन लाग्ने गरेको छ । चंखेली हुँदै हुम्लाका विभिन्न स्थानमा झन्डै सातदेखि आठवटा खच्चडबाट सामान ढुवानी हुँदै आएको छ । मुगुको गमगढीदेखि हुम्लाको सातवटै स्थानीय तहमा दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामान खच्चडबाट ढुवानी हुँदै आएको छ ।

नुन, तेल, चामल, सिमेन्ट, गाडीका लागि डिजल, पेट्रोलदेखि विकास निर्माणका आवश्यक सामान दैनिक खच्चरबाट सस्तो मूल्यमा हुम्ला पुग्ने गरेको छ । खच्चरबाट सस्तो मूल्यमा सामान ढुवानी हुन थालेसँगै निजी घर निर्माणका लागि जस्तापातासमेत खच्चडबाट ढुवानी हुने गरेको व्यवसायी बताउँछन् । खच्चडबाट सामान ढुवानी गर्दा मुगुबाट सिमकोटसम्म प्रतिकेजी ८० देखि ९० रुपैयाँ लाग्ने व्यवसायीहरु बताउँछन ।

नेपाल टेलिभिजनबाट साभार ।

तपाईको प्रतिक्रिया